मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १२:३८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सुपर ओभरमा विराटनगरलाई हराउँदै पोखराको दोस्रो जित

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १२:३८:oo

सुपर ओभरमा विराटनगर किंग्सलाई हराउँदै नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३९ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा पोखराले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा सुपर ओभरसम्म पुगेको यो पहिलो खेल हो। विराटनगरले सुपर ओभरमा १८ रनको लक्ष्य पाएको थियो। रोमन रेइफल एक्लैले १७ रन बनाए। बलिङ लिएर पनि सुपर ओभरमा रेइफर नै आएका थिए।

सुपर ओभरमा मार्टिन गुप्टसल र निकोलस किर्टन आएका थिए। तर, उनीहरूले लक्ष्य पूरा गर्न सकेनन्। उनीहरूले पाँच रन मात्रै जोडे।

दोस्रो जितपछि पोखराले चार अंक जोडेको छ। विराटनगरको मात्र दुई अंक छ।

पोखरालाई अन्तिम ओभरमा जितका निम्ति १४ रनको आवश्यकता थियो। पोखराबाट क्रिजमा रेमोन रेफर र नारायण जोशीले खेल टाई गराएका थिए।

सुपर ओभरअघि लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर आन्द्रियस गौसले ३९ रन बनाए। उनले २७ बलमा सात चौका प्रहार गरेका थिए। गौसले पहिलो विकेटका निम्ति अर्का ओपनर दिनेश खरेलसँग ४.३ ओभरमा ४७ रनको साझेदारी गर्दै पोखरालाई बलियो सुरुवात दिलाएका थिए। गौसलाई ११औँ ओभरको तेस्रो बलमा प्रतिश जिसीले बसिर अहमदबाट क्याच गराए। ११ रन बनाएर आउट भएका दिनेशले ११ बलमा एक छक्का प्रहार गरे। दिनेशलाई पाँचौँ ओभरको तेस्रो बलमा प्रतिश जिसीले अनिल खरेलबाट क्याच गराए। कप्तान कुशल भुर्तेलले ३१ रन थपे। उनले ३४ बलमा दुई चौका र एक छक्का प्रहार गरे। भुर्तेल र गौसले दोस्रो विकेटका निम्ति ४१ रनको साझेदारी गरेका थिए।

विराटनगरका प्रतिश जिसीले चार विकेट लिए। योसँगै प्रतिशले प्रतियोगितामा कुल नौ विकेट पुर्‍याएका छन्। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा छन्।

यसअघि एनपिएलमा पहिलो खेल खेलिरहेका विराटनगरका एडवार्डले ३५ बलमा पाँच चौकासहित सर्वाधिक ४५ रन बनाएका थिए। उनलाई पोखराका कप्तान कुशल भुर्तेलले एलबिडब्लू धरापमा पारेका थिए। उनी तीन दिनअघि मात्रै नेपाल आएका हुन्।

त्यस्तै, बसिर अहमद २० बलमा एक छक्कासहित २१ रनमा अविजित रहे। दुई खेलाडीबिच चौथो विकेटको लागि ४० रनको साझेदारी भएको थियो। यसअघि ओपनर लोकेश बम १६ बलमा समान दुई चौका र छक्कासहित २६ रन बनाउन सफल भए। अर्का ओपनर मार्टिन गुप्टिल ५ रन बनाएर आउट भए। गुप्टिल पहिलो खेलमा अर्धशतक बनाएपछि लगातार ठुलो स्कोर बनाउन असफल छन्। तेस्रो नम्बर क्रिजमा आएका नरेन भट्ट पनि ४ रन बनाएर आउट हुँदा विराटनगर ७.१ ओभरमा ३७ रन बनाएर खेलिरहेको थियो।

पाँचौँ नम्बर क्रिजमा आएका निकोलस किर्टनले १६ बलमा १९ रन बनाए। क्रिस सोल पनि सात रन र चार रन बनाएका दीपक बोहरा पनि रनआउट भए। एक बल खेलेका प्रतिश जिसी चौका प्रहार गर्दै अविजित रहेका थिए।

पोखराका सागर ढकाल र रेमन रेइफरले समान दुई तथा कप्तान भुर्तेल र दिनेश खरेलले समान एक विकेट हात पारे।