१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार १३:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुबईको जागिर छाडेर नेपालमै कागती खेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १३:५६:oo

नवलपुरको कावासोती नगरपालिका– १७ गोछडाटारनिवासी सागर लम्साल विदेशको जागिर छाडेर अहिले आफ्नै घरमा एक बिघा क्षेत्रफलमा गरेको कागती खेतीमा रमाएका छन्। दुई वर्ष अगाडि लम्सालले एक बिघामा तीन सयभन्दा बढी सुन कागती लगाएकोमा यस वर्षबाट उत्पादन दिन थालेको छ।

कागती खेती गर्न सजिलो भएको र नगदे बालीसमेत भएकाले अन्य खेतीबाट भन्दा राम्रो आम्दानी भएको अनुभव सागर लम्सालले सुनाए। दुई वर्षको बिचमा करिब १४ लाख लगानी गरेका लम्सालले अर्को वर्षसम्म लगानी उठाउने अनुमान रहेको बताए। सुन कागतीको बजार निकै राम्रो रहेकाले बिक्रीको पनि समस्या नरहेको र अहिले उत्पादित कागती गाउँघरकै पसलमा बिक्री गरेर सकिने गरेको बताए।

पछिल्लो तीन–चार महिनामा उनले १४ क्विन्टलभन्दा बढी कागती बिक्री गरिसकेका छन्। लम्सालले भने, ‘मैले दुईपटक मात्रै काठमाडौं पठाएको छु। त्यसयता गाउँघरकै पसलहरूमा माग पुर्‍याउन धौधौ भएको छ। कावासोतीकै तरकारी मन्डीसम्म पनि पुर्‍याउन पाएको छैन।’

लम्सालका अनुसार अहिले सुन कागती गाउँघरमै प्रतिकिलो १३५ रुपैयाँका दरले बिक्री भइरहेको छ। कागती नगदे र बहुवर्षीय बाली हो। यसबाट २० देखि २५ वर्षसम्म उत्पादन लिन सकिने भएकाले सुरुमा लगानी धेरै भए पनि पछि आम्दानी राम्रो हुने गर्छ।

लम्सालले भने, ‘यो बहुवर्षीय बाली हो। पानी धेरै भए कटाउन मिल्ने खालको खेतबारीमा लगाउँदा उपयुक्त हुन्छ। बहुवर्षीय बाली भएकाले सुरुको दुई–तीन वर्षजति लगानी भयो, त्यसपछि कम्तीमा २० वर्षसम्म नियमित आम्दानी लिन सकिन्छ।’ करिब ६ वर्ष नेपाल आर्मीमा र त्यसपछि करिब १३ वर्ष दुबई गरेर १९ वर्षे जागिरेजीवन छाडेर कावासोती– १७ का सागर लम्साल कागती खेतीमा लागेका हुन्। विदेशमा बसेर काम गर्नुभन्दा यहाँ घरपरिवारसँग बसेर आफ्नै बारीमा आफ्नै ढंगले काम गर्नुको मज्जा छुट्टै भएको लम्सालले बताए।

उनले भने, ‘सुरुसुरुमा विदेशबाट आएकाले के काम गर्छ र भनेर सबैले नपत्याउने गरे पनि आफूले एक मनले गरेपछि सफल भइँदो रहेछ। विदेशमा भन्दा यहाँ घरपरिवारसँग सुखदुःख बाँडेर काम गर्नुको आनन्द बेग्लै हुँदो रहेछ।’ सुन कागती पानी नजम्ने ठाउँमा लगाउनु उपयुक्त हुन्छ । सुन कागतीका लागि कावासोती र मध्यविन्दुको हावापानी र माटो  राम्रो मानिन्छ। सामान्यतया बाली लगाएको दोस्रो वर्षदेखि कागतीले उत्पादन दिन थाल्दछ भने तेस्रो वर्षदेखि पूरा उत्पादन दिने गर्छ।