मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ३० आइतबार
  • Sunday, 15 December, 2024
रासस काठमाडौं
२o८१ मङ्सिर ३० आइतबार २२:१o:oo
Read Time : < 1 मिनेट
समाचार

खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम 

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर ३० आइतबार २२:१o:oo

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) इजरायलद्वारा आयोजित विश्वव्यापी खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छिन्। शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उनले दुई लाख नगद पुरस्कार प्राप्त गरेकी छिन्।

यस्तै, पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै एक लाख र तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले ५० हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ। प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कारका लागि नगद ३० हजार प्राप्त गरेकी छिन्। 

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो। निर्णायकमण्डलमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्वमिस नेपाल सुगारिका केसी रहेका थिए। 

आयोजक एनसिसी इजरायलका अध्यक्ष कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीलाई एउटै मञ्चमा ल्याउनाका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताए। यस्तै,  कार्यक्रमले सहभागीहरूको वक्तृत्व क्षमता प्रदर्शन र नेपाली भाषा–संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा. बद्री केसीले बताए। 

एनसिसी इजरायलले आफ्नो १७औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए।