मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २८ शुक्रबार
  • Friday, 20 December, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ मङ्सिर २८ शुक्रबार १o:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेटका चर्चित खेलाडी ब्रायन लारा काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ मङ्सिर २८ शुक्रबार १o:१७:oo

क्रिकेटका चर्चित खेलाडी ब्रायन लारा शुक्रबार नेपाल आइपुगेका छन् । ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लिजेन्ड लारा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपिएल लिग हेर्न उनी नेपाल आएका हुन् । गत जुनमा अमेरिका र वेस्ट इन्डिजले संयक्त रूपमा आयोजना गरेको आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका दौरान नै लाराले नेपाल आउन इच्छुक भएको बताएका थिए । 

टी–२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो । सोही खेलपछि नेपाली खेलाडीलाई उत्कृष्ट प्रदर्शनको बधाई दिँदै लाराले आफूले नेपाल भ्रमण गर्ने बताएका थिए । तर, उनले त्यसवेला कहिले नेपाल आउने बताएका थिएनन् । 

क्यानले एनपिएलको ब्रान्डिङका क्रममा चर्चित खेलाडीलाई ल्याइरहेको छ । एनपिएलमा भारतीय टोलीका पूर्वओपनर तथा इन्डियन प्रिमियर लिग (आइपिएल)कै नियमित खेलाडी शिखर धवन कर्णाली याक्सबाट चार खेल खेल्दै स्वदेश फर्केका छन् । सन् २०१५ को एकदिवसीय विश्वकपमा दोहोरो शतकीय इनिङ्स खेलेका न्युजिल्यान्डका मार्टिन गुप्तिल विराटनगर किंग्समा आबद्ध छन् । 

एनपिएलको खेल हेर्न इच्छुक
क्यानका अनुसार लाराले एनपिएलका केही खेल हेर्नेछन् । लाराले बुधबार सोसल मिडियाबाट आफू एनपिएलको खेल हेर्न इच्छुक भएको बताएका थिए । ‘मलाई नेपालमा चलिरहेको एनपिएल हेर्ने इच्छा छ,’ उनले भने, ‘नेपाली समर्थकबाट न्यानो माया पाउने आशा छ ।’ सन् १९९० देखि २००६ सम्म लाराले वेस्ट इन्डिजबाट टेस्टमा प्रतिस्पर्धा गरेका थिए । सन् १९९० मा उनले पाकिस्तानविरुद्ध टेस्टमा डेब्यु गरे । संयोगवश १६ वर्षको टेस्ट करिअरकै अन्तिम खेल उनले पाकिस्तानविरुद्ध सन् २००६ मा खेलेका थिए । उनले इंग्ल्यान्डविरुद्ध सन् २००७ मा अन्तिमपटक वेस्ट इन्डिजबाट एकदिवसीय खेलमा सहभागिता जनाए ।