मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३० आइतबार
  • Sunday, 15 December, 2024
२o८१ मङ्सिर ३० आइतबार २o:१८:oo
Read Time : > 2 मिनेट
फिचर

साकेला उधौली : प्रकृतिको पूजा गर्दै साकेला सिली प्रदर्शन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ३० आइतबार २o:१८:oo

किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आज (आइतबार)देखि औपचारिकरुपमा सुरुवात भएको छ । माँझकिरात भनेर चिनिने खोटाङका किराँत समुदायले मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उभौली साकेला चाड मनाउने गरेका छन् । 

१५ दिनसम्म मनाइने उधौली साकेला चाडको अवसर पारेर जिल्लाका किराँत समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोकिएका ठाउँ तथा पर्यटकीयस्थलहरूमा तीन चुल्हाको पूजाआजासहित साकेला सिली पर्दशन गरिरहेका छन् ।

किराँत समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायतका साकेला थानहरूमा साकेला सिली प्रदर्शन तथा तीन चेल्हाको पूजा गर्ने चलन छ । 

उधौली चाडको पहिलो दिन आज (आइतबार) जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको मझुवागढीमा तीन चुल्हाको पूजाआजा गर्नुका साथै बृहत् साकेला सिली प्रदर्शनी गरिएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढीमा आयोजित बृहत साकेला सिली प्रदर्शनी कार्यक्रममा गैरकिराँत समुदायका युवायुवतीको समेत उल्लेख्य मात्रामा सहभागिता छ ।  

समुन्द्री सतहदेखि करिब दुई हजार ७०० मिटर उचाईमा अवस्थित रुपाकोटगढीमा आइतबार नै भेला भएका खार्मी, जालपा, हौँचुर लगायतका किराती पुर्खा तथा धामीहरुले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको औपचारिकरुपमा शुरुवात गरेका छन् । रुपाकोटगढीमा किराती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ । 

किराँत ऐतिहासिकस्थल रुपाकोटगढीमा पूजाआजा गरेर औपचारिक रुपमा सुरुवात गरिएको साकेला उँभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गर्ने गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिए । उभौलीमा आ–आफ्नो थुम (टोल)मा रहेको साकेला थानमा भेला भएर भूमिको पूजा गर्दै साकेला चाड मनाउने खार्मीका किराँत समुदायले उधौलीमा भने, एकै ठाउँ (रुपाकोटगढी)मा भेला भएर सामुहिकरुपमा भूमिको पूजा गर्दै मनाउने गरेका छन् । 

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राईहरूले बताएका छन् । 

उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ । छिटको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँत राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभइ गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । 

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराँती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

उधौली तथा उभौलीको अवसरमा किराँत समुदायले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध सँस्कृतिको रुपमा विकास भएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किराँतले बताए ।

साकेला उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायतका किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । अन्नबाली लगाउने समय अर्थात वैशाखे पूर्णीमादेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मंसिरे पूर्णीमादेखि उधौली चाड मनाउने चलन छ ।