बिगु गाउँपालिका–४, सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा सात दिनदेखि स्थानीयवासीले आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण तामाकोशी पाँचौँ अडिट–२ का सबै काम ठप्प छन् ।
आयोजनासमक्ष राखेका माग बेवास्ता गरेको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले १५ दिनअघि ११ बुँदे माग तत्काल पूरा गर्न अल्टिमेटम दिए पनि आयोजनाले बेवास्ता गरेको जनाएका छन् । उनीहरू १६ पुसदेखि काम नै रोकेर आन्दोलनमा उत्रिएका हुन् ।
समस्या समाधान गर्न मंगलबार आयोजनाको अडिट–२ निर्माणस्थल माहुरेमा बसेको दुईपक्षीय वर्ता विनानिष्कर्ष टुंगिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका सहसंयोजक अमृत आचार्यले आयोजनाको नेतृत्वले छलफलमा बोलाए पनि पीडितका कुनै पनि माग सम्बोधन गर्न सक्ने अख्तियारी नभएको भनेपछि निष्कर्षविहीन बनेको हो ।
आचार्यले भने, ‘छलफलमा बसियो, तर हाम्रा ११ बुँदे माग पूरा गर्न आयोजनाको तर्फबाट ठोस कुरा आउन सकेन, तसर्थ आन्दोलन जारी रहनेछ । उहाँहरूले सजिलो गरी टुंग्याउन खोज्नुभो, तर हाम्रा जयज माग पूरा नहुन्जेल आन्दोलनबाट पछि हट्दैनौँ।’
छलफलमा आयोजनाको तर्फबाट उपप्रबन्धक हेमन्त भट्ट र सहायक प्रबन्धक नवीन न्यौपाने र संघर्ष समितिका तर्फबाट संयोजक सुक्सिंह तामाङ, सहसंयोजक अमृतकुमार आचार्य, गौरीशंकर–८ का निवर्तमान वडाध्यक्ष उदयबहादुर खड्कालगायत सहभागी थिए ।
तामाकोशी पाँचौँ जलविद्युत् आयोजना बिगु–४ सुरीटार । सात दिनदेखि अवरुद्ध तामाकोशी पाँचको अडिट–२ माहुरे ।