१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ५ सोमबार
  • Tuesday, 22 October, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ कार्तिक ५ सोमबार o७:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१४ बैंकको नाफा बढ्यो, ६ को घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ५ सोमबार o७:५९:oo

चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा २० वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष ०८०/८१ को पहिलो दुई महिनामा बैंकहरूले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । 

गत वर्षको तुलनामा यो वर्ष नाफा बढी कमाउनेमा १४ वाणिज्य बैंकहरू छन् । राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे  बैंक, लक्ष्मी–सन्राइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, प्रभु बैंक र सानिमा बैंकको खुद नाफा बढेको छ । 

असल प्रकृतिका कर्जामा नेपाल राष्ट्र बैंकले अनिवार्य गरेको कर्जा नोक्सानी व्यवस्थामा १.२ प्रतिशतबाट १.१ प्रतिशतमा झारेसँगै बैंकहरूको नाफामा स्वाभाविक सुधार देखिएको बैंकरहरूको भनाइ छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले पछिल्लो समय कर्जा असुलीमा भइरहेको प्रगतिले बैंकहरूको नाफामा सुधार देखिएको बताए । उनले भने, ‘असल कर्जामा राख्नुपर्ने प्रोभिजनिङ दर १.२ प्रतिशतबाट १.१ प्रतिशतमा झारिएको छ । चालू आवको पहिलो त्रैमासमा सरकारले ठेकदारको भुक्तानी पनि गरेको थियो । त्यसले पनि बैंकहरूको कर्जा असुलमा सहयोग पुगेको छ । त्यसले खराब कर्जा घटाएको छ । बैंकहरूको आम्दानी पनि बढेको छ । यी यस्ता कारण नाफा बढेको हो ।’

 १४ बैंकमा कसको नाफा कति बढ्यो ?
चालू आवको दुई महिनामा सबैभन्दा बढी खुद नाफा वृद्धि कृषि विकास बैंकले गरेको छ । यो बैंकको नाफा २७ करोड १४ लाख रुपैयाँले बढेको छ । पोहोर भदौसम्म ६१ करोड ५६ लाख नाफा कमाएको यो बैंकले चालू आवको सोही अवधिमा ८८ करोड ७० लाख रुपैयाँ बढी नाफा कमाएको छ । नेपाल एसबिआई बैंकको खुद नाफा २६ करोड नौ लाखले बढेको छ । पोहोर २७ करोड २९ लाख नाफा कमाएकोमा यसपालि ५३ करोड ३९ लाख कमाएको छ ।

प्रभु बैंकको खुद नाफा २४ करोड ९० लाखले बढेर ९१ करोड ३२ लाख पुगेको छ । सानिमा बैंकको खुद नाफा १७ करोड ७१ लाखले बढेर ६८ करोड ९२ लाख रुपैयाँ कायम भएको छ । सिटिजन्स बैंकको खुद नाफा १४ करोड ६६ लाखले बढेर ५८ करोड ९८ लाख र प्राइम बैंकको १३ करोड ८१ लाखले बढेर ९७ करोड ४६ लाख पुगेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १२ करोड १७ लाखले बढेर ६० करोड ६२ लाख र एभरेष्ट बैंकको खुद नाफा ११ करोड २९ लाख रुपैयाँले बढेर ८२ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । एक अर्बभन्दा बढी नाफा आर्जन गर्नेमध्ये नबिल बैंकको मात्रै नाफामा वृद्धि भएको छ । नबिल बैंकको नाफा नौ करोड ६३ लाख रुपैयाँले बढेर एक अर्ब ६६ करोड आठ लाख रुपैयाँ पुगेको छ । लक्ष्मी–सन्राइज, सिद्धार्थ, माछापुच्छ«े, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ । 

 ६ बैंकको नाफा घट्यो
एनआइसी एसिया बैंकको नाफामा सबैभन्दा ठूलो गिरावट आएको छ । यो बैंकको नाफा २२ करोड २९ लाख रुपैयाँले घटेर ५७ करोड ७५ लाख रुपैयाँमा खुम्चिएको छ । ग्लोबल आइएमई बैंकको नाफा १८ करोड ९६ लाख रुपैयाँले घटेर एक अर्ब ५६ करोड ६१ लाखमा कायम छ । नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, कुमारी र नेपाल बैंकको नाफा सामान्य खस्किएको छ ।