मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
२o८१ मङ्सिर २७ बिहीबार १८:o२:oo
Read Time : > 1 मिनेट
समाचार

सिद्धार्थनगरमा एडिबीको तेस्रो योजना : २३ किलोमिटरभन्दा बढी सडक बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १८:o२:oo

एसियाली बिकास बैंक (एडिबी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा युआरएलआइपी योजनाअन्तर्गतका सहरी सडक निर्माणका लागि नगरपालिका र निर्माण व्यवसायीबिच सझौता भएको छ। 

एक अर्ब १८ करोड लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी इकेके इन्फ्रास्टक्चर लिमिडेट भारतबिच सम्झौता भएको हो। सम्झौतापश्चात् कार्यादेश पाएको नौ सय दिन (३० महिना) भित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नु पर्नेछ। 

योजनाअन्तर्गत नाला, फुटपाथ, सेफ्टी रेलिङ, खानेपानी, बिजुली, स्ट्रिटलाइट, सडक कालोपत्रे, आरसिसी ढलान तथा नगर साैन्दर्यकरणलगायतका काम हुने नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले जानकारी दिए। उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रूपमा लिएको र समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्। 
एडिबीको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार यसअघि एडिबीका आइयुडिपी र आरयुडिपीका योजना सफलतापूर्वक सम्पन्न गरेपश्चात् नगरपालिकाले तेस्रो चरणको योजना सुरु गरेको हो। अघिल्ला दुई योजनाको उत्कृष्ट व्यवस्थापन गरेबापत नगरपालिका पुरस्कृतसमेत भएको थियो। 

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पालिकाको अथक प्रयासले सिद्धार्थनगरमा ठेक्का प्रक्रिया छिटो भएर योजना लागू हुने चरणमा पुगेको उल्लेख गरिन्। 
एडिबीको ऋण लगानीमा हुने युआरएलआइपी योजना रुपन्देहीका सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि आएको छ। तर, ती पालिकाहरूमा यो योजना अहिले अध्ययनकै चरणमा छ।

योजनाअन्तर्गत विभिन्न २७ वटा सडकतर्फ साढे २३ किलोमिटर सडक निर्माण हुनेछ। खासगरी सुगरमिल, सुकुनीपथदेखि डन्डा करिडोर जाने सडक, भीमकाली पथ, दुर्गा कोलोनीका भित्री सडकहरू निर्माण हुनेछन्।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौतापश्चात् दुई महिनाभित्रमा नै योजना कार्यान्वयनमा जाने बताए। उनले यो योजना पूरा हुँदा नगरको विकास धेरै अगाडि बढ्ने बताए। धेरै मिहेनत गरेर नगरको रणनीतिक योजनालाई समयमै सुरु गर्न सफल भएको उनले बताए। निर्माण कम्पनी इकेके इन्फ्रास्टचर लिमिडेटका प्रतिनिधि विक्रम गौतमले नगरको गौरवको योजनालाई आफूहरूले समयमै पूरा गर्ने प्रतिबद्धता जनाए।