Skip This
देवर–भाउजू मिलेर हत्या, पाँच महिनापछि भेटियो शव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार o७:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देवर–भाउजू मिलेर हत्या, पाँच महिनापछि भेटियो शव

बिरिङ नदीको बगर खनेर निकालियो अस्थिपञ्जर, एक बालकसहित तीन पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार o७:१५:oo

झापाको बाह्रदशी गाउँपालिका– ५ का २२ वर्षीय राजेश हजाम र बाह्रदशी– ७ की २० वर्षीया मुना मेचे राजवंशीबिच करिब सात वर्षदेखि चिनजान थियो । राजेश मुनाले पढ्ने विद्यालयको बसका सहचालक थिए । उनी मुनालाई एकतर्फी मन पराउँथे । त्यही बसका चालकले मुनासँग विवाह गरे । विवाहपछि उनका श्रीमान् वैदेशिक रोजगारीमा गए । 

श्रीमान् वैदेशिक रोजगारीमा गएपछि राजेश र मुनाबिच म्यासेजमा निरन्तर कुराकानी भइरहेकै थियो । तर, मुनाका देवर (जो फरार रहेकाले प्रहरीले नाम गोप्य राखेको छ) ले मोबाइल चलाउने क्रममा भाउजू मुना र राजेशबिचको कुराकानी थाहा पाए । त्यही कुराकानी बन्यो राजेशको हत्याको कारण । ‘वडा नम्बर फरक भए पनि गाउँ एउटै थियो । मुनाका देवर र राजेशबिच चिनजान भएकै देखिन्छ,’ इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भाउजूसँगको कुरा थाहा पाएपछि देवरले हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’

भाउजूसँगको म्यासेज देखेपछि उनका देवरले गत १५ जेठमा राति राजेशलाई घरमा बोलाए । हातखुट्टा बाँधेर कुटपिट गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । ‘राजेश हराएको भनेर १८ जेठमा हामीलाई निवेदन आयो । त्यसवेला खोजतलास गर्‍यौँ, तर केही क्लु भेटिएन । तैपनि निरन्तर अनुसन्धान गरिरह्यौँ,’ उनले भने, ‘अहिले हत्या गरेको निष्कर्षसहित अनुसन्धान गर्दा हत्या भएकै पायौँ ।’ प्रहरीका अनुसार मुना र उनका देवर मिलेर राजेशको हत्या गरे । हत्यापछि भान्सा कोठामा शव गाडे । ‘सबैतिर ढलान घर रहेछ । भान्सा कोठामा नभएका कारण त्यहीँ शव गाडेको अनुसन्धानबाट देखिन्छ,’ डिएसपी विष्टले भने, ‘तर, घरभित्र गनाउने र अरूले थाहा पाउने डरले १७ गते राति बाइकमा शव हालेर बिरिङ खोलाको बगरमा गाडेको देखिन्छ ।’

प्रहरीले हत्याको पाँच महिनापछि बिरिङ खोलाको बगर उत्खनन गरेर राजेशको अस्थिपञ्जर निकालेको छ । करिब चार दिन लगातार उत्खननपछि प्रहरीले आइतबार टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर र अन्य भाग सडेको अवस्थामा फेला पारेको हो । ‘सुरुमा घरको भान्सा कोठामा उत्खनन गर्‍यौँ । त्यहाँबाट बाँध्न प्रयोग भएको डोरी, लुगालगायत फेला प¥यो । यसले हत्या भएको थप पुष्टि भयो । त्यसपछि बिरिङ खोलाको बगरमा गाडेको सूचना पायौँ । अहिले त्यो ठाउँ काँसले ढाकेको छ । काँस हटाएर उत्खनन गर्न नै हामीलाई दुई दिन लाग्यो,’ डिएसपी विष्टले भने । 

राजेशको हत्या आरोपमा प्रहरीले बाह्रदशी गाउँपालिका– ७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मुना मेचे राजवंशी र एक नाबालकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न मुनाका एक देवर घटनापछि वैदेशिक रोजगारीमा गएका छन् । प्रहरीले उनको नाम गोप्य राखेको छ ।