१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024
२o८१ असोज १२ शनिबार o९:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढी पहिरोमा परी कोशीमा ६ जनाको मृत्यु, आठ जना बेपत्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १२ शनिबार o९:१९:oo

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धनकुटामा दुई जना, पाँचथरमा तीन जना र इलाममा एक जना रहेका छन् ।

धनकुटाको पाख्रिवास नगरपालिका-५ गुँरासेदेवीथानमा पहिरोले पुरेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ३ बजे पहिरोले पुरिएर ३० वर्षीया आशा तामाङ र उनकी आमा ५० वर्षीय रामकुमारी तामाङको मृत्यु भएको हो । घरमा सामान निकाल्ने क्रममा उनीहरुलाई पहिरोले पुरेको प्रदेश प्रहरी कार्यालय कोशीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जानकारी दिए । उनीहरुको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले निकालेर जिल्ला अस्पताल धनकुटा पठाएको उनले बताए । 

यस्तै, सोही पहिरोमा परी २४ वर्षीया गर्भवती महिला मिनमाया तामाङ घाइते भएकी छन् । उनको सामान्य अवस्थामा जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । यस्तै, शनिबार बिहान पहिरोमा परी पाँचथरको फिदिम-४ चिसापानीमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम-१२ की २४ वर्षीया सपना शेर्पा र उनकी ६ वर्षीया छोरी डोल्मा रहेको प्रहरीले जनाएको छ । फिदिम-४ स्थित आदिवासी जनजाति महासंघको भवन रेखदेख गर्न बसेकी फुर्लु शेर्पाकोमा पाहुना आएका उनीहरु सुतिरहेको अवस्थामा महासंघको भवनलाई पहिरोले पुर्दा आमाछोरीको मृत्यु भएको हो । सँगै सुतेका मध्ये अन्य तीन जना भागेर बच्न सफल भएका छन् । 

यस्तै, पाँचथरको फिदिम नगरपालिका(१ साँगेबोटेमा पहिरोमा परी ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम(१ कात्तिके घर भई राजकुमार नेम्वाङको घरमा डेरा लिई फुरुङ्गा हाइड्रोपावरमा काम गर्ने उनलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी चार जना बेपत्ता भएका छन् । पहिरोमा परी सोही ठाउँका कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो र सरस्वती तुम्बापो बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य भइरहेको छ । यस्तै, इलामको माई नगरपालिका( ८ मा सेते खोलाले बगाउँदा स्थानीय ६८ वर्षीय मैतेबहादुर लिम्बुको ज्यान गएको छ ।

शुक्रबार खोला तर्ने क्रममा बगेका उनलाई स्थानीयले उद्धार गरेका थिए । तर, उपचारका लागि झापा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, खेलाले बगाउँदा झापामा तीन र मोरङमा एक गरी चार जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।