मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
२o८१ मङ्सिर १४ शुक्रबार १o:३३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीबाट ४५ वर्षदेखि सास्ती खेपिरहेका स्थानीयलाई पुल शिलान्यासले दिलायो खुसी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार १o:३३:oo

१ कात्तिक ०७९ मा मुसीकोट नगरपालिका– ६, भुवाचिदीका नरबहादुर गुरुङको लु.१ज ३४३२ नम्बरको जिप स्थानीय डहरे खोलाले बगायो । २६ लाख ऋण गरेर केही समयअघि किनेको जिप खोलामा बगेसँगै उनी अहिले ऋणको भारमा छन् भने गाडी चलाएर जीविकोपार्जन गर्ने सपना पनि सँगै बगेको छ ।

बागलुङ जान बुटवलबाट आएको मालवाहक लु.१ख ७४०६ नम्बरको ट्रक पनि डहरे खोलाले बगाएको थियो । ०३२ देखि डहरे खोलामा पहिरो खस्न थालेदेखि स्थानीयलाई सुरक्षित बसोवासको चिन्ता थपिएको छ भने सो बाटो भएर आवतजावत गर्ने सबैलाई सुरक्षित यात्रा गर्नै मुस्किल हुने गरेको छ ।

रिडी–रुद्रवेणी–वामीटक्सार सडक विस्तार हुँदाका बखत सो क्षेत्रमा सानो पहिरो जाने गरेको थियो, खासै जनधनको क्षति हुँदैनथ्यो, तर अहिले पहाडको ठुलो ढिस्का नै खस्न थालेको सत्यवती गाउँपालिका–५ का ६७ वर्षीय खगेश्वर ढकालले बताए । ‘सडक विस्तार गर्दा करिडोरको विकल्प खोजिएको हो । तर, कसैले नसुनेका कारण सयौँ सवारीसाधन र नागरिकले वर्षौँदेखि सास्ती खेपिरहेका छौँ,’ उनले भने ।

पहिरो खस्ने समस्याबाट ४५ वर्षदेखि सास्ती खेपिरहेका स्थानीय अहिले डहरे खोलामा पुल निर्माणका लागि केही समयअघि शिलान्यास भएपछि खुसी छन् । तर, छिटो काम नहुने हो कि भन्ने चिन्ता पनि लागिरहेको सत्यवती– ६ का ५२ वर्षीय दुर्गा भण्डारीले बताए । ‘लामो समयको सास्तीपछि योजना समावेश भएकाले सबैले खबरदारी गरेर भए पनि समयमै पुल निर्माणका लागि दबाब दिनेछौँ,’ भण्डारीले भने । 

गुल्मी १ बाट निर्वाचित सांसद डा. चन्द्र भण्डरीले केही समयअघि पुल निर्माणको शिलान्यास गर्दै चाँडै काम सक्न सबैले पहल गर्नुपर्ने बताएका थिए । 

ठुलो संघर्षले योजना समावेश गरेको र जनताको सास्तीलाई हेरेर समयमै काम गर्न निर्माण व्यवसायीलाई निर्देशन पनि दिए । रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार पुल प्याकेजमा निर्माण हुँदै छन् । एउटै ठेक्कामार्फत डहरेसहित नादेवा, भार्से र गिदी खोलामा पुल निर्माणको सम्झौता भएको छ । राजेश्वरी–लुम्बिनी जेभीले पुल निर्माणको सम्झौता गरेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए । 

सम्झौताको डेढ वर्षपछि शिलान्यास
२२ जेठ ०८० मा पुल निर्माणको सम्झौता भएको थियो । कस्तो पुल बनाउने भन्ने डिजाइन निर्माण व्यवसायीले नै गर्नुपर्ने भएकाले ढिला काम सुरु भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए । २२ करोड ३१ लाखमा सम्झौता भएको चारवटै पुल आगामी २२ साउनभित्र निर्माण सक्नुपर्ने सर्त छ । तर, अहिलेसम्म चारमध्ये एउटाको मात्रै काम सुरु भएको छ । गौतमका अनुसार डहरे र भार्सेमा ४०–४० मिटर तथा नादेवा र गिदी खोलामा २०–२० मिटर लम्बाइको पुल बन्नेछ । ‘प्री स्ट्रेस्ड’ प्रविधिमा निर्माण हुने सबै पुलको चौडाइ फुटपाथसहित ११ मिटर रहेको छ ।