गृह मन्त्रालयअन्तर्गतका ६ सहित १२ जना उपसचिवको सरुवा भएको छ। बुधबारको गृह मन्त्रालयको निर्णयअनुसार उपसचिवहरूको सरुवा र पदस्थापना भएको हो।
सरुवा पदस्थापन सूचीअनुसार ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ भने गृहका चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। त्यस्तै, केन्द्रीय कारागारका जगन्नाथ देवलका कारागार प्रशासक कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरेर त्यहाँ गृहका अञ्जन न्यौपानेलाई पठाइएको छ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई गृह ल्याएर गृहकी गीता घिमिरेलाई ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। चितवनका सुवासकुमार लामिछानेलाई सुनसरीको झुम्का कारागार सरुवा गरिएको छ भने त्यहाँका ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।
गृहका खगेन्द्र सुवेदीलाई धनकुटामा सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ, त्यहाँका सहदेव रायमाझीलाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ। गृहका चूडामणि शर्मा गौतमलाई चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ, साथै गृहकै अर्का उपसचिव चेतराज बराललाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।
गृहमा अझै आधा दर्जनभन्दा बढी उपसचिव जिम्मेवारीविहीन छन्।