सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पाँच जिल्लामा बयान सकिएको छ । बयान सकिएपछि उनीमाथि प्रहरीले अभियोजनका लागि गृहकार्य थालेको छ । उनलाई फेरि पाँचै जिल्लामा घुमाएर मुद्दा दायरको तयारी छ ।
लामिछानेलाई बुधबार पर्सामा बयान पूरा गरी कास्की लगिएको छ । कास्कीमा आगामी साताभित्र मुद्दा दायर गर्ने प्रहरी तयारी छ । ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले भने, ‘रायसहितको अनुसन्धान प्रतिवेदन छिट्टै बुझाउने तयारीमा छौँ ।’
कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । जुन म्याद अब नौ दिन मात्र बाँकी छ । गत ६ असोजमा सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी पक्राउ परेका थिए । सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ ।
प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ । हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ ।
कास्कीमा थुनछेक आदेश भएपछि लामिछानेलाई रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सा लगेर मुद्दा दायर गर्न लागिएको छ । यसअघि ती जिल्लामा लगेर लामिछानेको बयान लिइएको थियो । लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरसम्बन्धी अभियोग लगाउने तयारी छ । तर, सम्पत्ति शुद्धीकरणको मुद्दा पाँचै जिल्लामा वा एक जिल्लामा चलाउने भन्नेमा प्रहरी अन्योलमा छ ।
गोरखा मिडियामा लामिछानेका पूर्वसाझेदार रहेका गीतेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको ठगीको अनुसन्धानमा उनी तानिएका हुन् । पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा तथा पर्साको सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडियामा करोडौँ रकम गएको थियो । लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा त्यसरी आएको रकम चेक काटेर खर्च गरेको आधारमा उनीमाथि पनि सबै सहकारीको रकम अपचलनको अभियोग लगाउने प्रहरी तयारी छ । गोरखा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीमा तानिएको भन्दै रास्वपाले भने राजनीतिक प्रतिशोधको आरोप लगाएर आन्दोलन गर्दै आएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दाबारे प्रहरी अन्योलमा
पाँच जिल्लामा लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा चलाउने प्रहरी तयारी छ । तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा भने पाँचै जिल्लामा चलाउने कि एक ठाउँमा मात्र चलाउने भन्नेमा प्रहरी अन्योलमा छ । यस विषयमा प्रहरीले मौखिक रूपमा महान्यायाधिवक्ता कार्यालयको समेत राय मागेको स्रोत बताउँछ । प्रहरीले गत वैशाखदेखि मात्र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्ने अधिकार पाएको हो । नयाँ अभ्यास भएकाले यससम्बन्धी कानुनको कार्यान्वयनमा प्रहरी प्रस्ट छैन । अनुसन्धानमा आबद्ध केही प्रहरी अधिकारीले सम्बन्धित जिल्लामा सहकारी ठगी मुद्दा चलाउने र सिआइबीबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने राय दिएका थिए । तर, गृह र महान्यायाधिवक्ता कार्यालयबाट भने सबै जिल्लामा सम्पत्ति शुद्धीकरणको कसुर चलाउन दबाब आइरहेको प्रहरी स्रोत बताउँछ ।
यसअघि विभिन्न जिल्लामा सहकारी ठगीमा परेका शिवशिखर सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्मालाई दर्जन जिल्लामा सहकारी ठगी मुद्दा चलेकोमा भक्तपुरबाट मात्र सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको थियो । ‘लामिछानेको विषयमा सम्पत्ति शुद्धीकरण मुद्दा कसरी चलाउने भन्ने विषय अझै टुंगिएको छैन,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘सबै निकायसँग छलफल गरिरहेका छौँ ।’ प्रहरीले लामिछाने र उनकी श्रीमती निकिता पौडेलको समेत सबै सम्पत्ति रोक्का राखेर त्यसको स्रोत मागेको छ । सम्पत्ति शुद्धीकरण मुद्दा दायर हुन अपराध गरेरै सम्पत्ति आर्जन गरेको पुष्टि हुनुपर्ने प्रावधान रहेको, तर लामिछानेको हकमा त्यस्तो प्रमाण हालसम्म नभेटिएको प्रहरी स्रोत बताउँछ ।
रक्तचाप नघटेपछि अस्पताल भर्ना हुन चिकित्सकको सुझाव- रविले ‘औषधि खान्छु, भर्ना हुन्नँ’ भने
पोखरा/प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था अझै सुधार हुन सकेको छैन । गत साता चितवनबाट रातारात पोखरा लगिएपछि रक्तचाप एकाएक बढेकामा अझै सुधार हुन नसकेको हो । लामिछानेमा बुधबार पनि उच्च रक्तचाप देखिएपछि पोखराको फिस्टेल अस्पताल पुर्याइएको थियो । तर, परीक्षणका क्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक (तल) ११० देखिएको रास्वपा नेता दीपक बोहराले बताए । मुटुको चालमा पनि समस्या देखिएको छ । ‘रक्तचाप बढेपछि फिस्टेल अस्पताल लगिएको थियो, चिकित्सकले उच्च रक्तचाप रहेकाले भर्ना हुन सुझाएका थिए,’ बोहराले भने, ‘उहाँले मान्नुभएन, औषधि दिए पुग्छ, भन्नुभयो । जिल्ला प्रहरी कार्यालय फर्कनुभएको छ ।’
गत साता लामिछानेलाई रातारात पोखरा लगिएपछि जिल्ला अदालत कास्कीले हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिको मानव अधिकारको उल्लंघन हुने कुनै कार्य नगर्न आदेश दिएको थियो । साथै, लामिछानेको स्वास्थ्य उपचार गरी कागजात पेस गर्न भनेको थियो । लामिछानेलाई बिहीबार अदालत पेस गर्ने कास्की प्रहरीको तयारी छ । उनलाई बुधबार मात्र वीरगन्जबाट स्थलमार्ग हुँदै सिमरा र सिमरा–काठमाडौं–पोखरा हवाईमार्गमार्फत पुर्याइएको थियो । पोखरा पुर्याउँदा उनका समर्थकले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । लामिछानेसँग मंगलबार वीरगन्जमा रहेको सानो पाइला सहकारीको बचत अपचलन कसुरमा बयान लिइएको थियो । तर, इन्कारी बयान दिएका छन् । लामिछानेले यसअघि पोखरा, बुटवल, चितवन र काठमाडौंमा पनि इन्कारी बयान दिएका थिए । उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।