Skip This
कलाकारकाे दसैँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Wednesday, 09 October, 2024
२o८१ असोज २४ बिहीबार ११:५५:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार

कलाकारकाे दसैँ

काेही सांस्कृतिक कार्यक्रममा, काेही चलचित्र प्रमाेसनमा व्यस्त

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार ११:५५:oo

बडादसैँको रमझम सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेहरूको भिड छ । पसलमा नयाँ–नयाँ सामान झुन्डिएका छन् । बसपार्क र विमानस्थलमा दसैँ मान्न घर फर्कनेको ताँती देखिन्छ । अधिकांश मानिसहरू चाडपर्वको रमाइलोमै व्यस्त रहेको मौकामा कलाकार पनि नयाँ–नयाँ चलचित्र, गीत–संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिन लागिपरेका छन् । 

दसैँको पहिलो दिन घटस्थापनाको शुभ अवसरसमा स्वस्तिमा खड्का र निश्चल बस्नेत अभिनीत चलचित्र ‘बेहुली फ्रम मेघौली’ रिलिज भएको छ । त्यस्तै, फूलपातीको दिन तीनवटा चलचित्र ‘छक्का–पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँसाहेब’ रिलिज हुँदै छ । अहिले यी फिल्मका अधिकांश कलाकारलाई प्रमोसनकै चटारो छ । ‘ज्वाइँसाहेब’मा मुख्य भूमिकामा रहेका कलाकार जितु नेपाल भन्छन्, ‘यसपालिको दसैँ फिल्म प्रमोसनमै बित्ने भयो । टिजर र ट्रेलरबाट राम्रो प्रतिक्रिया पाएकाले व्यापार राम्रो होला भन्ने अपेक्षा गरेको छु । बाँकी रहेको समय परिवारलाई दिनेछु । दसैँमा हलमा डुल्ने, दर्शकसँगै बसेर फिल्म हेर्ने, बाँकी रहेको समय परिवारलाई दिने सोच छ ।’

गायक बद्री पंगेनी देशका विभिन्न स्थानमा हुने कन्सर्टमा व्यस्त छन् । भर्खरै रुकुममा भएको सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिएका पंगेनी फूलपातीको दिन नवलपुरको कावासोतीमा हुने सांस्कृतिक कार्यक्रममा हुनेछन् । ‘नवलपुरको कार्यक्रम सकेपछि बल्ल पाल्पाको रामपुरस्थित घर पुग्नेछु । टीकाको दिन सबै आफन्तकहाँ जानुपर्ने भएकाले निकै व्यस्त हुनेछु,’ उनले भने, ‘टीकाको दिनपछि बल्ल केही फुर्सद हुन्छ । गाउँमा साथीभाइसँग जमघट गर्नेछु । रामपुरमा रहेको ज्योतिपुञ्ज क्लबले फुटबल, क्रिकेटलगायत प्रतियोगिता आयोजना गर्छ । यस्ता प्रतियोगितामा सहभागी हुन्छु ।’

दसैँको रौनक अहिलेभन्दा पनि बाल्यकालमा धेरै हुने उनको अनुभव छ । ‘सानोमा नयाँ लुगा लगाउने, रोटी पकाउने, मीठो–मसिनो खाने, पिङ खेल्ने , खड्खडे खेल्ने गरिन्थ्यो । त्यतिवेला दसैँ सुरु भयो भनेपछि ऊर्जा नै बेग्लै हुन्थ्यो ।’ उनले विगतमा अस्टे«लिया, अमेरिका र साउदी अरबमा पनि दसैँ विशेष कार्यक्रममा प्रस्तुति दिएका छन् । 
गायक रामकृष्ण ढकाल यसपटक सांगीतिक टुरका सिलसिलामा अस्ट्रेलियामा छन् । उनले १२ असोजमा सिड्नीबाट सांगीतिक टुर सुरु गरेका थिए । दसैँ अवधिमा अस्टे«ेलियाका विभिन्न सहरमा प्रस्तुति दिँदै छन् । ‘पछिल्ला वर्षहरूमा विदेशमा पनि दसैँको रौनक बढ्दै छ । त्यहाँ बस्नेहरूले आफ्नो भाषा र संस्कृतिलाई निकै प्रेम गर्नुहुन्छ । नेपालीहरू विश्वभर फैलँदै गएकाले हाम्रो चाडपर्व पनि फैलँदै गएका छन् । प्रवासमा रहेकाहरूसँग बसेर दसैँ मनाउनुको मज्जा पनि बेग्लै छ,’ उनले भने । पछिल्ला चार वर्ष भने उनले दसैँका अवसरमा अमेरिकामा प्रस्तुति दिएका थिए । 

गायक तथा संगीतकार राजनराज शिवाकोटी पनि सांस्कृतिक कार्यक्रममै व्यस्त छन् । घटस्थापनाको दिन उनले भैरहवामा प्रस्तुति दिएका थिए । १९ असोजमा सुनाकोठीमा दसैँ विशेष ‘कुटुमा कुट साँझ’ थियो । फूलपातीमा बहराइनमा ‘कुटुमा कुट साँझ’ हुँदै छ । टीकाको दिन नेपाल फर्कने उनको कार्यक्रम छ । ‘यसपालिको दसैँ बहराइनमै बित्नेछ । टीकाको दिन फर्कने कार्यक्रम छ । त्यसपछि टीका लगाउनका लागि दोलखास्थित घर जानेछु ।’

गायिका सुनिता दुलाल अस्टे«लिया र युरोपमा तीजका अवसरमा विशेष प्रस्तुती दिएर दशैंका लागि नेपाल आइसकेकी छिन् । सिन्धुपाल्चोक जलवीरेमा उनको दशैं बित्नेछ । ‘काठमाडौं आएको एक सातामात्रै भयो । घरमै दशैं मनाउने योजना छ,’ उनले भनिन्, ‘गाउँमै दशैं रमाइलो लाग्छ । पिङ खेल्न निकै रमाइलो लाग्छ । गाउँमा एउटा मन्दिर र सामुदायिक भवन बनाएको छु । त्यहाँ दुईजना शिक्षक राखेर प्रौढ शिक्षा पनि सञ्चालन गराइरहेकी छु । यसपाली त्यही मन्दिरको सरसफाई गर्ने योजना छ । गाउँका बालबालिका र युवाहरुलाई सहभागि गराएर सडक छेउका झारहरु उखेल्ने, सरसफाईको काम गर्ने सोच छ ।’ 

विजय बराल अभिनीत ‘बेहुली फ्रम मेघौली’ अहिले हलहरूमा चलिरहेको छ । तिहारको अवसर पारेर लक्ष्मीपूजाका दिन उनको मुख्य भूमिका रहेको ‘पूर्णबहादुरको सारंगी’ रिलिज हुँदै छ । बरालले अहिले सोही चलचित्रको प्रमोसनको तयारी गरिरहेका छन् । 

‘कसरी सिर्जनात्मक तरिकाले प्रमोसन गर्न सकिन्छ भनेर सोचिरहेको छु । त्यस्तै, फूलपातीको दिन परिवारसहित सर्लाहीको लालबन्दीस्थित घर जाने तयारीमा छु,’ उनले भने, ‘त्यहाँ दसैँको माहोल निकै रमाइलो हुन्छ । त्यो बाल्यकाल बितेको ठाउँ हो । अघिल्लो वर्ष हजुरआमा बित्नुभएकाले दसैँ मनाउन पाइएन । यसपटक थोरै समय भए पनि घरमा बिताउने तयारी छ ।’

धेरै साथीभाइ भेट हुने भएकाले पनि उनलाई दसैँ विशेष लाग्छ । ‘बुबा–मम्मी त वेला–वेला काठमाडौं आउने–जाने गर्नुहुन्छ । तर, साथीभाइ भेट्ने अवसर जुरेको हुन्न । दसैँमा प्रायः सबै साथीभाइ जम्मा हुन्छन् । उनीहरूसँग जमघट गर्दा रमाइलो हुन्छ । सबैसँग भेट्ने, रमाइलो गर्ने एउटा उत्सवका रूपमा दसैँलाई लिन्छु । यसले समूहिकताको भावना विकास गर्छ ।’

बाल्यकालमा दक्षिणास्वरूप नयाँ नोट लिन पाउँदा प्राप्त हुने खुसीलाई उनले अझै बिर्सिएका छैनन् । ‘नयाँ नोटको बास्ना निकै राम्रो लाग्थ्यो । घरअगाडिको रूखमा मोटो डोरी हालेर पिङ खेल्थ्यौँ । सर्लाहीबाट जनकपुरस्थित मामाघर जाँदा पनि कहाँ न कहाँ पुगेजस्तो हुन्थ्यो । गाडीमा कोचिएर जाँदाको मज्जा पनि बेग्लै थियो,’ उनले भने । 
गायक अर्जुन पोखरेलले यसपटक दसैँ नमनाउने बताए । ‘ठुलोबुबा बित्नुभएकाले यसपालि दसैँ मनाउन मिल्दैन । टीका लगाउन नमिल्ने भए पनि पारिवारिक जमघट हुन्छ । केही दिन चितवनस्थित घरमै हुन्छु । हामी शोकमा छौँ, यतिवेला आफन्त भेट्दा अझै आत्मीयता महसुस हुन्छ । दसैँ आत्मीयताको चाड र आफन्त, साथीभाइ भेट्ने अवसर हो,’ उनले भने । 

यस समय नयाँ चलचित्रको स्क्रिप्टमा पनि काम भइरहेको  उनले बताए । ‘यसपालि मेरो होम प्रडक्सन ‘द डिभाइन म्युजिक’को प्रस्तुतिमा नयाँ फिल्म बन्दै छ । यसमा अन्य साथीभाइ पनि हुनुहुन्छ । त्यसैको स्क्रिप्टबारे छलफल हुँदै छ,’ उनले भने ।