साइबर अपराध मुद्दामा धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाई फेरि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई आपराधिक विश्वासघात मुद्दामा अदालतबाटै पक्राउ गरेको हो।
साइबर अपराध मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। धरौटी बुझाएर छुटेलगत्तै उनी पक्राउ परेका हुन्। पक्राउको विरोधमा प्रसाईंका समर्थकले बिहीबार जिल्ला अदालतमा नाराबाजी गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका व्यवसायी प्रसाईंविरुद्ध साढे सात वर्ष कैद सजाय माग गरी बुधबार साइबर अपराध मुद्दा दायर भएको थियो ।
प्रधानमन्त्री ओलीको कम्बोडियामा लगानी छ भनेर झुटा विवरण सार्वजनिक गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी साइबर अपराधको अभियोग लगाएको हो। साइबर अपराधमा पाँच वर्ष कैद हुने प्रावधान छ। उनी दोस्रोपटक यस्तो अपराधमा पक्राउ परेको भन्दै कानुनअनुसार थप ५० प्रतिशत सजाय मागदाबी लिइएको थियो।
उनकै निर्देशनमा भारतीय आपराधिक समूहको नाममा व्यवसायीलाई धम्क्याएर पैसा मागेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले छुट्टै अनुसन्धान गरिरहेको छ। जसमा यसअघि नै उनीविरुद्ध अदाललते पक्राउ पुर्जी जारी गरिसकेको छ। प्रसाईंविरुद्ध व्यवसायीदेखि नेपाल राष्ट्र बैंकले समेत जाहेरी दिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए।