मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
स्टेफन वुल्फ/तेत्याना माल्येरेन्को
२o८१ पौष १ सोमबार १o:५२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युक्रेन युद्ध कायम रहिरहँदा चीनलाई लाभ

Read Time : > 2 मिनेट
स्टेफन वुल्फ/तेत्याना माल्येरेन्को
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार १o:५२:oo

युक्रेन युद्ध लामो समयसम्म जारी रहेमा चीनले आफ्नो मुख्य प्रतिस्पर्धी अमेरिकाको सापेक्षिक शक्ति घट्ने स्थितिबाट लाभ उठाउनेछ 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई २० जनवरीको शपथग्रहण समारोहमा निमन्त्रणा दिएका छन् । यस निमन्त्रणालाई धेरैले अचम्मको परिघटनाका रूपमा लिएका छन् । यस निमन्त्रणालाई चीनलाई युक्रेनमा युद्धविराम वार्तामा समावेश गर्ने योजनाको हिस्साका रूपमा लिइएजस्तो देखिन्छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पेरिसमा हालैको भेटपछि ट्रम्पले ‘तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु गर्नुपर्छ’ भन्दै ‘चीनले मद्दत गर्न सक्छ’ भनेका थिए । सीलाई निमन्त्रणा दिइएको यो असामान्य कदमले अब पेरिसमा ट्रम्पले दिएको अभिव्यक्तिलाई थप अर्थपूर्ण बनाएको छ ।

सीले ट्रम्पको निमन्त्रणा स्वीकार गर्छन् कि गर्दैनन् भन्ने अनिश्चित छ (सम्भवतः गर्दैनन्) तर, मुख्य प्रश्न के हो भने चीनले युक्रेनमा रुसी युद्ध अन्त्य गर्न ट्रम्पलाई मद्दत गर्छ ? चीनले युद्धभरि रुससँग बलियो आर्थिक एवं व्यापारिक सम्बन्ध राखेको छ र पुटिनको आलोचना गरेको छैन । उसो त चीनले रुसलाई सैनिक सहयोग नगरेको भनिए पनि विभिन्न रिपोर्टअनुसार चीनले युद्धका लागि प्रयोग हुने केही सामग्री रुसलाई पठाउँदै आएको छ । ट्रम्पको पहल र ब्राजिलसँग चीनको हालको प्रस्ताव दुवैले युद्धविराममा जोड दिएका छन् । दुवैले रुसको भूराजनीतिक स्थिति जस्ताको तस्तै राख्ने मागलाई स्वीकार गर्नेजस्तो देखिन्छ जसको अर्थ युक्रेनले आफ्नो लगभग २० प्रतिशत भूमि गुमाउनेछ, जुन रुसको सेनाले सन् २०१४ देखि अवैध रूपमा कब्जा गरेको छ ।

युक्रेन र यसका अधिकांश पश्चिमा साझेदारले रुसलाई फाइदा पुर्‍याउने युद्धविरामलाई अस्वीकार गर्छन् । ट्रम्पको चुनावी जितअघि पश्चिमको यो अडान बलियो थियो किनभने पश्चिम युक्रेनलाई युद्धक्षेत्रमा सैन्य पराजयबाट जोगाउन सक्षम थियो । यद्यपि, परिस्थिति परिवर्तन हुँदै छ । चीनलाई पश्चिमका लागि कुनै शान्तिवार्ता विशेषतः युक्रेनका लागि हुने वार्तामा स्वागतयोग्य साझेदार बनाइनेछ वा छैन भन्ने स्पष्ट छैन । जेलेन्स्कीले चीन–ब्राजिल शान्ति प्रस्तावलाई ‘विनाशकारी’ संज्ञा दिँदै चीन र ब्राजिललाई ‘रुसपरस्त’ भएको आरोप लगाएका छन् । युक्रेनी युद्धमा भएको ठुलो बलिदानलाई ध्यानमा राख्दै जेलेन्स्कीले शान्ति योजनामा व्यक्तिगत रूपमा गहिरो लगानी गरेका छन्, अर्थात् यस अवस्थामा चीनलाई सम्झौतामा स्विकार्ने सम्भावना एकदमै कम रहन्छ । 

अचानक किभले चीनलाई स्विकार्ने भए पनि ट्रम्पको मध्यस्थतामा गरिएको सम्झौताले बेइजिङको स्वार्थलाई पूरा गर्ने देखिँदैन । सीका लागि चीनको भूमिका र विश्वशक्तिका रूपमा यसको प्रभावलाई सुदृढ गर्नु सधैँ महत्वपूर्ण हुन्छ । युद्ध समाप्त भएमा चीन थप चिन्तित हुनेछ, किनभने यसले अमेरिकी व्यापार युद्धलाई बेइजिङसँग थप घनीभूत बनाउन सक्छ । युक्रेनमा भएको युद्धले पश्चिममाथि परेको दबाबबाट चीनलाई लाभ पुगेको छ । अमेरिकाले युरोपमा आफ्नो गठबन्धन प्रतिबद्धतामा कमी ल्याउन सक्ने सम्भावनाले युक्रेनसँगको अमेरिकी मित्रताको विश्वसनीयतामा शंका उत्पन्न गरेको छ । यो स्थिति थप तीव्र हुँदै छ किनभने ट्रम्प ह्वाइट हाउसमा प्रवेश गर्न तयार छन् ।

युक्रेन युद्ध लामो समयसम्म जारी रहेमा चीनले आफ्नो मुख्य भूराजनीतिक र भूआर्थिक प्रतिस्पर्धी रहेको अमेरिकाको सापेक्षिक बल घट्ने स्थितिबाट लाभ उठाउनेछ । र, सावधानीपूर्वक युक्रेन युद्धलाई जारी राख्ने गरी हुने व्यवस्थापन भएको खण्डमा चीनलाई विश्व नेतृत्वको दाबी गर्न सहज हुनेछ । युक्रेन संकट व्यवस्थापनको चिनियाँ दृष्टिकोणलाई सीले हालै रुसको कजानमा भएको ब्रिक्स सम्मेलन र १२ डिसेम्बर २०२४ मा बेइजिङमा रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवसँगको भेटमा दोहोर्‍याएका थिए । यो दृष्टिकोण ‘तीन प्रमुख सिद्धान्तमा’ केन्द्रित छ, जसमा ‘युद्धभूमिको विस्तार नगर्नु, संघर्ष वृद्धि नगर्नु, जाइ लाग्ने काम नगर्नु र स्थितिको गाम्भीर्यलाई कम गर्न प्रयास गर्नु’ रहेका छन् ।

चीनको प्रयास ट्रम्पले परिकल्पना गरेको युद्ध अन्त्यको विचारभन्दा निकै फरक छ । ट्रम्पको मध्यस्थतामा हुने सम्भावित सम्झौताले प्रतिबन्ध हटाउने र पश्चिम तथा रुसबिच पुनः सहकार्यपूर्ण सम्बन्धको सम्भावना सिर्जना गर्नेछ । यसले पुटिनको हैसियतलाई उल्लेखनीय रूपमा बलियो बनाउनेछ, रुसको अन्तर्राष्ट्रिय पुनर्वैधतामा योगदान पुर्‍याउनेछ, चीनमाथिको निर्भरता घटाउनेछ र सम्भवतः ऐतिहासिक रुस–चीन प्रतिद्वन्द्वितालाई ब्युँताउनेछ । ट्रम्पको ‘रुस र चीनलाई अलग पार्ने’ दाबीबारे बेइजिङ अनभिज्ञ पक्कै छैन ।

ट्रम्पले रुस र चीनबिच फाटो ल्याउन नसके पनि सशक्त क्रेमलिनले मस्को र बेइजिङबिचको साझेदारीको शक्ति–सन्तुलनलाई परिवर्तन गर्नेछ जसले पुटिनलाई सीका समकक्षीका रूपमा उचाल्न सक्छ । चिनियाँ दृष्टिकोणबाट हेर्दा ट्रम्पलाई रुस र युक्रेनबिच सम्झौता गराउन सहयोग गर्दा अमेरिकाको व्यापार र भन्सार युद्धलाई केही कम गर्न सक्ने सम्भावनाबाहेक धेरै फाइदा छैन । युक्रेनको रक्षा गर्न पश्चिमको स्रोत सकिँदा पश्चिमको चीन र अमेरिकाबिचको मुख्य प्रतिस्पर्धा हुने हिन्द–प्रशान्त क्षेत्रबाट ध्यान हट्नेछ ।

सीलाई युक्रेनमा पुटिनलाई रणनीतिक रूपमा पराजित भएको देख्न कुनै चासो छैन । तर, रुसलाई युक्रेनविरुद्धको युद्धमा फसाइराख्नाले बेइजिङ र मस्कोबिचको साझेदारी हालको सर्तमा कायम रहन सुनिश्चित गर्छ, अर्थात् शक्ति सन्तुलन चीनतर्फ झुकेको अवस्था सुनिश्चित गर्छ । त्यसैले, ट्रम्पलाई युद्ध अन्त्य गर्न मद्दत गर्नुको सट्टा युक्रेनमा युद्ध जारी राख्नु नै बेइजिङका लागि सबैभन्दा अनुकूल विकल्प हो ।

(वुल्फ बर्मिंघम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सुरक्षाका प्राध्यापक हुन् र माल्येरेन्को नेसनल युनिभर्सिटी ओडेसा ल एकेडेमीकी अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक हुन्) द कन्भर्सेसनबाट