दुई कार्यकाल देशको सर्वोच्च पदको जिम्मेवारी लिएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने रुचि देखाएपछि उनको जिम्मेवारी र सहज व्यवस्थापनबारे एमालेपंक्तिमा बहस सुरु भएको छ । सर्वसम्मत भावी अध्यक्ष बनाएर उनको पुनरागमन गराउन सकिने विकल्पमा पार्टी नेताहरूबिच अघोषित संवाद जारी छन् ।
अध्यक्ष केपी ओलीले नै गत ९ वैशाखमा ललितपुरको गोदावरीमा आयोजित पार्टी स्थापना दिवस र अर्को एक सार्वजनिक कार्यक्रममा भण्डारीले पार्टीभित्र सक्रिय भएर योगदान दिन सक्ने संकेत दिएपछि एमालेभित्र यसले ठुलो महत्व राखेको हो । त्यसो त भण्डारी आफैँले पनि भेटघाट र सार्वजनिक अभिव्यक्तिमार्फत सक्रिय राजनीतिको सम्भावना खुला गरेर ‘वार्मअप’मा छिन् । एमाले पूर्वउपाध्यक्ष भण्डारीले राष्ट्रपतिबाट अवकाशपछि सुरक्षाकर्मी र डेराभाडाबाहेक राज्यको अन्य सेवा सुविधा परित्याग गरेर राजनीतिमा पुनरागमनको ढोका खुला राखेकी छिन् ।
अध्यक्ष ओलीले नै स्पष्ट जनाउ दिने विचार राखेपछि भण्डारीलाई सम्भावित सर्वसम्मत अध्यक्षका रूपमा अर्थ्याएर नेताहरूले पार्टीभित्र अघोषित आन्तरिक बहस चलाइरहेका छन् । आगामी एघारौँ महाधिवेशन ०८३ भित्र आयोजना हुने भएकाले अहिल्यै नै नीति र नेतृत्वको बहस एमालेपंक्तिमा खुला भइसकेको छैन । तर, महाधिवेशन केन्द्रित नेताहरूका गतिविधिमा भण्डारी जोडिन थालेकी छिन् ।
भण्डारी सक्रिय राजनीतिमा फर्कने जनाउमा उनको राजनीतिक र सामाजिक कार्यक्रममा सक्रियता प्रमुख छ । यसबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका बहुसंख्यक पदाधिकारीहरूको उनको निवासमा बाक्लो आवतजावत र संवाद तथा जिल्ला नेतृत्व तहका नेताहरूको निरन्तर भेटघाटले भण्डारीको ‘वार्मअप’ लाई देखाउँछ ।
एमालेका कतिपय नेताहरूको बुझाइमा केही राजनीतिक कारणले पनि भण्डारी अध्यक्ष हुने आधार सहज छ । ती नेताहरूका अनुसार अध्यक्ष ओलीपछि दोस्रो पुस्तामा चुनावी प्रतिस्पर्धाबाहेक सर्वसम्मत नेतृत्व हस्तान्तरण सहज छैन, यस्तोमा उनी उत्तम विकल्प हुन सक्छिन् । त्यसबाहेक विभाजित पार्टी नेकपा एकीकृत समाजवादीलाई एकतामा ल्याउनेदेखि वाम ध्रुवीकरणका लागि भण्डारीको व्यक्तित्व सहज हुन सक्ने ती नेताहरूको ठम्याइ छ ।
भण्डारी स्वयंले सम्भावित पुनरागमनबारे कूटनीतिक जवाफ दिने गरेकी छिन् । सीमित नेताहरूले मात्र उनको सम्भावित राजनीतिक सक्रियताबारे औपचारिक प्रतिक्रिया दिने गरेका छन् । अनौपचारिक संवादमा भने एमालेका धेरै नेताले भण्डारीको सक्रियता र रुचिबारे सुनाउने गरेका छन् ।
भण्डारीसँग नियमित भेटघाट र संवादमा रहेका स्थायी समिति सदस्य कर्ण थापाले एघारौँ महाधिवेशन या त्यसअघि नै पूर्वराष्ट्रपति भण्डारी पार्टी अध्यक्ष बन्ने सम्भावना रहेको औँल्याए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीकै प्रस्तावमा त्यस्तो सम्भावना रहेको भन्दै उनले पुनरागमनका तर्क सुनाए ।
‘एघारौँ महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउने हो भने अहिलेको अवस्थामा दुई पात्रका नाममा मात्र सर्वसम्मति हुन सक्ने स्थिति छ । पहिलो, अहिलेकै अध्यक्षले निरन्तरता दिनुपर्छ, उहाँबाहेकको नाममा सर्वसम्मति हुने स्थिति छैन । तर, दुई कार्यकाल नेतृत्व लिइसकेकाले उहाँले बिदा लिने मनस्थिति बनाउनुभयो भने त्यसपछिको साझा र सर्वसम्मत व्यक्तित्व विद्या भण्डारी नै हो,’ थापाले नयाँ पत्रिकासँग भने, ‘किनभने अहिलेका पदाधिकारी तहका सबैजसो नेताले पनि उहाँलाई स्विकार्नुहुनेछ । त्यसो गर्दा उहाँ सर्वसम्मत अध्यक्ष बन्नुपर्छ भन्ने धारणा बन्दै गएको छ ।’
पूर्वराष्ट्रपति भण्डारीसँग सम्पर्कमा रहेका थापाले सर्वसम्मत अध्यक्षका लागि भण्डारीले पनि मनस्थिति बनाइरहेको खुलाए । ‘उहाँ अध्यक्ष बन्ने नै मनस्थितिमा हुनुहुन्छ । एघारौँ महाधिवेशन वा त्यसअघि नै अध्यक्षकै प्रस्तावमा उहाँ नेतृत्वमा आउने सम्भावना छ । पार्टीको ठुलो पंक्ति पनि त्यो पक्षमा छ । किनभने अध्यक्षपछिको नेतृत्वमा अहिले पदाधिकारीभित्र अरू सर्वस्वीकार्य व्यक्तित्व देखिँदैन,’ थापाले भने । थापाले अर्को महाधिवेशनअगावै पनि भण्डारी पार्टी अध्यक्ष बन्न सक्ने बताए पनि एमाले विधानले महाधिवेशनले बाहेक नेतृत्व परिवर्तनको अर्र्को विकल्प खुला गरेको छैन । यद्यपि, पार्टीभित्र सहमति हुँदा विधानमा बाधा अड्काउ फुकाउमार्फत निर्णय लिन सक्ने विकल्प भने कायमै रहन्छ ।
लामो समयदेखि ओली र भण्डारी आपसी सहयोगी र सहकार्यमा रहेकाले पनि दुवैको परामर्श र सहमतिमै अबको कोर्स अगाडि बढ्ने थापाले बताए । अध्यक्ष ओलीले नै भण्डारीले राजनीतिमा रुचि र सक्रियता देखाउनु स्वाभाविक भएको बताएर प्रधानमन्त्री वा अध्यक्ष बन्न सक्ने जनाउ दिइसकेकाले उनकै प्रस्तावमा भण्डारी सर्वसम्मत अध्यक्ष हुन सक्ने थापाको तर्क छ ।
गत ८ भदौमा आयोजित युथ कनक्लेभ–२०२४ समारोहका सहभागीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले महिलालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका थिए । आफ्नो पालामा महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, रक्षामन्त्री र मुख्यसचिव बनाएको भन्दै ओलीले भनेका थिए, ‘अब म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।’
पार्टीको आन्तरिक कार्यक्रमदेखि सार्वजनिक कार्यक्रममा भण्डारीको उपस्थितिले पनि उनी छिट्टै सक्रिय राजनीतिमा आउने योजनामा रहेको पार्टीपंक्तिको बुझाइलाई बल पुगेको छ । गत ९ वैशाखमा पार्टी स्थापना दिवसमा गणतन्त्र गौरव सम्मान लिएलगत्तै भण्डारीलाई एमालेले १६ र १७ जेठमा आयोजित राष्ट्रिय महिला भेलामा प्रमुख अतिथि बनाएर अध्यक्ष ओलीलाई विशेष अतिथि बनाएको थियो । उनकै नेतृत्वमा संसद्बाट ३३ प्रतिशत महिला सहभागितासम्बन्धी विशेष प्रस्ताव पास भएर अन्तरिम संविधानमै अधिकार सुनिश्चित भएको विषयलाई राष्ट्रिय एजेन्डाका रूपमा उठान गर्ने उद्देश्यले त्यतिवेला ओलीकै सहमतिमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो ।
त्यसयता उनी मदन भण्डारी फाउन्डेसनको गतिविधिका अलावा सामाजिक प्रकृतिका कार्यक्रममा सहभागी पनि हुँदै आएकी छिन् । गत ३ मंसिरमा मदर फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय इस्लामिक ललित कला प्रदर्शनीमा प्रमुख अतिथि बनेकी उनी बिहीबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगोल विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनिन् । त्यस्तै, शनिबारै केन्द्रीय बाल संगठनले गर्ने कार्यक्रममा पनि प्रमुख अतिथिकै रूपमा सहभागी हुँदै छिन् ।
प्रधानमन्त्री ओलीसहितका पदाधिकारीहरू, केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरूले भण्डारीसँग संवाद र भेटघाट गर्दै आएका छन् । भण्डारीसँग बाक्लो भेटघाटमा रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले तीन साताअघि चीन भ्रमणमा जाने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई भेटेर भ्रमणबारे जानकारी गराएका थिए । केही महिनायता अष्टलक्ष्मी शाक्यबाहेकका उपाध्यक्षहरूले मात्र होइन, उपमहासचिव पृथ्बीसुब्बा गुरुङ र पार्टी सचिवहरूले पनि उनीसँग भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, रक्षामन्त्री मानवीर राई, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी र सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता भण्डारीसँगको परामर्श र रुचिमै अध्यक्ष ओलीले नियुक्त गरेको उनीनिकट एक पदाधिकारी बताउँछन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको कोर टिमबाट बाहिर रहेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा भण्डारीसँग बाक्लो संवादमा छन् ।
बाँस्कोटाले भण्डारीको सक्रियतालाई स्वाभाविक भन्दै आएका छन् । त्यस्तै, स्थायी समिति सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राई र पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य कृष्ण राई, पूर्वमुख्यमन्त्री डोरमणि पौडेललगायत पनि भण्डारीसँग बढी सम्पर्कमा छन् ।
अध्यक्ष ओलीले पनि भण्डारीसँग कम्तीमा हप्तामा एक/दुई पटक टेलिफोनबाट परामर्श लिने गरेका छन् । पार्टी कार्यालयमा काम विशेषले आउने जिल्ला तहका नेताले पनि उनलाई पार्टीभित्र हुने गुटबन्दी रोक्न र सबै नेता–कार्यकर्तालाई न्यायोचित जिम्मेवारीमा चासो राख्न सुझाव दिने गरेको निकटस्थ बताउँछन् ।
भण्डारीसँग सम्पर्कमै रहेका एक स्थायी समिति सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष ओली सानो घेराबाट सञ्चालित हुने र पूर्वाग्रह राख्ने शैलीका भएकाले उनको विकल्पमा पार्टीभित्र छलफल हुने गरेको बताए । ‘उहाँको अध्यक्ष बन्ने प्रस्ट इच्छा छ । तर, अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेर कि सर्वसम्मत हुने गरी भन्ने हो,’ ती सदस्यले भने, ‘उहाँ अध्यक्ष बन्नुभो भने कम्युनिस्ट आन्दोलन पनि ठिक दिशामा जान्छ । वाम आन्दोलनमा व्यापक ध्रुवीकरण हुन्छ र सामूहिक प्रणाली स्थापित हुन्छ ।’
अघिल्लो ९ वैशाखमा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले अध्यक्षका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाएकाले ओली स्वयं तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न सक्ने विकल्प खुला छ । उनीबाहेक वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र विष्णु पौडेल साथै महासचिव शंकर पोखरेल अध्यक्षका आकांक्षी छन् ।
एघारौँ महाधिवेशनलाई लक्षित पौडेल र पोखरेलबिच प्रदेश र जिल्लामा प्रभाव जमाउने आन्तरिक प्रतिस्पर्धा छ । तर, आन्तरिक प्रतिस्पर्धामा गुटबन्दी निषेध गरिएकाले आकार लिने गरी घोषित गुट भने एमालेमा निर्माण भइसकेको छैन । न त पूर्वराष्ट्रपतिले नै गोप्य आन्तरिक बैठक आयोजना गर्ने गरी अलग्गै गुट निर्माण गरेकी छिन् ।
उपाध्यक्ष युवराज ज्ञवाली पार्टीको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे पूर्वराष्ट्रपति भण्डारीले नियमित चासो राख्ने गरेको आफूले पनि जानकारी पाएको बताउँछन् । उनले एमालेलाई निर्णायक र बलियो राष्ट्रिय शक्ति निर्माणसहित सक्रिय राजनीतिमा आउने हो भने पहिले भण्डारी नै प्रस्ट हुनुपर्ने र त्यसका लागि एघारौँ महाधिवेशनबाट निर्वाचित हुनुको विकल्प नरहेको बताए ।
‘पार्टीको आन्तरिक राजनीतिमा उहाँको चासो देखिन्छ । चासो मात्र नभएर उहाँले पार्टीको स्थिति, राष्ट्रिय राजनीतिको अवस्थाबारे जानकारी लिइरहनुभएको छ भन्ने मेरो बुझाइ छ । उहाँ अहिलेको परिस्थितिप्रति त्यति सन्तुष्ट हुनुहुन्छ जस्तो पनि लाग्दैन । त्यसकारण एमालेलाई निर्णायक र बलियो पार्टी बनाउन के गर्न सकिन्छ भनेर उहाँले पनि सोच्नुभएको होला,’ ज्ञवालीले भने, ‘तर, त्यसका लागि उहाँले के निर्णय गर्नुहुन्छ, त्योचाहिँ स्पष्ट छैन । पार्टीमा कसरी आउने ? सक्रिय भएर आउने हो कि होइन प्रस्टता छैन । सक्रिय भएर आउने हो भने अबको महाधिवेशनबाट निर्वाचित भएर आउनेबाहेक अरू विकल्प छैन ।’
तत्कालीन एमालेकी उपाध्यक्ष भण्डारीले दुईपटक राष्ट्रपति निर्वाचित भएर सात वर्ष राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालिन् । पार्टीसम्बद्ध नेता–कार्यकर्ता, शुभेच्छुक र सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेटघाटमा भण्डारीले तत्काल राजनीतिमा फर्किने सोच नभए पनि तत्कालीन आवश्यकताले नै सबै निर्धारण गर्ने बताएर विकल्प खुला रहेको जनाउ दिँदै आएकी छिन् ।
३ असोज ०७२ मा संविधान जारी भएपछि ११ कात्तिकमा नेपालको पहिलो महिला राष्ट्रपति निर्वाचित भण्डारीले अघिल्लो कार्यकाल करिब दुई वर्ष चार महिना व्यतीत गरेकी थिइन् । ०७४ को निर्वाचनपछि वाम गठबन्धनका तर्फबाट एमालेले उनै भण्डारीलाई पछिल्लो कार्यकालका लागिसमेत उम्मेदवार बनाएपछि २९ फागुन ०७४ बाट निर्वाचित राष्ट्रपतिका रूपमा २८ फागुन ०७९ मा पाँचवर्षे कार्यकाल पूरा गरेकी थिइन् ।
पूर्वउपराष्ट्रपति पुन फर्किए सक्रिय राजनीतिमा : पुनलाई पार्टी उपाध्यक्ष बनाउने गृहकार्य, आज बस्ने स्थायी समिति बैठकमार्फत टुंग्याउने तयारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन फेरि सक्रिय राजनीतिमा फर्केका छन् । दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई प्रमुख प्रतिपक्ष दल माओवादीले उपाध्यक्ष बनाउने गृहकार्य थालेको छ । युद्धकालमा विद्रोही सेनाका कमान्डर रहेका उनलाई पार्टीमा फर्काउन माओवादीले विधान संशोधनको समेत तयारी गरेको छ ।
बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा बसेको पदाधिकारी बैठकमा पुन आमन्त्रित सदस्यका रूपमा सहभागी भए । यससँगै उनले सक्रिय राजनीतिमा फर्केको सन्देश दिए । माओवादीले २७ मंसिरमा बोलाएको स्थायी समिति बैठकमा पुनको जिम्मेवारीका सम्बन्धमा निर्णय गर्ने तयारी गरेको छ ।
‘उहाँ पछिल्ला बैठकमा सहभागी भइरहनुभएको छ । उहाँलाई पार्टीमा कुन भूमिकामा ल्याउने भन्नेबारे अध्यक्षले गृहकार्य गर्नुभएको छ । तर, टुंगिसकेको छैन,’ माओवादी सचिव चक्रपाणि खनालले नयाँ पत्रिकासँग भने, ‘उपराष्ट्रपति भइसकेको व्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्छ भन्ने पनि छ । सबैसँग परामर्श गरेर अध्यक्षले टुंगो लगाउनुहुन्छ । स्थायी समिति बैठकबाट औपचारिक निर्णय होला ।’
पुन आफैँले पार्टीमा फर्किएर काम गर्न तयार रहेको रुचि राखेका छन् । ‘सक्रिय राजनीतिमा फर्किएर काम गर्न तयार छु,’ बिहीबारको बैठकमा पुनले जनाएको प्रतिबद्धता उद्धृत गर्दै माओवादीका एक पदाधिकारीले बताए ।
पुनले बुधबार आयोजित सार्वजनिक कार्यक्रममा पनि पार्टी राजनीतिमा फर्किने संकेत गरेका थिए । अध्यक्ष प्रचण्डको नेतृत्वमा गणतान्त्रिक योद्धाहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘इतिहास नभुलेर अध्यक्ष प्रचण्डको नेतृत्वमा तपाईं–हामी सबै गोलबन्द भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । र, गणतन्त्रको रक्षाका लागि अझ दृढतापूर्वक अगाडि बढ्न जरुरी छ,’ पुनले बुधबार गणतान्त्रिक योद्धाहरूको सम्मान कार्यक्रममा भनेका थिए ।
माओवादी नेताकै हैसियतमा पुनले विगतका कमी–कमजोरीबाट शिक्षा लिँदै पार्टीलाई दृढतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । ‘टुटफुटका इतिहासलाई फेरि जोड्दै नयाँ पार्टी निर्माण गर्दै समाजवादी अभियानको सुरुवात गर्नुपर्छ । हिजो गणतन्त्र प्राप्तिका लागि हामी जो–जति योद्धाहरू लड्यौँ । भोलिका दिनमा समाजवाद निर्माणका लागि पनि सबैले आआफ्नो ठाउँबाट दृढतापूर्वक भूमिका निर्वाह गरौँ,’ पुनको भनाइ थियो ।
पुनसहितका नेतालाई पदाधिकारीमा फर्काउन विधान संशोधन मस्यौदा तयार पारिएको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदलले पदाधिकारी संख्या बढाउने गरी मस्यौदा तयार पारेको थियो ।
विधान संशोधन मस्यौदा आगामी २७ मंसिरमा बस्ने स्थायी समिति बैठकमा प्रस्तुत गर्ने र त्यसपछि सोही बैठकबाट पुनलाई पदाधिकारीमा चयन गर्ने सम्भावना रहेको माओवादीका एक पदाधिकारी बताउँछन् । स्थायी समितिको निर्णय पुस पहिलो हप्ता बस्ने केन्द्रीय समितिबाट अनुमोदन गराउने तयारी छ । पूर्वउपराष्ट्रपति पुनसँगै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पनि पदाधिकारी बनाउने तयारी छ । शेरचनलाई के जिम्मेवारी दिने भन्ने टुंगिन बाँकी छ ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि पुन २०७२ कात्तिक १४ मा पहिलोपटक उपराष्ट्रपति निर्वाचित भएका थिए । उनी २०७४ को निर्वाचनपछि दोस्रोे कार्यकाल पनि उपराष्ट्रपतिमा दोहोरिए । पहिलोपटक संक्रमणकालीन अवस्था भएकाले थोरै कार्यकाल सम्हालेका पुनले दोस्रोपटक भने पाँच वर्ष कार्यकाल सम्हाले । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्षको हुने कानुनी प्रावधान छ ।
पार्टी, नेतृत्व र स्वयं पुनको चाहना र सोचले उनी सक्रिय राजनीतिमा फर्किन चाहेको नेताहरू बताउँछन् । पुन प्रचण्डका विश्वास पात्रमध्येका एक हुन् । पुन उपराष्ट्रपति हुनुअघि पार्टीको स्थायी समिति सदस्य थिए । उनी माओवादी जनसेना पूर्वकमान्डरसमेत हुन् । यसअघि पूर्वसभामुख अग्नि सापकोटालाई माओवादीले उपाध्यक्षको जिम्मेवारी दिएको थियो । सापकोटा हाल उपाध्यक्ष एवं पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् । माओवादीमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव ६, सचिव नौ र कोषाध्यक्ष एक छन् ।
सक्रिय राजनीतिबाट टाढै छन् पहिलो राष्ट्रपति यादव र उपराष्ट्रपति झा
देशको पहिलो राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा सक्रिय राजनीतिबाट टाढै छन् । यादवले अवकाशयताको दिनचर्या ललितपुरको भैंसेपाटीस्थित सरकारी निवासमा र झाले सप्तरीस्थित आफ्नै निवासमा बिताइरहेका छन् ।
पूर्वराष्ट्रपति यादवका समय–समयका अभिव्यक्ति संविधान र राष्ट्रपतिको भूमिकामा केन्द्रित हुने गरेको देखिन्छ । लामो समय कांग्रेसको राजनीति गरेका यादव अहिले पार्टी गतिविधिमा देखिएका छैनन् । फर्कने योजनामा पनि नरहेको निकटस्थ बताउँछन् । आफूनिकटसँग आफूले ‘रिटायर्ड लाइफ’मै सन्तुष्ट रहेको भन्दै राजनीतिमा फर्कने कुनै रुचि नरहेको बताउने गरेका छन् ।
गृहजिल्ला धनुषाका कांग्रेस जिल्ला सभापति योगेन्द्र पंजियार पूर्वराष्ट्रपति यादवले राजनीतिमा फर्कनेबारे कुनै रुचि नदेखाएको बताँउछन् । ‘समय–समयमा गृहजिल्ला आउनुहुन्छ । उहाँको राजनीतिमा फर्कने योजना देखिँदैन । कुनै रुचि छैन भन्ने गर्नुभएको छ,’ उनले नयाँ पत्रिकासँग भने ।
उनले पहिलो राष्ट्रपतिका रूपमा ८ साउन ०६५ देखि ११ कात्तिक ०७२ सम्म भूमिका निर्वाह गरे । यादवकै कार्यकालमा संविधानसभामार्फत संविधान जारी भएको थियो । ३ असोज ०७२ मा राष्ट्रपतिका रूपमा यादवले नै संविधान प्रमाणीकरण गर्ने सौभाग्य पाए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक संविधान विघटन गरेको विषयमा असंवैधानिक भएको अभिव्यक्ति दिएका थिए । यस क्रममा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकालाई लिएर उनले ‘संविधानमाथिको आक्रमण’को रूपमा टिप्पणी गरेका थिए । समय–समयमा प्रेस स्वतन्त्रता तथा संविधान कार्यान्वयनका विषयमा उनका टिप्पणी आउने गरेका छन् । पछिल्लो समय संविधान संशोधनका विषयमा चर्चा भइरहँदा उनले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने अभिव्यक्ति दिएका छन् ।
पहिलो उपराष्ट्रपति झाको कुनै पार्टीसँग सम्पर्क छैन । संविधानसभाको चौथो दल मधेसी जनअधिकार फोरमबाट ४ साउन ०६५ मा झा उपराष्ट्रपति निर्वाचित भएका थिए । कांग्रेस, एमाले र फोरमको साझा उम्मेदवार बनेका झाले ३०५ मत प्राप्त गरी माओवादी उम्मेदवार शान्ता श्रेष्ठलाई २४३ मतसहित पराजित गरेका थिए ।
जनता समाजवादी पार्टी नेपाल (विगतको फोरम)का प्रवक्ता मनीष सुमनले पूर्वउपराष्ट्रपति झा सम्मानित रूपले स्वतन्त्र जीवन बिताइरहेको बताए । राजनीतिमा आउने आफ्नो कुनै सोच नभएको उनको भनाइ छ ।
‘उहाँ सम्मानित व्यक्ति हो । सम्मानित रूपले नै काम गर्दै हुनुहुन्छ । जसपा नेपालको कुनै जिम्मेवारीमा हुनुहुन्न । जिम्मेवारीमा आउने प्रयास पनि छैन,’ उनले भने, ‘पार्टीको संस्थापक सम्पर्कमा हुनुहुन्न । तर, पार्टीको पुरानो नेताको हिसाबले व्यक्तिगत सम्पर्कमा रहिरहनुहुन्छ । हालखबर सोधपुछ हुन्छ । यद्यपि, उहाँले पार्टीको कुनै जिम्मेवारीमा, क्रियाशील राजनीतिमा फर्कने कुनै सोच बनाउनुभएको छैन । हाम्रा साथीहरू भेट हुँदा उहाँले अब राजनीतिमा फर्किन्न भन्नुहुन्छ ।’
अशोक राई नेतृत्वको जसपाका महासचिव इस्तियाक राईले प्रथम राष्ट्रपति झा आफूहरूको सम्पर्कमा नभएको बताए । ‘उहाँसँग हाम्रो कुनै सम्पर्क छैन,’ उनले भने ।
जसपा नेपालका नेताहरूका अनुसार झा गृहजिल्ला सप्तरीमै बसिरहेका छन् । उमेरले ८० वर्ष नाघिसकेका झा काम परेका वेला काठमाडौं आउजाउ गरिरहन्छन् ।