Skip This
संविधान संशोधनभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ : प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार २२:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

संविधान संशोधनभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार २२:५८:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अंग भएकाले खेलबाड गरिए राम्रो नहुने उनले बताए । ‘संविधान संशोधनभन्दा अहिले ध्यान दिनुपर्ने कुरा संविधान कार्यान्वयनको हो । प्रदेशलाई अधिकार दिन हिचकिच्याउने, संघीयता कार्यान्वयनका लागि बनाउन लागेका कानुनहरू बन्न नदिने, अनि काम भएन भन्ने ? हलो अड्काएर गोरु चुट्न खोज्ने ? अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अंग पनि हो । यसमाथि खेलबाड गरिए राम्रो हुँदैन,’ सम्पादकहरूसँग बुधबार भएको छलफलमा उनले भने ।

प्रचण्डले एमालेसँगको पछिल्लो समीकरणमा चुकेको स्विकारे । राम्रो नियतले समीकरण गरे पनि परिणामले त्रुटि देखाएको उनले बताए । ‘कुरा भइराखेको सूचना थियो । कहाँ–कहाँ भइराखेको छ भन्ने पनि सूचना थियो । अहिलेका प्रधानमन्त्री कहिले सिंहदरबार, कहिले बालुवाटार भेट्न आउनुहुन्थ्यो । केही हुँदैन । कांग्रेसजस्तो फटाह पार्टी, दलालसँग म जान्छु त, मैलेजति कसले भोगेको छ र कांग्रेसलाई भन्नुहुन्थ्यो,’ उनले भने, ‘मूल नेताले नै भनेपछि होला कि भन्ने लाग्ने फेरि । म चुकेको त्यहीँ हो, तपाईंहरूले हेरिराख्नुभएकै छ ।’ 

प्रधानमन्त्री चाहिएको भए छाडिदिन्छु भनेर त्यतिवेला तीनचोटि भनेको उनले स्मरण गरे । होइन मलाई चाहिएको होइन भन्दै ओलीले त्यहीवेला स्वर्ग र नर्कको कुरा गरेको उनले बताए । ‘एमालेसँग पछिल्लो चरणमा गरिएको समीकरणमा हामी चुक्यौँ । हामीले वस्तुगत परिस्थितिलाई ठीक ढंगले मूल्यांकन गर्न सकिएन भन्ने महसुस गरिएको छ । नियत नराम्रो थिएन, तर नियतले मात्रै काम गरेन । नियतले सोचेजस्तो परिणाम नआएपछि त्यहाँ त्रुटि त भयो । कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति अघिल्लो राति भइसकेको रहेछ । अहिलेका प्रधानमन्त्रीले भोलिपल्ट आएर स्वर्ग र नर्क सँगै जाने हो । केही हुँदैन ढुक्क हुनुहोस् भन्नुभयो, भन्न पनि कसरी सक्ने हो मान्छेले,’ उनले भने ।

वर्तमान सत्तागठबन्धन अपवित्र, अप्राकृतिक र अपारदर्शी भएकाले संकटमा रहेको उनले दाबी गरे । माओवादीलाई गठबन्धन भत्काउन आवश्यकता नरहेको पनि उनले बताए । ‘गठबन्धनको स्थयित्व हुन्छ भन्ने त लाग्दैन । अपवित्र, अप्राकृतिक र अपारदर्शी तरिकाले बनेको गठबन्धनमा त्यहीँ संकट छ । त्यसकारण त्यो लामो जाने कुरा होइन । तर, पोलिटिकल्ली मैले भन्दा जाओस् छिटो भनेर सक्रियता अपनाउनुपर्ने आवश्यकता माओवादीलाई छैन,’ उनले भने ।

नेपाल बंगलादेश भइहाल्छ भनेर आफूले कहीँ पनि नभनेको उनले स्पष्ट पारे । ‘बंगलादेशको प्रधानमन्त्री निस्केपछि मैले विराटनगरमा पहिलोपटक भनेको हो, दुईतिहाइ छ पार्लियामेन्टमा भनेर अहंकार गर्न हुँदैन भन्ने कुरा बंगलादेशबाट सिक्नुपर्छ । सरकार अहंकार नगरोस् । यो भाषाबाट सुरु गरेको हो मैले । दुईतिहाइ त त्यहाँ एउटै पार्टीको थियो त । ६ महिनाअघिको चुनावमा शेख हसिनाको पार्टीको एक्लै दुईतिहाइ थियो । हुँदोरैनछ नि त । त्यसकारण अहंकार नगरियोस् मात्रै भन्न खोजेको थिएँ मैले । बंगलादेशबाट सिक्न जरुरी छ । तर, अहिले नै बंगलादेश बनाइदिन्छु या बनाउन भूमिका खेल्छु भनेर मैले कहिल्यै भनेको छैन,’ प्रचण्डले भने । भर्खरै कसैले नेपाललाई बंगलादेशजस्तो बनाएर बनिहाल्छ भन्ने आफूलाई नलागेको पनि उनले बताए ।