मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
रासस काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १२:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टुकुचा करिडोर खुलाउन माग

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १२:४९:oo

संघीय राजधानी काठमाडौंको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा)को दायाँबायाँ करिडोर निर्माण गरिनुपर्ने काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् ।

इच्छुमती किनारको दायाँबायाँ चार-चार मिटरको मात्र करिडोर निर्माण गर्दा पनि राजधानीको सवारीजाम कम हुने जनाइएको छ । काठमाडौं महानगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ इच्छुमती किनारको दायाँबायाँ चार-चार मिटरको मात्र करिडोर निर्माण गर्दा पनि राजधानीको जाम कम हुने बताउँछन्।

काठमाडौं महानगरपालिका– २ मा इच्छुमतीको करिब ६२० मिटर लम्बाइ पर्ने उल्लेख गर्दै उनले बहाव क्षेत्र चार मिटर छोडेर दायाँबायाँ चार-चार मिटरको सडक बनाउनुपर्ने स्थानीयवासीको माग रहेको बताए। काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि इच्छुमतीको बहाव क्षेत्र चार मिटर र दायाँबायाँ चार-चार मिटरको मापदण्ड तोकेको छ ।

काठमाडौं महानगरपालिका– २ लाजिम्पाटको नीलसरस्वतीस्थान क्षेत्रमा करिब १५० मिटर सडक रहेको वडा कार्यालयले जनाएको छ । अर्को भागमा केही टहरा भएकाले त्यसलाई भत्काएर सडक खोल्न सकिने उनले जानकारी दिए। ६२० मिटर क्षेत्रमा ६ देखि सातवटा घर भने नदीकिनारको चार मिटर मापदण्ड मिचेर निर्माण भएकाले त्यसलाई भत्काउनुपर्ने वडाध्यक्ष श्रेष्ठले बताए । यस क्षेत्रमा नदीको मापदण्ड कसले कति मिचेका छन् भन्ने तथ्य पनि वेलावेलामा सार्वजनिक हुने गरेको छ ।

 काठमाडौं महानगरपालिका– २८ ले शंकरदेव क्याम्पसअघिको करिब सय मिटर क्षेत्रमा पनि करिडोर खुला गरेको छ । वडा नं. २८ मा रहेको समाज कल्याण परिषद्को जग्गामा भने अहिलेसम्म करिडोर निर्माण हुन सकेको छैन । वडा नं. २८ को सबै भागमा करिडोर निर्माण हुनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको वडाध्यक्ष भाइराम खड्गी बताउँछन्।

वडा नं. ११ को भद्रकाली प्लाजामा पनि करिब सय मिटर इच्छुमती करिडोर खुला छ । बाँकी भागमा धेरै जग्गा सरकारी कार्यालयको पर्ने वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार बताउँछन्। सरकारी कार्यालयलाई ठाउँ छोडाएर राजधानीको बिचभाग पारेर करिडोर बनाउनुपर्छ भन्ने विचार आफूले तत्कालीन महानगरपालिका सभामा ०४९ देखि नै राख्दै आएको उनको भनाइ छ ।

 नदी सभ्यता बचाउने सन्दर्भमा स्पष्ट नीति नभएकैले राजधानीको मध्यभाग भएर बग्ने इच्छुमती धेरै फोहाेर भएको वडाध्यक्ष तण्डुकार बताउँछन्। राजधानीका नदीमा तीनै तहका सरकार मिलेर करिडोर निर्माण गर्न सके नदी सफाइका लागि पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

बागमती, रुद्रमती (धोबीखोला), विष्णुमती, मनोहरालगायत नदीकिनारमा बनेका करिडोरले सहज यातायात सुविधा दिएको छ । करिडोर निर्माण भएकै कारण नदीमा फोहाेर फाल्नेहरु समातिएर कानुनी कारबाहीको दायरामा परेको बागमती सफाइ अभियानकर्मी गोविन्द काफ्लेले बताए। इच्छुमतीको सफाइका लागि पनि करिडोर खोल्नुपर्ने माग राजधानीमा बढ्न थालेको छ ।

इच्छुमती महानगरपालिकाका वडा नं. १, २, ३, ४, ५, २८ र ११ क्षेत्र भएर बग्ने गरेको छ । इच्छुमती करिडोर खोल्न महानगरपालिका नै लाग्नुपर्ने वडा नं. ११ का अध्यक्ष तण्डुकारको माग रहेको छ । करिडोरमा दुईपांग्रे र साना सवारीलाई प्रवेश गराउँदा ठुला सडकमा सवारीजाममा कमी आउने महानगरपालिकाका जनप्रतिनिधिको भनाइ छ।