Skip This
महिला राष्ट्रिय लिग : सुदूरपश्चिम टोलीमा खेलाडी  छनोटदेखि प्रशिक्षक नियुक्तिसम्म विवाद 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
फाइल तस्बिर
रमेश सुवेदी काठमाडाैं
२o८१ असोज १ मंगलबार o८:४५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला राष्ट्रिय लिग : सुदूरपश्चिम टोलीमा खेलाडी  छनोटदेखि प्रशिक्षक नियुक्तिसम्म विवाद 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o८:४५:oo

प्रदेश फुटबल संघले छनोट खेलमा च्याम्पियन बनाएका खेलाडी र प्रशिक्षकलाई निरन्तरता नदिई पुनः छनोट र नयाँ प्रशिक्षक नियुक्ति गरेपछि  महिला राष्ट्रिय लिगमा असर 

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागी सुदूरपश्चिम प्रदेश टोली र संघका पदाधिकारीबिचको विवादले मैदानभित्र खेलाडीको प्रदर्शनमा असर परेको छ । लिगको पाँचौँ खेलसम्म सुदूरपश्चिम जितविहीन भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा भएको खेलाडी छनोटदेखि समस्या देखिएको टोलीमा सबै नयाँ खेलाडी छन् । अनुभव नभएका खेलाडीले अहिलेसम्म ३७ गोल व्यहोरेका छन् भने विपक्षी पोस्टमा तीन गोल फर्काएका छन् । मीना देउवा, कप्तान अञ्जली चन्द, अस्मिता चौधरी, विर्सना चौधरी, रिना चन्द, गंगा चौधरी, विनिता बोहराजस्ता अनुभवी खेलाडीविना सुदूरपश्चिमले लिग खेलिरहेको छ ।

प्रशिक्षक नियुक्ति र खेलाडी छनोटमै समस्या आउँदा राष्ट्रिय लिगमा प्रदर्शन कमजोर भएको सुदूरपश्चिम फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । ‘अहिले हाम्रो टोलीमा आबद्ध खेलाडीहरू ‘सी’ श्रेणीका हुन् । नियमित खेल्ने खेलाडीले अनावश्यक राजनीति गरेका कारण खेलेका छैनन्,’ श्रेष्ठले भने, ‘केही सिनियर खेलाडी निलम्बनमा परेका छन्, यसैकारण लिगमा राम्रो नतिजा निकाल्न नसकेको हो ।’ 

प्रशिक्षक दिपेश योञ्जन लामाले सिनियर खेलाडी र संघबिचको विवाद आफूलाई जानकारी नभएको बताए । ‘पुराना खेलाडी र संघको विवादबारे मलाई थाहा छैन । एकै दिनमा खेलाडी छनोट गरेर टोली बनाउनुपर्ने अवस्था आएको थियो । सुदूरपश्चिमको प्रदर्शन र टिम बिग्रनुमा मेरो केही संलग्नता छैन,’ उनले भने, ‘प्रशिक्षणको जिम्मेवारी पाएपछि उपलब्ध भएका खेलाडीलाई समेटिएर लिग खेल्न आएका हौँ ।’ 

लिगमा सुदूरपश्चिमको कमजोर प्रदर्शन भएपछि कैलाली जिल्ला फुटबल संघले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई किन नउतारेको भनी प्रश्न संघलाई गरेको छ । ‘हामी विभागीय टोलीलाई पराजित गर्न सक्ने क्षमता भएको टोली हो । सिनियर खेलाडी किन बाहिर र नयाँ खेलाडीलाई खेलाउनुको कारण बुझ्न सकिएन,’ कञ्जनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दले भने, ‘घटना के हो र खेलाडीले एकैपटक अनावश्यक माग किन राखे ।’  

प्रशिक्षक नियुक्तिले निम्त्यायो विवाद
सुदूरपश्चिमले छनोट खेल्दा धनगढीको अल स्टार फुटबल एकेडेमीका खेलाडीको बाहुल्य थियो । एकै सेटमा खेल्ने खेलाडीबिच राम्रो तालमेल थियो । ०७८ मा लिग हुँदा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ३–२ ले हराएको थियो । प्रदेश फुटबल संघका उपाध्यक्ष राधवेन्द्र कार्कीले योपटक महिला लिगमा सुदूरपश्चिमले उत्कृष्ट नतिजा निकाल्ने दाबी गरेका थिए । उनले नियुक्तिको विषय नै लिगमा असर गरेको बताए । 

खेलाडीले नियमित प्रशिक्षण गराएका सुरज घिसिङलाई प्रशिक्षक बनाइनुपर्ने माग राखेका थिए । संघका अध्यक्ष श्रेष्ठ राष्ट्रिय लिगमा नयाँ प्रशिक्षक नियुक्त र खेलाडी छनोट फेरि हुनुपर्ने निर्णय गरेका थिए । संघले ९ भदौमा एएफसी ‘बी’ लाइसेन्स प्राप्त दिपेशलाई प्रशिक्षक बनायो । उनले १२ भदौमा नयाँ ढंगले खेलाडी छनोट गरेका थिए । 

प्रशिक्षक दिपेशले नयाँ खेलाडी छनोट गरी सुदूरपश्चिमको टोली बनाएपछि असन्तुष्ट २६ खेलाडीले पत्रकार सम्मेलन नै गरे । नेपालको यू–२० टोलीबाट साफ च्याम्पियनसिप खेलिसकेकी कप्तान अञ्जली चन्दलगायतले सुरुमा छनोट भएका सबै खेलाडी काठमाडौं जान पाउनुपर्ने, दैनिक म्याच फीसँगै अन्य सुविधा राखी विद्रोह गरे । माग पूरा नभए महिला लिगमा सुदूरपश्चिम टोलीमा नरहने उनीहरूले संघलाई चेतावनी दिएका थिए । तर, अध्यक्ष श्रेष्ठ आफ्नो निर्णय परिवर्तन नहुने बताएपछि सिनियर खेलाडीहरू लिगमा सहभागी भएनन् । टोलीमा सिनियर खेलाडीमध्ये गोलरक्षक टिकेश्वरी साउद मात्र छिन् । लिगको दुई खेलमा सुदूरपश्चिममा १६ खेलाडी मात्र थिए । त्यसपछि संघले २३ खेलाडी पुर्‍याएको हो । थप भएका खेलाडीमा लीला चन्द र शान्ति विक पनि छन् । 

खेलाडीले रिलिज पेपर नै पाएनन् 
संघसँग असन्तुष्टि जनाएपछि खेलाडीले रिलिज पेपर (एक क्लबबाट अर्काे क्लबमा अनुबन्ध हुँदा पाउने पत्र) पाएका छैनन् । संघले कप्तान अञ्जली र हेमा चौधरीलाई अनिश्चित निलम्बन गरेको छ । अध्यक्ष श्रेष्ठले खेलाडीलाई रिलिज पेपर नदिएको बताए । खेलाडीले धोका दिएकाले रिलिज पेपर नदिएको उनको भनाइ छ । ‘अन्तिम समयमा आएर खेलाडीले नखेल्ने भनेर हामीलाई धोका दिएपछि रिलिज पेपर नदिएको हो,’ उनले भने, ‘अझै पनि १२ जनालाई टिममा हाल्छु, किन विवाद निम्त्याएको हो ? स्पष्टीकरण दिनु भनेको छु । क्षमायचना नमागेसम्म रिलिज पेपर दिन्नौँ ।’