१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार १६:o६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १६:o६:oo

उत्तर कोरियाले मस्कोलाई युक्रेनविरुद्ध लड्न सेना नपठाएको जनाउँदै संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी आधारहीन भएको दाबी गरेका छन्।

सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रुसलाई सहयोग गर्न सेना तैनाथ गरेको तथा एक हजार पाँच सय सेना रुसमा प्रशिक्षण गराइरहेको जनाएको थियो। सङले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रिया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसंघीय महासभा समितिको बैठकमा बताएका छन्।

सियोलको दाबी उत्तर कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरूबिचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएको उनको आरोप छ। 

विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समयदेखि किम जोङ–अनले रुसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन्।

उत्तर कोरियाले भने उक्त सैन्य तैनाथीबारे कुनै टिप्पणी गरेको छैन। रुसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन। यद्यपि, नेटो र अमेरिकाले पनि सेना  तैनाथीको पुष्टि गरेका छैनन्। तर, दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन्।

उत्तर कोरियाले सेना पठाउने तयारी गरिरहेको रिपोर्टहरू आफूले देखेको सुरक्षा परिषद्लाई बताउँदै यो विषय सत्य भएमा यसले चिन्ताजनक स्थितिको संकेत  गर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत रोबर्ट वुडले बताए। सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको निन्दासमेत गरेको छ।

उत्तर कोरियाले युक्रेनमा रुसको अवैध आक्रमणका लागि सेना पठाउनु आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागि समेत सुरक्षा खतरा भएको सुरक्षा परिषद्ले जनाएको छ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सरकारी स्रोतलाई उद्धृत गर्दै सियोलले युक्रेनमा तैनाथ उत्तर कोरियाली सेनाको निगरानी गर्न कर्मचारीको टोली पठाउने तयारी गरिरहेको जनाएको छ। योन्हापले रुससमर्थक टेलिग्राममा युक्रेनी भूमिमा रुसी र उत्तर कोरियाली झन्डा देखाउँदै फोटो पोस्ट गरेकोसमेत रिपोर्ट गरेको छ।