Skip This
जसपा नेपालका दर्जनौँ नेता र निर्वाचित वडासदस्य जसपामा प्रवेश
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
२o८१ कार्तिक १० शनिबार १९:१२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा नेपालका दर्जनौँ नेता र निर्वाचित वडासदस्य जसपामा प्रवेश

उपेन्द्र यादवले सत्ता लोलुपताका कारण पटक-पटक मधेसलाई धोका दिएकाे खानेपानी मन्त्री यादवकाे आराेप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १९:१२:oo

पर्सा जिल्लामा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)भित्र हाल राजनीतिक हलचल उत्कर्षमा पुगेको छ। जसपा नेपालको नेतृत्वसँग असन्तुष्टि जनाउँदै दर्जनौँ स्थानीय नेता, पदाधिकारी र निर्वाचित जनप्रतिनिधि जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

शनिबार विन्दवासिनी गाउँपालिकाका अध्यक्ष रमेश साह तेलीको नेतृत्वमा ४० सदस्यीय गाउँपालिका कमिटी जसपा नेपाल परित्याग गरी जसपामा सामूहिक रूपमा प्रवेश गरे। यससँगै अन्य सयौँ नेता तथा कार्यकर्ताहरू पनि जसपामा समाहित भएका छन्। गाउँपालिका कमिटीले सामूहिक निर्णय गर्दै जसपामा सामेल हुनुलाई पार्टीभित्रको असन्तुष्टि र नयाँ राजनीतिक अवसर खोजीको प्रतीक मानिएको छ।

विन्दवासिनी गाउँपालिकाका साथै पर्सागढी नगरपालिका वडा नम्बर-४ का चारजना निर्वाचित वडासदस्य राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवीले जसपा नेपाल छोडेर जसपामा प्रवेश गरेका छन्।

यस्तै, वीरगन्ज महानगरपालिका वडा नम्बर-११ का वडासदस्य जगन महतोले पनि पार्टी परिवर्तन गर्दै जसपामा सामेल भए। उनीहरूले जसपा नेपाल नेतृत्वले सत्ता स्वार्थ र जनआकांक्षालाई धोका दिएको आरोप लगाउँदै पार्टी परित्याग गरेको बताएका छन्।

संघीय खानेपानीमन्त्री प्रदीप यादवले नवप्रवेशीहरूलाई स्वागत गर्दै, पार्टीको आधार अझ सुदृढ भएको बताए। उनले भने, 'जसपा नेपालबाट निराश भएका नेता तथा कार्यकर्ताहरू अहिले नयाँ विकल्पको खोजीमा हुनुहुन्छ र यो विकल्प जसपा बनेर आएको छ।' उनले नवप्रवेशीहरूलाई जनताको हक र समृद्धिको लागि थप जिम्मेवारीका साथ काम गर्न प्रेरित गरे।

जसपा नेपालका उपमहासचिवसमेत रहेका मन्त्री यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्तिलाई जनआकांक्षासँग मेल नखाने बताए। 'सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक/पटक मधेशका जनतालाई धोका दिएको सर्वविदितै छ,'  मन्त्री यादवले भने, 'हामी त्यस्तो छैनौँ, हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौँ। जसपा नै अबको विकल्प हो।'

पर्सा क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री यादवले जसपामा भइरहेको विस्तारलाई आफूले पार्टीको संगठनात्मक सुदृढीकरणको संकेतका रूपमा लिएको बताए। उनले विन्दवासिनी गाउँपालिका तथा अन्य क्षेत्रबाट जसपामा भइरहेको यो परिवर्तनले पार्टीलाई सकारात्मक दिशा दिनुका साथै पार्टीको जनाधार विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

'यो केवल सुरुवात हो, हामी पर्सा र अन्य स्थानमा पनि यो अभियानलाई निरन्तरता दिनेछौँ,' उनले भने। जसपाको भविष्यलाई उज्ज्वल बनाउन र जनताको हकहितमा इमानदार प्रतिबद्धता कायम राख्न नवप्रवेशीलाई प्रेरित गर्दै मन्त्री यादवले पार्टीमा इमानदार नेता तथा कार्यकर्ताहरूलाई जसपामा सामेल हुन आह्वान पनि गरे।

सामूहिक पार्टी प्रवेश कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष एवं बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, मधेश प्रदेशका पूर्वप्रदेश सभा सदस्य जनत अन्सारीलगायतको पनि सहभागिता रहेको थियो।