१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार १३:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १३:२३:oo

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् ।  जम्मा ७९  स्थानीय तहमा ७१८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा ११५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्यचौकी छन् । यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । 

मुगुमा एक जिल्ला अस्पताल छ भने २४ वटा स्वास्थ्यचौकी  छन् । यहाँका चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुन सकेका छैनन्। हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । यहाँ सात स्थानीय तह छन्। 

जुम्लामा स्वास्थ्यचौकीको संख्या २९ छ । प्राथमिक स्वास्थ्य केन्द्र एउटा छ । यहाँ जिल्ला अस्पताल छैन । संघीय सरकारमातहतको कर्णाली स्वास्थ्य प्रतिष्ठान सञ्चालनमा छ । जसले कर्णालीमा स्वास्थ्य उपचार सहज बनाएको छ । यहाँ आठ स्थानीय तह छन् ।

कालीकोटमा २७ स्वास्थ्यचौकी र जिल्ला अस्पताल एक रहेको छ। नौ स्थानीय तहमध्ये पाँचवटामा प्राथमिक अस्पताल छन्। दैलेखमा प्राथमिक अस्पतालको संख्या चार रहेको छ भने स्वास्थ्यचौकीको संख्या ५५ छ । यहाँ ११ वटा स्थानीय तहमा चारवटा प्राथमिक अस्पताल छन् । जाजरकोटका सात स्थानीय तहमा तीन प्राथमिक अस्पताल र ३० वटा स्वास्थ्यचौकी रहेको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए।

रुकुम पश्चिममा सामान्य अस्पतालको संख्या एक रहेकोमा आधारभूत अस्पतालको संख्या चार रहेको छ । एक जिल्ला अस्पताल छ । निजी अस्पतालको संख्या चार छ । यहाँ ६ स्थानीय तह छन् । १० स्थानीय तह रहेको सल्यानमा प्राथमिक अस्पतालको संख्या दुई  र स्वास्थ्यचौकीको संख्या ४४ छ । 

सुर्खेतमा एक कोभिड अस्पताल छ। एक सेकेन्डरी अस्पताल, एक जनरल, एक प्राथमिक, ४७ स्वास्थ्यचौकी र चार निजी अस्पताल छन् । तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र छन्। सुर्खेतमा नौ स्थानीय तह छन् । 

२१ प्राथमिक अस्पताल रहेको कर्णालीमा ३३० वटा स्वास्थ्यचौकी छन्। सात जिल्ला अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्र छन् । ४८ स्थानीय तहमा अझै आधारभूत अस्पताल निर्माण हुन सकेका छैनन्। भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल निर्माण हुन नसकेको जनाइएको छ। जसका कारण सर्वसाधारणले स्वास्थ्य उपचारको सहज सेवा प्राप्त गर्न सकेका छैनन् ।