Skip This
अब बिपी राजमार्ग मात्रै अवरुद्ध : कान्ति लोकपथसमेत सञ्चालनमा आएपछि काठमाडौं आउजाउमा सहज
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २३ बुधबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २३ बुधबार o७:१o:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

अब बिपी राजमार्ग मात्रै अवरुद्ध : कान्ति लोकपथसमेत सञ्चालनमा आएपछि काठमाडौं आउजाउमा सहज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २३ बुधबार o७:१o:oo

काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न राजमार्गमध्ये अब बिपी हाइवे मात्र अवरुद्ध छ । असोज दोस्रो साताको बाढीपहिरोले काठमाडौं जोड्ने सबैजसो राजमार्ग अवरुद्ध भएका थिए । बिपी राजमार्ग, कान्ति लोकपथ, काठमाडौं–फर्पिङ–सिस्नेरी–हेटाैँडा र काठमाडौं–फर्पिङ–फाखेल–हेटौँडा चार सडक अवरुद्ध भएका थिए । यी चार महत्वपूर्ण मार्ग अवरोध हुँदा काठमाडौंबाट बाहिरिनेहरूको दसैँ यात्रा नै प्रभावित भएको थियो । तर, तीन नाका खुल्दा अब दसैँका लागि सवारीसाधनको चापलाई व्यवस्थापन गर्न केही सहज हुने भएको छ । 

कान्ति लोकपथ मंगलबारदेखि खुलेको छ । काठमाडौंबाट हेटौँडा, वीरगन्जलगायतका मधेशका विभिन्न ठाउँ जान यो राजमार्ग प्रयोग हुन्छ । लोकपथअन्तर्गत बागमती पुलको एउटा स्पान बगाएपछि सडक अवरुद्ध भएको थियो । पाइपमार्फत पानी डाइभर्ट गरेर पुल बगाएको खण्डमा माटो भरी सडक सञ्चालनमा ल्याइएको लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् । ‘बागमती पुलको मकवानपुर र ललितपुर दुवैतर्फको पहुँच मार्गको मर्मतको काम सकिएको छ । मंगलबारबाट हामीले कान्ति लोकपथलाई पूर्ण रूपमा सञ्चालनमा ल्याएका छौँ,’ उनले भनिन्, ‘कान्ति लोकपथमा अब अवरोध छैन । कुनै भवितव्य नपरे चाडपर्वलक्षित सडक सञ्चालनको काम सकिएको छ ।’

बाढी र पहिरोले काठमाडौं बाहिरिन प्रयोग गरिने त्रिभुवन राजपथ–नौबिसे सडकखण्ड, कुलेखानी–फाखेल–मातातीर्थ, कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली पनि प्रभावित बनाएको थियो । उक्त खण्डहरू पनि अस्थायी रूपमा सञ्चालनमा ल्याइएका छन् ।

कान्ति लोकपथका योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्य भन्छिन्- बागमती पुलको मकवानपुर र ललितपुर दुवैतर्फको पहुँच मार्गको मर्मतको काम सकिएको छ । मंगलबारबाट हामीले कान्ति लोकपथलाई पूर्ण रूपमा सञ्चालनमा ल्याएका छौँ । कान्ति लोकपथमा अब अवरोध छैन । कुनै भवितव्य नपरे चाडपर्वलक्षित सडक सञ्चालनको काम सकिएको छ ।

त्रिभुवन राजपथको नौबिसे सडकखण्ड र चित्लाङ–चन्द्रागिरि सडकखण्ड बाढीपहिरो गएको तेस्रो दिनबाट सञ्चालनमा आएको थियो । अन्य सडकखण्ड अवरुद्ध हुँदा पूर्वदेखिका यात्रुले त्रिभुवन राजपथ–नौबिसे सडकखण्ड र त्रिभुवन राजपथ–चित्लाङ–चन्द्रागिरिको लामो र अप्ठ्यारो बाटोबाट जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । कुलेखानी–फाखेल–मातातीर्थ, कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डसँगै कान्ति लोकपथसमेत सञ्चालनमा आएपछि अब काठमाडौं आउजाउका लागि केही सहज भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले कान्ति लोकपथबाट ठूला सवारीसाधनलाई पठाउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले अहिले ठूला सवारीसाधन नारयणघाट–मुग्लिन सडकखण्डबाट सञ्चालन भइरहेको र केही ठूला सवारीसाधनलाई कान्ति लोकपथबाट सञ्चालन गर्नसके सबैतिरको सवारीको चाप कम हुने विश्वास व्यक्त गरे । खड्काले हेटौँडा–काठमाडौं जोड्न छोटा दूरीका सडकखण्डबाट साना र हलुका सवारीसाधनलाई मात्रै सञ्चालनको अनुमति दिने तयारी भइरहेको बताए ।

पूर्वलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने बिपी राजमार्ग भने दसैँअघि नखुल्ने भएको छ । सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले तिहारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनको भनाइ छ । बाढीले रोशीदेखि नेपालथोकसम्ममा विभिन्न ठाउँमा गरी १२ किलोमिटर सडक बाढीले बगाएको छ, त्यहाँ सडकको कुनै पनि संरचना छैन । अहिले त्यहाँ यातायात सञ्चालन गर्न ट्र्याक खोल्ने काम भइरहेको छ । बिपी राजमार्गमा क्षतिग्रस्त संरचनाको पुनस्र्थापना गर्न समय लाग्ने उनको भनाइ छ । 

 पुल क्षतिग्रस्त भएका  ठाउँमा के हुँदै छ ? 
बाढीले सुनकोशी नदीको खुर्काेट, सिन्धुरेटार र फोक्सिङटार, अरनिको राजमार्गको लिपिङ र लार्चा पुल, मेची राजमार्गको लार्चा र हेवाखोला पुल तथा कान्ति लोकपथको बागमती पुल बगाएको थियो । अहिले हेवा र खुर्काेटमा बेलिब्रिज जडान गर्ने काम भइरहेको छ । बागमती पुलमा खोलामै पहुँच मार्ग बनाइएको छ । लार्चामा पेनस्टक पाइप बिछ्याएर पानी पास गराइएको छ र त्यसमाथि माटो राखेर पहुँचमार्ग बनाई सडक खुलाइएको छ । तर, लिपिङ पुलमा भने बेलिब्रिज जडान गर्ने विषयमा अध्ययन भइरहेको छ । त्यहाँ पुल नजोड्दा काठमाडौं र चिनियाँ नाकासँगको सम्बन्ध टुटेको छ । प्रवक्ता श्रेष्ठले थप बेलिब्रिज आयात गर्ने काम भइरहेको बताउँदै अन्य ठाउँमा पनि छिट्टै अवरोध हट्ने बताए ।

 बिपी राजमार्ग  : चौकीडाँडामा एकतर्फी अस्थायी सडक निर्माण
बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका– ६ र रोशी गाउँपालिका– ७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो । 

पाँच दिनको अवधिमा तीन स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी स्थायी सडक निर्माण गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पाँच दिनमा सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको उनले बताए ।

‘रोशी खोलादेखि करिब २० देखि ५० मिटरसम्म उचाइमा अवस्थित उक्त स्थानको सडक तलसम्म नै कटान भएको थियो । हिजोदेखि चौकीडाँडामा एकतर्फी सडक सञ्चालनमा ल्याएका छौँ,’ कार्यालय प्रमुख योगेशले भने । खोलाको बहाव नघट्दा ‘क्रस–डाइभर्ट’ गर्न सजिलो र छिटो तरिका अपनाउन नसकिएको उनले बताए । अविरल वर्षाका क्रममा यही असोज १२ गते शनिबार उक्त स्थानमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाका विपत्पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र परेका थिए ।