१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ असोज १२ शनिबार o७:१६:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेश घुमेरै खर्चिए नेपालीले महिनामै सवा सात अर्ब

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o७:१६:oo

विदेश गएर उपचारमा गरे डेढ करोड खर्च, अध्ययनमा बिदेसियो १४ अर्ब ९२ करोड

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा नेपालीले विदेश सयर गर्न सात अर्ब २६ करोड ८३ लाख खर्चिएका छन् । यो रकम सोही महिनामा नेपाल भित्रिएका विदेशी पर्यटकले भित्र्याएको रकमभन्दा ६० प्रतिशत बढी हो । साउनमा नेपाल घुम्न आएका विदेशी पर्यटकले चार अर्ब ५२ करोड रुपैयाँ मात्र भित्र्याएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसरी पर्यटनबाट नेपालले सेवा खातामा दुई अर्ब ७४ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । 

अध्यागमन विभागका अनुसार १७ साउनदेखि १५ भदौसम्ममा विदेशबाट एक लाख ७६ हजार तीन सय ९८ जना यात्रु नेपाल भित्रिएका छन् भने दुई लाख ११ हजार नौ सय २१ जना नेपालबाट बिदेसिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकलाई आधार लिने हो भने यसबिच ७२ हजार सात सय १७ जना पर्यटक नेपाल भित्रिएका छन् । 

गत आर्थिक वर्ष ०८०/८१ को साउन महिनामा विदेश भ्रमणमा ६ अर्ब सात करोड २० लाख रुपैयाँ खर्च भएको केन्द्रीय बैंकले जनाएको छ । जबकि विदेशी पर्यटकले नेपालमा तीन अर्ब ५३ करोड २९ लाख रुपैयाँ खर्चिएका थिए । त्यस अवधिमा पर्यटनबाट सेवा खाताले दुई अर्ब ५३ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७९/८० को साउनमा यस्तो घाटा एक अर्ब ४६ करोड १३ लाख रुपैयाँ थियो । 

यसअघि केन्द्रीय बैंकले भ्रमण आय र व्ययको मात्रै तथ्यांक सार्वजनिक गर्दै आएको थियो । सेवा खाताअन्तर्गतको भ्रमण आय–व्ययभित्र शिक्षा, स्वास्थ्य र व्यवसायजस्ता प्रयोजनका लागि गरिने भ्रमणसमेत समावेश हुन्थ्यो । तर, आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनाबाट केन्द्रीय बैंकले छैटौँ संस्करणमा भ्रमणको आय–व्ययलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेको छ । 

अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदानको सही मूल्यांकन हुन नसक्दा सेवा खातामा व्यहोर्नुपरेको घाटालाई मात्रै चर्चा गरिँदै आएको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालको गुनासो छ । उनले भने, ‘हालसम्म पर्यटन क्षेत्रको योगदानलाई हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या र उनीहरूले भित्र्याउने पैसाका आधारमा मूल्यांकन गरिँदै आइरहेको छ । नेपालका सीमा क्षेत्रबाट भित्रिने विदेशी पर्यटक र उनीहरूले गर्ने खर्चको मूल्यांकन सरकारी निकायले गर्न सकेको छैन ।’ हवाईमार्गबाट आउने पर्यटकको आगमनलाई मात्रै मूल्यांकन गरिँदा यसको बहुमुखी प्रभाव र नेपालले उठाइरहेको लाभ भने छायामा परिरहेको उनको भनाइ छ । उनले भने, ‘विदेशी पर्यटक नेपाल आउँदा होटेल र रेस्टुरेन्टमा गर्ने खर्च, पर्यटन व्यवसायीको कमाइ, सरकारले उठाउने राजस्व र कामदारले पाउने पारिश्रमिकजस्ता विषयको पनि मूल्यांकन हुनुपर्छ । अन्तरदेशीय सीमा क्षेत्रबाट भित्रिने पर्यटकको ठुलो हिस्सेदारीको हिसाब राखिनुपर्छ ।’ 

नेपालले पर्यटन क्षेत्रबाट अनेक लाभ लिइरहे पनि यसमा सन्तुष्टि मान्नुपर्ने कारण नरहेको उनको भनाइ छ । उनले भने, ‘संसारका ठुलो जनसंख्या भएका छिमेकी देश चीन र भारतबाट समेत हामीले १ प्रतिशत पनि पर्यटक भित्र्याउन सकेका छैनौँ । यो विडम्बनापूर्ण छ ।’ 

शैक्षिक प्रयोजनमा बिदेसियो १४ अर्ब ९२ करोड 
शैक्षिक प्रयोजनमा बिदेसिने नेपालीले साउनमा १४ अर्ब ९२ करोड २३ लाख रुपैयाँ विदेश लगेका छन् । गत वर्षको साउनमा यस्तो प्रयोजनका लागि १० अर्ब ७४ करोड ६२ लाख रुपैयाँ बिदेसिएको थियो । आव ०७९/८० को साउनमा सात अर्ब १३ करोड एक लाख रुपैयाँ बिदेसिएको थियो । 

शैक्षिक प्रयोजनका लागि नेपाल आउने विदेशी नागरिकले चालू आर्थिक वर्षको साउनमा १६ करोड ७६ लाख रुपैयाँ खर्च गरेका छन् । जसकारण शैक्षिक प्रयोजनका लागि हुने आवतजावतबाट सेवा खातामा १४ अर्ब ७५ करोड ४६ लाखको घाटा व्यहोर्नुपरेको छ ।  

उपचारका लागि बिदेसिँदा डेढ करोड खर्च
स्वास्थ्य उपचारको प्रयोजनका लागि बिदेसिने नेपालीले साउनमा एक करोड ६६ लाख रुपैयाँ खर्च गरेका छन् । त्यस्नै, नेपालमा उपचार गराउन नेपाल आउने विदेशीको खर्च भने ३१ लाख रुपैयाँ छ । गत आवको साउनमा विदेशमा उपचार गर्दा नेपालीले २१ करोड पाँच लाख खर्च गर्दा विदेशीले १७ करोड ८० लाख रुपैयाँ नेपालमा खर्चिएका थिए ।

व्यापारिक प्रयोजनको भ्रमणबाट नेपाललाई २२ करोड घाटा
बिजनेस भिसाबाट गरिने भ्रमणबाट नेपालीले २९ करोड १० लाख रुपैयाँ खर्चिएका छन् । नेपालमा यस्तो भिसामा आउने विदेशीले भने सात करोड १३ लाख मात्रै खर्च गरेका छन् । जसअनुसार व्यापारिक भ्रमणमा नेपालले सेवा खातामा २१ करोड ९७ लाख घाटा व्यहोर्नुपरेको छ । गत आवको साउनमा यस्तो घाटा १२ करोड ७८ लाख रुपैयाँ थियो । ०७९/८० को साउनमा यस्तो घाटा १२ करोड २० लाख रुपैयाँ थियो ।   

नेपाली घुम्न जाने प्रमुख देशहरू : भारत, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, चीन, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, अमेरिका, जापान, ओमन, बेलायतलगायत छन् । भेनेजुयला, टोगो, स्लोभाकिया, पपुवा न्युगिनी, उत्तर कोरिया, फिजी, जमैकाजस्ता देशमा पनि नेपाली घुम्न जान थालेका छन् ।

नेपाल पर्यटक आउने प्रमुख देश : भारत, चीन, अमेरिका, थाइल्यान्ड, बेलायत, बंगलादेश, श्रीलंका, अस्ट्रेलिया, म्यानमार, जर्मनी, जापान, मलेसिया, साउथ कोरिया, अस्ट्रिया, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, इटाली, नर्वे, पोल्यान्ड, रसिया, स्विट्जरल्यान्ड, स्पेन, स्विडेन, युक्रेन, क्यानडा, न्युजिल्यान्ड, इजरायल, टर्कीलगायत देशबाट सबैभन्दा धेरै पर्यटक आउने गर्छन् ।

पर्यटनको सही मूल्यांकन भएको छैन : सुरेशसिंह बुडाल, सिइओ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर
हालसम्म पर्यटन क्षेत्रको योगदानलाई हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या र उनीहरूले भिœयाउने पैसाका आधारमा मूल्यांकन गरिँदै आइरहेको छ । नेपालका सीमा क्षेत्रबाट भित्रिने विदेशी पर्यटक र उनीहरूले गर्ने खर्चको मूल्यांकन सरकारी निकायले गर्न सकेको छैन । पर्यटक आउँदा होटेल र रेस्टुरेन्टमा गर्ने खर्च, पर्यटन व्यवसायीको कमाइ, सरकारले उठाउने राजस्व र कामदारले पाउने पारिश्रमिकजस्ता विषयको पनि मूल्यांकन हुनुपर्छ । 

पर्यटन क्षेत्रको चुहावट रोक्नुपर्छ : मणिराज लामिछाने सूचना अधिकारी, नेपाल पर्यटन बोर्ड
पर्यटन क्षेत्रमा धेरै चुहावट छन् । पछिल्लो समयमा नेपालमा अन्तर्राष्ट्रिय चेन होटेल छन् । तर, नाफाको ठुलो हिस्सा बाहिर लैजान्छन् । नेपाली लगानीको हुन्थ्यो भने स्वदेशमै पैसा बचाउन सकिन्थ्यो । हाम्रोमा पर्यटन क्षेत्रको गुणस्तर कमजोर छ । खानाको गुणस्तर छैन । बाहिरबाट सामग्री आयात गर्नुपरेको छ । भारत र चीन जाने हो भने त्यहाँका होटेलहरूमा स्थानीय उत्पादन प्रयोग गरेका हुन्छन् । आयातीत सामान बाहिरबाट ल्याउनुपरेको छ ।