७० अर्ब लागतको बुढीगण्डकीमा ७५ प्रतिशत लगानी बैंक ऋणबाट जुटाउने तयारी, आगामी तीन महिनाभित्र फाइनान्सियल क्लोजर गर्ने प्रवर्द्धक टाइम्स इनर्जीको गृहकार्य
लगानी बोर्डको ६०औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब लगानीका लागि स्वीकृति प्रदान गरेको हो ।
प्रवर्द्धक टाइम्स इनर्जीले तीन महिनाभित्र फाइनान्सियल क्लोजर गर्ने गृहकार्य अघि बढाएको छ । टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ ।
गोरखामा बन्ने परियोजना अर्धजलाशययुक्त हो । कम्पनीले कुल लगानीमध्ये ५२ अर्ब ५० करोड रुपैयाँ बैंकको ऋणमार्फत जुटाउन लागेको छ । बोर्ड बैठकले एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी जुटाउने स्वीकृति दिने निर्णय पनि गरेको छ ।
बैठकले तीन सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको पनि म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता सात सय ५० मेगावाटबाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्लाजडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको पनि निर्णय गरिएको छ ।
प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरूले समन्वयमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सिर्जना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न निर्देशन पनि दिएका छन् । बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २२ असोजको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरेर सरोकारवालासँग छलफल भइरहेको जानकारी दिएका थिए ।