सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस विघटन भएको छ।
दुवै आयोगमा पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति नै विघटन भएको छ। समितिले आइतबार र सोमबार पदाधिकारी सिफारिस गर्न प्रयास गरे पनि सदस्यहरूबिच सहमति नहुँदा कमिटी नै विघटन भएको प्रवक्ता खम्मबहादुर खातीले बताए।
अब मन्त्रिपरिषद्ले नयाँ सिफारिस समिति बनाउनुपर्नेछ। नयाँ कमिटीले फेरि आवेदन आह्वान गरेर नियुक्ति प्रक्रिया अगाडि बढाउनुपर्नेछ। २ कात्तिकमा गठित अहिलेको समितिले ऐनअनुसार सोमबारसम्म पदाधिकारी सिफारिस गरिसक्नुपर्थ्यो।
दुवै आयोगको पदाधिकारीका लागि समितिमा १५८ जनाको आवेदन परेकोमा ४० जना सर्ट लिस्टमा परेका थिए। जसमा दुवै आयोगको दुई अध्यक्षका लागि आठ र आठ सदस्यका लागि ३२ जना सर्ट लिस्टमा थिए।
सर्ट लिस्टमा परेका व्यक्तिबाट सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले निर्धारित ६० दिनभित्रको समयसीमाभित्र पदाधिकारी चयन गर्न नसकेको हो।