Skip This
हिजबुल्लाहका हजारौँ पेजर कसरी एकैपटक विस्फोट भए ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
२o८१ असोज ३ बिहीबार o९:o७:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

हिजबुल्लाहका हजारौँ पेजर कसरी एकैपटक विस्फोट भए ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o९:o७:oo

लेबनानको सिया लडाकु समूह हेजबुल्लाहका सदस्यले एक–आपसमा सञ्चार गर्न प्रयोग गर्ने पेजर विस्फोट हुँदा एक बालकसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा झन्डै तीन हजारजना घाइते भएका छन् । लेबनानभरिका अस्पताल घाइतेले भरिएका छन् । हजबुल्लाहले घटनाका लागि इजरायललाई दोष दिएको छ र यसको बदला लिने वाचा गरेको छ । 

इजरायलले विस्फोटबारे कुनै प्रकारको टिप्पणी गर्न अस्वीकार गरेको छ । तर, इजरायली सेनाले अक्टोबर ७ को हमास आक्रमणपछि सुरु भएको युद्धमा लेबनानको सिमानामा हिजबुल्लाहविरुद्धको लडाइँलाई समेत समावेश गर्ने गरी युद्ध–लक्ष्य विस्तार गर्ने घोषणा गरेको केही घण्टापछि घटना भएको हो । 

रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्ने एक लेबनानी सुरक्षा स्रोतका अनुसार हिजबुल्लाहले आफ्ना सदस्यका लागि अर्डर गरेको पाँच हजार नयाँ पेजरभित्र थोरै परिणाममा विस्फोटक पदार्थ राखिएजस्तो देखिन्छ । यो कामका ती स्रोतले इजरायलको गुप्तचर सेवा मोसादलाई जिम्मेवार ठहर्‍याए । ‘मोसादले पेजरभित्र एउटा सानो बोर्ड राखिदिएको थियो, जसभित्र कोड प्राप्त गर्न सक्ने विस्फोटक सामग्री थियो । त्यसलाई कुनै पनि माध्यम वा स्क्यानरले पहिचान गर्न कठिन हुने गरी राखिएको थियो,’ लेबनानी स्रोतले रोयटर्सलाई भने ।

मोसादले आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । अर्का सुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ कि नयाँ पेजरमा तीन ग्रामसम्म विस्फोटक पदार्थ लुकाएर राखिएको हुन सक्छ, जुन महिनौँसम्म हेजबुल्लाहका सदस्यले बोक्दा पनि पहिचान हुन सकेन । 

न्युयोर्क टाइम्सका अनुसार विस्फोट भएका पेजरमा स्थानीय समयअनुसार दिउँसो ३:३० बजे एउटा सन्देश प्राप्त भएको थियो, जुन समूहको नेतृत्वबाट आएकोजस्तो देखिन्छ । त्यस सन्देश पेजरहरूका विस्फोटक पदार्थ सक्रिय पार्ने कोडेड सन्देशअनुरूप भएको हुन सक्ने सुरक्षाविदले अनुमान गरेका छन् ।

मंगलबारको पेजर विस्फोट कार्यान्वयन गर्न लामो समयदेखि काम भइरहेकोजस्तो देखिएको धेरै स्रोतहरूले रोयटर्सलाई भने । लेबनानी अधिकारीहरूका अनुसार हेजबुल्लाहले पछिल्लो लटमा ताइबानमा मुख्यालय रहेको कम्पनी ‘गोल्ड अपोलो’को पाँच हजार थान पेजर अर्डर गरेको थियो । यही लटका पेजर नै विस्फोट भएका छन् । ओपन–सोर्स गुप्तचर समूह बेलिङक्याटका विश्लेषकले पनि विस्फोट भएका पेजर गोल्ड अपोलोका रहेका पुष्टि गरेका छन् । 

एक उच्च लेबनानी स्रोतले रोयटर्ससँगको कुराकानीमा यस लटका पेजरहरूको उत्पादनको चरणमै इजरायलको जासुसी संस्था मोसादले आफ्ना जनशक्ति घुसाएको हुन सक्ने अनुमान गरे । तथापि ताइबानी कम्पनी ‘गोल्ड अपोलो’ मोसादको यस घुसपैठबारे पहिले जानकारी रहेको कुनै प्रमाण भेटिँदैन ।

‘इजरायलले नयाँ ब्याचका पेजरहरूमा विस्फोटक पदार्थ राख्नका लागि ती उपकरणको आपूर्ति शृंखलामै पहुँच राखेको हुन सक्छ,’ ब्रसेल्समा आधारित सुरक्षा विश्लेषक एलिजाह म्याग्नियरले एएफपीलाई भने । 

पेजर म्यासेज प्राप्त गर्न सक्ने र केही अवस्थामा म्यासेज पठाउनसमेत सकिने एउटा सानो वायरलेस उपकरण हो । यसबाट कल भने गर्न सकिँदैन । सन् १९८० र ९० को दशकमा पश्चिममा निकै लोकप्रिय यो उपकरणको प्रयोग मोबाइल फोनको आगमनपछि घटेर गयो ।

हिजबुल्लाहले भने सुरक्षालाई मध्यनजर गर्दै पेजरलाई अझै उपयोग गर्ने गरेको छ । मोबाइल फोनभन्दा फरक यस उपकरणमा गरिने म्यासेज आदानप्रदान शक्तिशाली इजरायली गुप्तचर संस्थाले ट्र्याक वा निगरानी गर्न सक्दैन । जबकि, मोबाइल फोन कुन स्थान छ भनेर सजिलै पहिचान गर्न सकिन्छ । यसमा भएका संवाद सुन्न पनि सकिन्छ । 

हिजबुल्लाह मोबाइल फोनको प्रयोगको खतराबारे राम्ररी जानकार छ । तर, हेजबुल्लाहले सुरक्षित ठानेको पेजर आफैँ सम्भावित हतियारको रूपमा प्रयोग हुन सक्ने अनुमान गर्न सकेन । जसका कारण उसले अत्यन्त लज्जास्पद स्थितिको सामना गर्नुपरेको छ । यस घटनाले समूहका लडाकुको मनोबलमै असर पुर्‍याउन सक्ने ठानिएको छ । 

‘यो घटना हिजबुल्लाहले दशकौँयता सामना गरेको सबैभन्दा ठुलो प्रतिगुप्तचर असफलता हो,’ मध्यपूर्वका अमेरिकी सरकारका पूर्वउपराष्ट्रिय गुप्तचर अधिकारी जोनाथन पानिकोफले भने । 

– गार्जियनबाट