पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सहकारीको रकम अपचलन मुद्दा अनुसन्धानका नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानव अधिकार हनन भएको बताएकी छिन् । झिल्को प्रकाशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कार्कीले लामिछानेलाई दुई–दुई दिनमा अदालत–अदालत घुमाउनु हद भएको बताएकी हुन् ।
‘एउटा मान्छेलाई दुई–दुई दिनमा अदालत परिवर्तन गराइरहेका छन् । हाजिर गराइरहेका छन् । उसको मानव अधिकार कहाँ गयो ? कहिले राति निद्रामै उठाएर कुदाएको छ । यो अड्डामा हाजिर गराएको छ, त्यो अड्डामा हाजिर गराएको छ । एउटा मान्छे कति महिनादेखि अदालतमा कुदिरहेको छ । अब त हामी हेर्नेलाई पनि लाजमर्दो भइसक्यो । यो त हदै भयो,’ उनले अनुसन्धानको तौरतरिकाप्रति आपत्ति जनाइन् ।
सहकारी ठगी र संगठित अपराध कसुरमा २ कात्तिकमा पक्राउ परेका प्रतिनिधिसभा सदस्यमेत रहेका पूर्वगृहमन्त्री लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनलाई कास्कीसहित बुटवल, काठमाडौं, चितवन र पर्सामा उपस्थित गराएर बयान लिइएको छ । उनको मुद्दा यसै साता अदालतमा पेस गर्ने तयारी छ । मुद्दा अभियोजन गर्ने क्रममा पनि लामिछानेलाई पाँचवटै जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
पूर्वन्यायाधीश कार्कीले मुद्दा निष्पक्ष रूपमा हेर्न न्यायालय हुँदाहुँदै अनुसन्धानकै क्रममा अनावश्यक दुःख दिने काम भएको बताइन् । ‘केहीलाई छाडेर सबै न्यायाधीशले दुर्गन्धित हुने गरी काम गर्दैन । त्यसैले रविको मुद्दा न्यायालयले हेर्ने वेलामा हेर्छ,’ उनले भनिन् ।
कास्कीमा हदम्याद पनि सकिन लागेकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीले आरोपीलाई अधिकतम ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । जुन म्याद अब ६ दिन मात्र बाँकी छ । सो मुद्दाको आरोपीमध्ये एक छविलाल जोशी ६ असोजमै पक्राउ परेका थिए । सोही दिनदेखि थुनामा राख्ने म्याद सुरु भएको थियो । जसअनुसार ६ पुसभित्र कास्कीमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ । प्रहरीले सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने र सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दर्ता गर्छ । हदम्याद सकिनुभन्दा केही दिनअघि नै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने प्रचलन छ ।
गोरखा मिडियामा लामिछानेका पूर्वसाझेदार रहेका गितेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेका सहकारीको ठगीको अनुसन्धानमा उनी तानिएका हुन् । पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा तथा पर्साको सानो पाइला सहकारीबाट गैरकानुनी रूपमा गोरखा मिडियामा करोडौँ रकम गएको थियो । लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा त्यसरी आएको रकम चेक काटेर खर्च गरेको आधारमा उनीमाथि पनि सबै सहकारीको रकम अपचलनको अभियोग लगाउने प्रहरी तयारी छ ।