मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १४ शुक्रबार
  • Friday, 29 November, 2024
जोसेफ ई. स्टिग्लिज
२o८१ मङ्सिर १४ शुक्रबार ११:o२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

डेमोक्रेटको एक मात्र विकल्प : नवउदारवादको अन्त्य

Read Time : > 2 मिनेट
जोसेफ ई. स्टिग्लिज
नयाँ पत्रिका
२o८१ मङ्सिर १४ शुक्रबार ११:o२:oo

४५ वर्षको नवउदारवादी व्यवस्थाका कारण अमेरिकी जनताले संस्था र सरकारमाथिको विश्वास गुमाइसकेका छन् 

अमेरिकाको भविष्य र विश्व राजनीतिमा डोनाल्ड ट्रम्पको विजयले निम्त्याउने प्रभावबारे बहस छेडिएको छ । अमेरिकामा  विभाजनकारी र अयोग्य व्यक्ति राष्ट्रपतिका रूपमा पुनः निर्वाचित भएका छन् । राजनीतिक परिदृश्यमा यो परिवर्तन किन आयो ? के डेमोक्रेटिक पार्टी धेरै वामपन्थी भएर मध्यमार्गी अमेरिकीबाट टाढा भएको हो वा पार्टीले पैरवी गरेको दशकौँको नवउदारवादी नीतिले असफलता निम्त्याएको हो ? वास्तवमा ४० वर्षको नवउदारवादले असमानता बढाएको छ, मध्यम वर्गको आम्दानी ठप्प पारेको छ र आत्महत्या, लिभर सिरोसिस, लागुपदार्थ दुर्व्यसनले निम्त्याएको ‘निराशाजनित मृत्यु’जस्ता समस्या बढाएर अमेरिकी सपना समाप्त गर्दै आएको छ । बाइडेन र ह्यारिसले औद्योगिक नीतिको समर्थन गर्दै नवउदारवादबाट आफूलाई टाढा राख्न प्रयास गरे पनि यी दुवैको पार्टी संस्थापनसँगको सम्बन्धले यिनको लोकप्रियतामा असर परेको हुन सक्छ ।

आर्थिक वृद्धि निश्चय नै महत्वपूर्ण छ, तर मासिक रोजगारी एवं मुद्रास्फीति तथ्यांकलाई ऐतिहासिक सन्दर्भमा बुझ्न भने आवश्यक छ । बाइडेन प्रशासनले अमेरिकी अर्थतन्त्रलाई जी–७ मुलुकसँग तुलना गर्दै बलियो देखाउन प्रयास गरे पनि यो पर्याप्त थिएन । अमेरिकी जनताले डेमोक्रयाटले वित्तीय क्षेत्रलाई नियमनमुक्त बनाएको (क्लिन्टनकाल), मजदुरलाई महामन्दीको भार थोपर्दै बैंकलाई पोसेको (ओबामाकाल) र व्यापार बढ्दा त्यसबाट आममान्छेलाई आर्थिक लाभ हुन्छ भन्ने ‘ट्रिकल–डाउन’को सिद्धान्तमा आधारित विश्वव्यापीकरणलाई प्रोत्साहन गरेका कदमलाई राम्रैसँग सम्झिरहेका छन् । डेमोक्रयाटले मन्दी/मुद्रास्फीतिको मारमा परेकाको पीडा महसुस गरेको दाबी गर्दै आए पनि यो सतही छ, जब कि रिपब्लिकनले यस्ता कुनै दाबी गरेका छैनन् । आर्थिक अस्थिरता र सामाजिक अवनतिको डरले ग्रस्त लाखौँ अमेरिकी मतदाताले ‘सत्तासँग बदला लिन’ र ट्रम्प आफ्नो पक्षमा भएको ठानेर मतदान गरेका छन् ।

तर, ट्रम्प जनताका पक्षमा भने छैनन् । ट्रम्पको पहिलो कार्यकाल र सन् २०२४ को चुनावी अभियानले उनले सर्वसाधारण अमेरिकीले चाहेको नीति लागू गर्ने कुनै मनसाय नराख्ने स्पष्ट झल्काएको छ । उनी अर्बपति र ठुला कम्पनीका लागि कर कटौतीका पक्षमा छन्, किफायती स्वास्थ्य सेवासम्बन्धी ओबामा केयर भनेर चिनिने अफोर्डेबल केयर ऐन समाप्त गर्न चाहन्छन् । त्यसैगरी, उनी व्यापक भन्सार वृद्धिका पक्षपाती हुन् । यसको अर्थ अमेरिकी उपभोक्ता र व्यवसायीमाथि करको भार थपिनेछ । यी भन्सार शुल्कमा सम्भवतः चुनावी चन्दाबाट खरिद गरिएका अनियिमततापूर्ण काममा भने छुट हुनेछन् र यसले स्वभावतः प्रतिशोधात्मक कदम चाल्न प्रेरित गर्नेछ, जसले अमेरिकीमाझ रोजगारीका अवसर घट्नेछन् ।

ट्रम्पका नीतिले ठुलो बजेट घाटा निम्त्याउनेछ, जसले उच्च ब्याजदर र भविष्यमा लगानी घटाउनेछ । ‘इन्फ्लेसन रिडक्सन एक्ट’ (मुद्रास्फीति न्यूनीकरण ऐन) र ओबामा केयर खारेज गरेमा अमेरिकी जनताको स्वास्थ्य सेवामा न्यून पहुँच हुनेछ र बढी खर्चको सामना गर्नुपर्नेछ । ट्रम्पको अर्थनीति नवउदारवादभन्दा पनि खराब छ । कमसेकम नवउदारवादले बजार विकृत नभएको खण्डमा प्रतिस्पर्धाको प्रत्याभूति गर्छ, तर ट्रम्पको नीतिले सबैभन्दा माथि धनलाई प्राथमिकता दिन्छ र शक्तिशाली तप्काका लागि काम गर्छ । ४५ वर्षको रिपब्लिकन र नवउदारवादी डेमोक्रयाटिक व्यवस्थाका कारण अमेरिकी जनताले संस्था र सरकारमाथिको विश्वास गुमाइसकेका छन् । 

ट्रम्पको विजयमा ठुलो भूमिका ‘सांस्कृतिक युद्ध’ले खेलेको थियो । उनको चुनावी अभियानले अमेरिकी जनताले बिहान–बेलुकाको गर्जो टार्न नसकेका वेला डेमोक्रेटिक पार्टीले लैंगिकता, नश्ल/जाति र अन्य सामाजिक मुद्दामा अधिक ध्यान दिएको भाष्य निर्माण गरेको थियो । धेरै मतदाताले ट्रम्पलाई परम्परागत सामाजिक पदानुक्रम र भूमिकामा भएको अस्थिर परिवर्तनलाई ढिलो गर्ने वा उल्ट्याउने व्यक्तिका रूपमा पनि हेरिसकेका थिए । अन्यत्रका राष्ट्रवादीले झैँ ट्रम्पले कहिले ‘आप्रवासन’ वा ‘अन्यायपूर्ण व्यापार’ जस्ता भाष्य फलाकेर अमेरिकाको समस्याका लागि बाह्य शक्तितर्फ जिम्मेवार ठहर्‍याउँछन् । यति भन्दै गर्दा ‘आप्रवासन’ वा ‘अन्यायपूर्ण व्यापार’ जस्ता मामिलालाई उचित ढंगले व्यवस्थापन गरिएको छैन । यी समस्यालाई लिएर ट्रम्पको प्रस्तावित समाधानले अमेरिकी अर्थतन्त्र र विश्वका लागि विनाशकारी परिणाम निम्त्याउनेछ । उनका समर्थकले यो पाटोलाई कत्तिको बुझेर मतदान गरे भन्ने स्पष्ट छैन । 

डेमोक्रयाटलाई यो चुनावी नतिजाले नवउदारवादलाई त्यागेर फ्र्यांकलिन डी. रुजबेल्ट र लिन्डन बी. जोन्सनको कार्यकालमा लागू भएका प्रगतिशील मूल्यतर्फ फर्कनुपर्ने सन्देश दिन्छ । पार्टीले सबैलाई शिक्षा एवं अवसर दिने समाजका लागि आवश्यक नयाँ दृष्टिकोण प्रस्तुत गर्न आवश्यक छ, जहाँ बजारले राम्रो उत्पादन गर्ने प्रतिस्पर्धा गरून् जसले जीवनस्तरमा सुधार ल्याओस् । पार्टीले श्रमिक एवं ग्राहकलाई शोषण गर्ने र वातावरणलाई दोहन गर्ने नवउदारवादी उपायलाई त्यागेर सेवा, ज्ञान, नवीनता र हेरचाह केन्द्रित अर्थतन्त्रलाई अँगाल्नुपर्छ । 

यो नयाँ दृष्टिकोण र ह्यारिसको चुनावी अभियानले प्रस्तुत गरेका टुक्रे सुधार अर्थात् शिक्षा बजेटमा रकम बढाउने, पहिलोपटक घर खरिद गर्न केही डलर सहायता दिने योजनामा ठुलो भिन्नता छ । एक सशक्त कार्यक्रमको रूपरेखा तयार गर्नु सजिलो हुनेछैन र यसलाई कार्यान्वयन गर्न झनै सजिलो हुनेछैन । तर, अमेरिकाको भविष्य यो नयाँ अर्थनीतिको सफल कार्यान्वयनमा निर्भर छ ।

(अर्थशास्त्रका नोबेल पुरस्कार बिजेता स्टिग्लिज कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट