Skip This
दसैँको अग्रिम टिकट बुकिङ अझै अन्योलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार o८:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँको अग्रिम टिकट बुकिङ अझै अन्योलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o८:५८:oo

मन्त्रीले पर्याप्त समय नदिएपछि बुधबारको बैठक विनानिष्कर्ष टुंगियो

दसैँ नजिकिँदै गर्दा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र यातायात व्यवसायीबिच अझै पनि सहमति जुट्न सकेको छैन । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालयसहितका सरोकारवाला निकाय र यातायात व्यवसायीबिच भएको बैठक विनानिष्कर्ष सकिएको छ ।

बुधबार बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्ण रूपमा समय दिन सकेनन् । मन्त्री बिचमै अन्यन्त्रै कार्यक्रममा जानुपर्ने भएपछि बुधबारको बैठक विनानिष्कर्ष सकिएको स्रोतको भनाइ छ । घटस्थापना १७ असोजमा रहेको छ । तर, घटस्थापना आउन दुई साता मात्रै बाँकी हुँदा पनि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र व्यवसायीबिच सहमति हुन सकेको छैन । घटस्थापनाको कम्तीमा पनि एक साताअघि अर्थात् १० असोजदेखि अग्रिम टिकट खुलाइसक्नुपर्ने दबाब छ । 

विशेषगरी, सरकार र व्यवसायीबिच भाडादर वृद्धि गर्ने विषयमा सहमति जुट्न नसकेको हो । पछिल्लो तीन वर्षदेखि सार्वजनिक यातायातको भाडादर समायोजन भएको छैन । पेट्रोलियम पदार्थको मूल्यमा हुने परिवर्तनलगायतका आधारमा हरेक वर्ष चैत मसान्तभित्र भाडादर समायोजन गर्नुपर्ने नीति छ । तर, पछिल्लो तीन वर्षदेखि त्यसअनुसार भाडादर समायोजन हुन नसकेको व्यवसायीहरू बताउँछन् । सरकारले भने चाडपर्वको वेला भाडादर बढाउन चाहेको छैन । तर, व्यवसायीहरू भने अहिले नै यस विषयमा ठोस निर्णय गर्नुपर्ने अडानमा छन् । 

मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले अबको बैठकमा अग्रिम टिकट बुकिङ सम्बन्धमा उचित निर्णय हुने बताए । ‘सरकार र व्यवसायीबाट आएका प्रस्तावमा सकारात्मक छलफल भएको छ । अधिकांश विषयमा सहमति भइसकेको पनि छ । तर, बुधबार मन्त्रीज्यूको व्यस्तताका कारण ठोस निर्णय हुन सकेन,’ उनले भने, ‘आइतबारपछि मन्त्रीज्यूकै उपस्थितिमा अर्काे बैठक बस्नेछ । सोही बैठकले अग्रिम टिकट बुकिङ खुलाउनेलगायतका विषयमा निर्णय गर्नेछ ।’ घटस्थापनाभन्दा एक साताअघि अर्थात् १० असोजको आसपासबाटै अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको उनको भनाइ छ । 

बुधबारको बैठकमा सरकारले १० गतेदेखि अग्रिम बुकिङ खुलाउन व्यवसायीहरूलाई प्रस्ताव गरेको छ । अबको बैठकले सोही मितिदेखि अग्रिम बुकिङ खुलाउन सहमति तथा निर्णय गर्न सक्ने उनको भनाइ छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बुधबारको बैठक विनानिष्कर्ष टुंगिएको बताए । ‘भाडादर समायोजन गर्नुपर्ने, सडक मर्मत गर्नुपर्नेलगायतका माग व्यवसायी साथीहरूका छन् । त्यसमा छलफल भइरहेको थियो । तर, बुधबार ठोस सहमति हुन सकेन,’ उनले भने, ‘अब आइतबारपछि बैठक बसेर ठोस निर्णय गर्नेछौँ ।’

व्यवसायीले सडक मर्मतको एजेन्डा पनि बलियो रूपमा उठाएका छन् । दसैँलक्षित सडक मर्मत सरकारको नियमित कार्यक्रम नै हो । तर, यसपालि १४ असोजसम्मै मनसुन हुने अनुमान छ । त्यो अवस्थामा घटस्थापना (१७ असोज) सम्म सडक मर्मत गर्न चुनौती देखिएको छ ।

विस्तार गर्ने काम र बर्खाले गर्दा अहिले अधिकांश राजमार्गमा खाल्डाखुल्डी तथा पहिरो छन् । त्यसले गर्दा गाडीको यात्रा गर्ने समय पनि लम्बिएको छ । सामान्यतः काठमाडौंबाट धनगढी पुग्न १८ घण्टा समय लाग्छ । तर, सडक राम्रो नहुँदा अहिले २८ घण्टासम्म लाग्ने गरेको छ । यस विषयमा सरकार गम्भीर हुनुपर्ने राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।