मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
मोतीलाल दुगड
२o८१ मङ्सिर १४ शुक्रबार o९:२६:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

असीको दशकमै कृषिमा फड्को मार्ने आधार

Read Time : > 5 मिनेट
मोतीलाल दुगड
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार o९:२६:oo

०८० को दशकभित्रै व्यावसायिक कृषि र वनपैदावारमा नेपाल स्वर्णिम युगमा प्रवेश गर्ने माहोल सिर्जना भएको छ

बहुसंख्यक जनता कृषि कर्ममा संलग्न भए पनि खेती–किसानी कहिल्यै सम्मानित पेसा बन्न सकेन । धेरैको पहिलो रोजाइ सरकारी जागिर हुन्थ्यो । व्यापार व्यवसाय गर्नेहरूको पनि सान अर्कै थियो । विदेशमा कमाइधमाइ गरेर फर्किने लाहुरेको गाउँमा कम्ता इज्जत हुन्थेन । त्यो चमकधमक, इज्जत र धनदौलत गाउँमा बसेर खेतीपाती गर्नेहरूले कहाँ पाउनु ? गाउँघरमा बस्नेहरूले खेतीपाती बाध्यताले गर्थे । युवा पिँढीले खेती–किसानीलाई बढी मिहिनेत र कम प्रतिफल आउने पेसाका रूपमा लिए ।

अब समयले कोल्टो फेरेको छ । कृषि तथा वनपैदावारमा सुनौलो भविष्य देखिँदै छ । निर्वाहमुखी कृषि व्यावसायिक बन्ने क्रममा छ । खाइपाइ आएको जागिर छाडेर व्यावसायिक कृषिमा लाग्नेहरू बढ्दै छन् । विदेशबाट फर्किने युवाले कृषि गर्न थालेको समाचार आउँछन् । ठुला व्यावसायिक घरानाले पनि कृषि र फलफूल खेतीमा करोडौँ लगानी गरेको सुनिन्छ । उद्योगमा जस्तै ठुलो लगानी कृषिमा पनि हुन थालेको छ । पढेलेखेका युवाले पनि कृषिमा भविष्य देख्नु सुखद पक्ष हो ।

पछिल्लो समयमा कृषिमा सकारात्मक माहोल सिर्जना भएको देखिन्छ । दशकभित्रै खाद्यान्न, तरकारी तथा फलफूलमा आत्मनिर्भरउन्मुख मात्र होइन, निर्यातको ढोका पनि खोलिने आधार बन्दै छ । अहिले पनि चिया, अलैँची, कफी, तरकारी, जडीबुटी, अदुवा, फलफूल निर्यात हुन्छ । राष्ट्र बैंकले बैंकहरूलाई कम्तीमा १५ प्रतिशत कर्जा कृषिमा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । जसले कृषि र वनपैदावारमा लगानीको भोल्युम बढ्दै छ ।

गुल्मी धुर्कोटका मेघनाथ अर्यालले ४०० मुरी धान फलाएपछि गाउँपालिकाले सम्मान गर्‍यो । धेरै सञ्चारमाध्यमका हेडलाइन बने । सायद विगतमा भए उनलाई ‘सामन्ती’ भनिन्थ्यो होला । अब कृषि सम्मानित पेसा बन्दै छ । किसान पनि सम्मानलायक बन्दै छन् । कृषिमा भएको लगानी र सफलताका कथा प्रमुख समाचार बन्दै छन् । सरकारले पनि सफल किसानलाई सम्मान गरेर उत्साहित बनाउन थालेको छ ।

अब गर्वसाथ भन्न सकिन्छ– ‘कृषिमा मेरो लगानी छ, म कृषिकर्म गर्छु ।’ ०८० को दशकभित्रै कृषि र वनपैदावारमा नेपाल स्वर्णिम युगमा प्रवेश गर्ने माहोल सिर्जना भएको छ । व्यावसायिक कृषि र वनपैदावारमा बढ्दै गइरहेको आकर्षणले त्यस्तो सम्भावना देखाउँछ । जसरी हामी दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्यौँ, त्यसरी नै अन्य कृषिजन्य वस्तुमा पनि आत्मनिर्भर हुनेछौँ । त्यो उपलब्धि अबको दशकमै हासिल हुनेछ । 

ठुला घरानाको उत्साहपूर्ण सहभागिता : दुगड परिवार सय वर्षभन्दा अघिदेखि कृषिमा संलग्न छ । मेरा पिता स्व. लुनकरण दुगडले मोरङमा सयौँ बिघा जमिन खरिद गरी खेतीपाती सुरु गर्नुभएको थियो । व्यापारिक पृष्ठभूमिका बुबालाई त्यो जमानामा कृषि कर्मप्रति सोख हुनु दुर्लभ थियो । हामी छोराछोरीले पनि आधुनिक कृषिलाई निरन्तरता दिइरहेका छौँ । हामीले उन्नत जातका फलफूल, धान, गहुँ र चन्दनका रुख लगाएका छौँ । हाम्रो परिवार मारबाडी व्यापारी पृष्ठभूमिको सबैभन्दा पुरानो कृषक हो । मैले हाइड्रोको जग्गामा फलफूल, अम्रिसो, चन्दन, अगरलगायत लगाइरहेको छु ।

दशकयता धेरै व्यवसायी कृषिमा संलग्न हुन थालेका छन् । व्यवसायी एवं राजनीतिज्ञ उमेश श्रेष्ठले कृषिमा ठुलो लगानी गरेका छन् । उनको जुम्ला र मुस्ताङमा ठुलो स्याउ फार्म छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग मिलेर तरकारी र फलफूल भण्डारण गर्न ठाउँ–ठाउँमा कोल्डस्टोर खोल्दै छन् । नेपालमा उत्पादित तरकारी र फलफूल भाटभटेनीका स्टोरमा बिक्री हुन्छ । अहिले कृषिमा जोडिने घराना दर्जनौँ पुगिसके । 

पवन गोल्यान, सुरज वैद्य, सुरेन्द्र गोल्छा, पवन सारडा, दीपक मलहोत्रा, ज्योति ग्रुप, मीनबहादुर गुरुङ, गिरीबन्धु, बुद्ध एयरका वीरेन्द्रबहादुर बस्नेतलगायतले तरकारी, फलफूल र फरेस्ट्रीमा ठुलो लगानी गरेका छन् । युवराज गुरुङसहितको टिमले मनाङमा दक्षिण एसियाकै ठुलो स्याउ फार्म खोलेको सुनेको छु । वाइन फ्याक्ट्री पनि सञ्चालनमा गर्छन् रे । नेता र कर्मचारी पनि कृषिमा सक्रिय हुन थालेका छन् । तत्कालीन पर्यटनमन्त्री लोकेन्द्रबहादुर विष्ट राजनीति छाडेर ड्रागन फ्रुट्समा जमेका छन् । कर्मचारी, नेता, वकिल, शिक्षक, बैंकर, वैदेशिक रोजगारीबाट फर्किनेहरू फलफूल, तरकारी, फरेस्ट्री, जडीबुटीजस्ता नगदे खेतीमा जोडिएका देखिन्छन् । यो समूहमा लगानीको अभाव छैन । बैंकबाट कर्जा लिएर पनि ठुलो लगानी गर्न सक्छन् । 

ड्रागन फ्रुट्स, किवी, एभोकाडोजस्ता महँगा फलफूल स्वदेशमै उत्पादन हुँदा उपभोक्ताले पनि सस्तोमा उपभोग गर्न पाएका छन् । फलफूल पसलमा मनाङ, मुस्ताङ र जुम्लाका स्याउ भेटिन्छन् । आयातित तरकारीभन्दा स्वदेशमै फलेको अर्गानिक तरकारीको माग बढ्दो छ । ठाउँ–ठाउँमा अर्गानिक तरकारी र स्वदेशी फलफूल बिक्री केन्द्र खुलेका छन् ।

कृषिमा असीमित सम्भावना : कोभिड महामारीपछि शाकाहारी र भेगानहरूको संख्या बढिरहेको छ । जसले अर्गानिक सब्जी, फलफूल, जडीबुटीका मसला उपभोग पनि अप्रत्याशित रूपमा बढाएको छ । अब कृषकका लागि सुखद भविष्य अगाडि छ । पाँचतारे होटेलमा स्वदेशमै उत्पादित तरकारी र फलफूलको माग बढ्दो छ । हाटबजार र सुपर मार्केटले बजार पनि बढाउँदै लगेको छ । सोख र निजी उपभोगका लागि लगाउने गरिएको फलफूल र तरकारी खेती व्यावसायिक बनेको छ ।

नेपालमा तीनचौथाइ भूभाग हिमाली र पहाडी छ । समथर उब्जनी भूमि एकचौथाइ मात्र छ । समथर भूमिमा कम मिहिनेतमै धान, गहुँ, उखुको राम्रो उत्पादन हुन्छ । पहाडी भेगमा खेतीपाती अत्यन्तै कम हुन्छ । खासमा उब्जनीका हिसाबले पहाड र हिमाली भूभाग राम्रो मानिँदैन । अहिले पनि पहाड र हिमालमा जग्गाको मूल्य अत्यन्तै कम छ । धान, गहुँ, उखु, दलहनका लागि सिँचाइ हुने समथर जमिन नै चाहिन्छ । तर, धान, गहुँजस्ता परम्परागत बालीबाट त्यति लाभ हुँदैन । नगदे बाली नलगाई कृषिबाट राम्रो आम्दानी गर्न सकिँदैन । 

अहिले कृषकहरू नगदे बालीतर्फ केन्द्रित छन्, जसले पहाडी र हिमाली भेगहरू वरदान साबित हुँदै छन् । महँगो मूल्य पर्ने फलफूल, अर्गानिक तरकारीदेखि जडीबुटीसम्मका नगदे बाली पहाड तथा हिमाली भेगमा उब्जिन्छन् । तराईको पानी जम्ने जमिनमा फल्ने भनेकै धान, गहुँ मात्र हो । उबडखाबड उब्जनी नहुने पहाड तथा हिमाली पाखा पखेराले राम्रो आम्दानी दिँदै छन् ।

मलको अभाव, अनियमित वर्षा र ससाना प्लटका कारण धान, गहुँ, मकैको व्यावसायिक खेती सम्भव देखिएको छैन । उन्नत बिउको पनि अभाव छ । जेनतेन बाली लगायो, मूल्य पनि पाइँदैन । जसले फलफूल आँप, केरा, तरकारी, आलुजस्ता नगदे बालीमा आकर्षण बढ्दो छ । खेतबारीका छेउ, पाखापखेरा, खेती नहुने बगरमा फलफूल, टिक, मलेसियन सालको रुख व्यावसायिक रूपमा रोपिँदै छ । यसले थोरै जमिनमा पनि धेरै प्रतिफल दिन सक्छ । उदाहरणका लागि, अहिले धानको मूल्य प्रतिकिलो ३० रुपैयाँ पर्छ, तर तरकारी र फलफूलको मूल्य प्रतिकिलो सय रुपैयाँभन्दा बढी पर्छ । फेरि अन्नबाली नउब्जिने उबखखाबड पाखामा पनि फलफूल र काठ लगाउन सकिन्छ । नियमित सिँचाइ पनि आवश्यक पर्दैन । बिस्तारै खाली जमिनको पनि अधिकतम उपयोग हुँदै छ । 

सम्भावना : उब्जनी नहुने भनिएका पहाड, चुरे र हिमाली क्षेत्रमा कोभिड महामारीपछि एकाएक सम्भावना बढेको छ । मध्यपहाडी क्षेत्रमा स्ट्रबेरी, अलैँची, चिया, एभोकाडो, ड्रागन फ्रुट्स, किवी, मेवा, अनार, जुनार, नासपाती खेती हुन सक्छ । हिमाली क्षेत्रमा स्याउ, आलु र जडीबुटीको राम्रो सम्भवना छ । पहिला एक बाली लगाउने चलन थियो । पछिल्लो एक/डेढ दशकदेखि दुई/तीन बाली लगाएर लाभ लिने किसान बढ्दै छन् ।

हिजो पहाड र हिमाली भेगको उत्पादन बजारमा पुर्‍याउन सडक पुगेकै थिएन । जुम्लाको स्याउ बजारमा पुर्‍याउन नसकेर कुहिन्थ्यो । अहिले पहाड र हिमालका उत्पादन बजारमा पुर्‍याउन सडक र गाडी पुगिसकेका छन् । अझ हाइड्रोपावर निर्माण गर्न बनाइएका सडकले पहाड र हिमालका कुनाकाप्चासम्मै सडकको पहुँच पुगेको छ ।

नेपालमा केही पकेट क्षेत्र पनि विकास भएका छन् । हावापानीअनुसार नुवाकोटमा स्ट्रबेरी, गुल्मी, पाल्पा, स्याङ्जामा कफी, धनकुटा, पोखरा र स्याङ्जामा सुन्तला, तेह्रथुममा ठुलो अलैँची, मुस्ताङ, मनाङ र जुम्लामा स्याउ, इलाम, झापा र ताप्लेजुङमा चिया स्वादिलो फल्छ । उपभोक्ताले स्वादिलो मानिदिँदा कृषकले पनि उचित मूल्य पाउँछन् । नेपालको उच्च भेगमा उत्पादित फसल विदेशमा अत्यन्तै रुचाइन्छ । अहिले पनि केही कृषि उत्पादन एसिया, युरोपदेखि अमेरिकासम्मै पुग्छन् । कृषि प्रशोधन उद्योग पनि बढ्दै छन् । मनाङ, मुस्ताङदेखि जुम्लासम्म स्याउको रक्सी बनाउने उद्योग खुलिसके । इटहरीमा टासी रिजालले ड्र्युक ब्रान्डमा जाम र जेली उत्पादन गरिरहेका छन् ।

जग्गाको बाहुल्य : धेरै युवा बाहिरिँदा जमिन बाँझो थियो । वास्तविक किसानसँग खेतीपाती गर्ने जग्गा र धन थिएन । जसले कृषिमा फड्को मार्न सकिएको थिएन । अहिले विदेशबाट फर्किने र व्यावसायिक घरानाहरू कृषिमा होमिँदै छन् । चक्लाबन्दीमा खेतीपाती हुन थालेको छ । वरिपरिका किसानलाई पनि खेतीपाती गर्न आकर्षित गरिँदै छ । पछिल्लो समय सामूहिक खेतीमा पनि आकर्षण बढ्दै छ । पहाडका खाली जमिनमा जडीबुटी, तरकारी, फलफूल खेती थालिएको छ । हाइड्रोका हजारौँ रोपनी खाली जग्गामा फलफूल खेती, टिक, अगर, चन्दन खेती गर्न थालिएको छ । हामी आफैँले हाइड्रोको जग्गामा सुन्तला, एभोकाडो, अम्रिसो लगाएका छौँ । केही जग्गामा चन्दनको रुख लगाउँदै छौँ । यसबारे पहिले सोचिएकै थिएन ।

फरेस्ट्रीको विकास : अहिले खाली र पाखो जग्गामा अगर, चन्दन, मलेसियन साल, जडीबुटीलगायतको व्यावसायिक वृक्षरोपण हुँदै छ । गाँजाखेती पनि खुल्ने सम्भावना बढ्दै छ । सामुदायिक वनमा टिमुर, लप्सी, तेजपत्ता, अम्रिसो, बयर, निम्बु, जडीबुटीको सम्भावना बढी देखिन्छ । यी वनपैदावारले चार/पाँच वर्षभित्र आम्दानी दिन थाल्नेछन् । हाम्रो हाइड्रोपावर खाली जग्गा र वनक्षेत्रमा पाँच लाख बोटविरुवा लगाउने योजना छ ।

यही दशकमा चन्दन निकासी ठुलो भोल्युममा हुने सम्भवना छ । चन्दन निकासी विश्वव्यापी खुला गरिएको छ । तेल, अगरबत्ती, चन्दनको ह्यान्डिक्राफ्ट मूर्ति अर्बौँको निकासी हुनेछ । टिकका फर्निचर र प्लाइउड निकासी गर्न सकिन्छ । पछिल्लो समय प्लाइउडको निर्यात पनि बढ्दै छ । गत आर्थिक वर्षमा मात्रै पौने सात अर्बको प्लाइउड निर्यात भएको भन्सार विभागको तथ्यांक छ । महँगो मूल्य पर्ने अगरको तेलको माग अरबी मुलुकमा धेरै छ । भारत सरकारले कृषिको उन्नत बिउ, बोटबिरुवा, प्रविधिको विकास, अर्गानिक कृषि उत्पादनमा जोड दिएकाले उताबाट उन्नत बिउ र बिरुवा सजिलै आइरहेको छ । पहिला दुर्भाग्य मानिएको उबडखाबड सिँचाइ नपुगेका र पानी नजम्ने जमिन बिस्तारै वरदान बन्दै छ । पानी जम्ने जमिनमा धानबाहेक अरू केही फल्दैन । प्रकृतिले हामीलाई भविष्य सोचेर वरदानस्वरूप यस्तो भौगोलिक बनोट दिएको होला ।

सारांश : पछिल्लो १० वर्षयता सडक सञ्जाल विस्तार, फोन, इन्टरनेट, टेलिभिजन, बैंक, अस्पताल, बिजुली, कृषि कर्जा, बोर्डिङ स्कुलको बढ्दो पहुँचले धेरथोर भए पनि युवा गाउँमै अडिन थालेका छन् । कर्मचारी, नेतादेखि व्यवसायीसम्म गाउँ पस्न थालेका छन् । देशमा आर्थिक क्रान्ति ल्याउन हाइड्रो र पर्यटनभन्दा पनि कृषिको योगदान बढी हुने देखिन्छ । आफ्नै देश र आफ्नै पौरखमाथि विश्वास गरौँ । निराशा र नकारात्मक भावना हटाई देश विकासमा जुटौँ । आफ्नै देशमा ‘इज्जत र सम्मान’ साथ बाँच्न सक्ने वातावरण हामीले नै बनाउन सक्छौँ । 

(पुराना व्यवसायी दुगड ऊर्जा उद्यमी, कृषक र लेखकसमेत हुन्)