Skip This
सीमावर्ती भारतीय बजारमा नेपालीको भिड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार २२:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

सीमावर्ती भारतीय बजारमा नेपालीको भिड

किनमेल गर्न उपभोक्ता सीमावर्ती बजार जान थालेपछि धनगढीको व्यापार प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार २२:४६:oo

सीमावर्ती भारतीय बजार वनगावामा किनमेलका लागि नेपाली उपभोक्ताको भिड लागेको छ । धनगढीबाट नजिक पर्ने वनगावामा दसैँ सुरु भएसँगै नेपाली उपभोक्ताको भिड लाग्न थालेको हो । त्यहाँका हरेक पसल दिनभरजसो सामान किन्न जाने नेपाली उपभोक्ताले खचाखच हुने गरेका छन् ।

सस्तो मूल्यमा सामान पाइने लोभले धनगढी, अत्तरियासँगै जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक सयौँ नेपाली भारतीय बजार वनगावा पुग्ने गरेका छन् । सीमानजिकै दुधुवा नेसनल पार्कमा रहेको गौरीफन्टा बजार केही वर्षअघि हटाइएपछि नेपालीलाई लक्षित गरेर तीन किलोमिटर पर वनगावामा सानो बजार स्थापना गरिएको हो ।

दैनिक दुई हजारभन्दा बढी नेपाली किनमेलका लागि वनगावा पुग्ने गरेको नाकामा खटिएका सुरक्षाकर्मीको अनुमान छ । बिहान ६ देखि बेलुकी ६ बजेसम्मै किनमेलका लागि ओहोरदोहोर गर्नेको नाकामा भिड हुने गरेको त्रिनगर सीमानाकामा रहेको त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक शैलेशबहादुर चन्दले बताए । दसैँ सुरु भएसँगै सीमावर्ती बजारमा किनमेल गर्न जानेको भिड बढेको उनले बताए ।

बडादसैँको दिन आउन तीन दिन बाँकी रहँदा वनगावामा नेपाली उपभोक्ताको भिड घटेको छैन । कतिपय नेपाली धनगढीबाट करिब ४५ किलोमिटरको दूरीमा रहेको भारतीय बजार पलियासमेत पुग्ने गरेका छन् । किनमेल गर्न जानेलाई नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीलाई आफ्नो परिचय खुल्ने कागजात देखाउनुपर्छ । दैनिक उपभोग्य सामान धनगढीभन्दा केही सस्तो पाइने भएकाले वनगावा आएको बुधबार त्यहाँ भेटिएका धनगढी– ५ का ताराप्रसाद अवस्थीले बताए । ‘चिनी, दाललगायत केही सामान यहाँ सस्तो पर्छ,’ उनले भने, ‘चाडबाडका वेला बढी सामान किन्नुपर्छ, दुई–चार रुपैयाँ कि बच्ला भनेर आएको हुँ ।’ 

अधिकांश उपभोक्ता किनमेल गर्न सीमावर्ती बजार जान थालेपछि धनगढीको व्यापार प्रभावित भएको छ । यहाँका व्यापारी मारमा परेका छन् । धनगढीमा भाटभटेनीलगायत केही ठूला डिपार्टमेन्टल स्टोर पनि छन् । मूल्यमा खासै फरक नपरे पनि सीमावर्ती बजारमा सस्तोमा सामान पाइन्छ भन्ने मानसिकताले नेपालीहरू त्यहाँ जाने गरेको यहाँका व्यवसायीहरू बताउँछन् । घरायसी सामानमा भन्सार छुट दिँदा पनि यहाँको व्यापार चौपट हुनुका साथै सरकारलाई लाखौँ रुपैयाँ राजस्व घाटा भइरहेको व्यवसायीहरूको भनाइ छ ।
‘आउने–जाने भाडा जोड्ने हो भने उताभन्दा यतै सस्तो पर्छ, तर उता सस्तो पाइन्छ भन्ने भ्रम आमउपभोक्तामा छ,’ किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण पन्तले भने, ‘राज्यको कमजोरीका कारण पनि यहाँको व्यापार व्यवसाय चौपट बनेको छ ।’ सय रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार लिनुपर्नेमा प्रशासनले छुट दिँदा लाखौँ रुपैयाँ बिदेसिरहेको उनले बताए । यहाँका व्यापारीले सहज रूपमा चिनी भिœयाउन नसक्ने भएकाले चिनी मात्र सीमावर्ती बजारमा सस्तो हुने गरेको उनले दाबी गरे । पाँच सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने पन्तले माग गरे । 

सीमावर्ती बजारको सामानको गुणस्तरसमेत नहेरिने भएकाले नेपाली उपभोक्ता ठगिने गरेको यहाँका व्यवसायीहरू बताउँछन् । ‘म्याद गुज्रेका गुणस्तरहीन सामानसमेत सीमावर्ती बजारमा बिक्री हुन्छन्, एउटा सामान सस्तो दिएर अर्को सामानमा पैसा असुल्ने गरिन्छ,’ धनगढीका एक व्यवसायीले भने, ‘उपभोक्ताको ध्यान त्यतातिर जाँदैन । सस्तो पाइन्छ भन्ने परेको छ ।’