Skip This
फुटबल हुनुपर्ने दशरथ रंगशालामा एसिया रग्बी हुँदै 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ असोज ३ बिहीबार o८:३२:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबल हुनुपर्ने दशरथ रंगशालामा एसिया रग्बी हुँदै 

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o८:३२:oo

फुटबलबाहेक रग्बी, विश्वविद्यालयका कार्यक्रम र कन्सर्टलगायत विभिन्न कार्यक्रम आयोजना गर्न दिँदा मैदान बिग्रिएपछि रंगशालाको मापदण्ड खोसिँदै आएको छ

नेपालको एक मात्रै अन्तर्राष्ट्रिय मान्यताप्राप्त दशरथ रंगशालामा फुटबलबाहेक रग्बी, कन्सर्टसँगै विश्वविद्यालयका विभिन्न कार्यक्रम आयोजना हुँदा सर्वत्र आलोचना हुँदै आएको छ । पाँच महिनाअघि मात्रै मैदानको दुबो स्तरीय नभएको, माटो सतह नमिलेको, फ्लडलाइट स्तरीय नभएको र सुरक्षाको कारण देखाउँदै एसियन फुटबल महासंघ (एएफसी)ले मान्यता खोसेको थियो । २९ साउनमा एएफसी च्यालेन्ज लिग छनोट खेल्दा वर्षा भयो र मैदान पूरै हिलाम्मे भयो । जसको सर्वत्र आलोचना भयो ।

अहिले त्यही मैदानमा एसिया रग्बी महिला तथा पुरुष सेभेन्स प्रतियोगिता आयोजना हुने भएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता १८ र १९ असोजमा हुँदै छ । नेपालमै आयोजना भएको सबैभन्दा ठूलो प्रतियोगिता दाबी गरिरहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रग्बीलाई दिएको स्वीकृति विवादमा परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीपक खतिवडाले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मान्यता खोस्ने काम भएको आरोप लगाए । ‘भर्खरै एसियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालालाई मान्यता दिएको थियो । अब रग्बी आयोजना गरेर पुनः बिगार्ने र अन्तर्राष्ट्रिय मान्यता खोस्ने काम हुँदै छ,’ खतिवडाले नयाँ पत्रिकालाई भने । 

२९ साउनमा दशरथ रगंंशालामा एएफसी च्यालेन्ज लिग आयोजना भएको थियो । नेपालको चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीले खेल्दा मैदान हिलाम्मे भएपछि चौतर्फी आलोचना भयो । प्रधानमन्त्री केपी ओलीले दशरथ रंगशालामा फुटबलबाहेक अन्य खेल नगर्न राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन नै दिए । 

१३ भदौमा महिला भलिबल टोलीलाई पुरस्कार वितरण गर्दा दशरथ रंगशालाको दुरुपयोग भएको र फुटबलबाहेकका खेल अन्य मैदानमा गर्न निर्देशन दिए । राखेपले भने प्रतियोगिताका लागि रग्बी संघबाट पहिलो माग भएकाले स्वीकृति दिएको बताएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङले भने, ‘हामीले प्रतियोगिता गर्न धेरै पहिला स्वीकृति दियौँ । त्यहीअनुसार प्रतियोगिता गर्न नेपालले स्वीकृति पाएको थियो । अन्तिम समयमा रद्द गर्दा अन्तर्राष्ट्रिय म्यासेज कमजोर हुने भयो,’ उनले भने । 

रग्बी संघका अनुसार पुरुष सेभेन्सतर्फ १४ वटा टिम र महिला सेभेन्समा आठवटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा एसियाका ४५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुने महासचिव गोविन्द घिमिरेले बताए । उनले फुटबलभन्दा फरक खेल भएकाले मैदान नबिग्रने प्रस्ट पारे । ‘फुटबलभन्दा रग्बी फरक खेल हो । त्यसैले मैदान त्यति बिग्रँदैन,’ उनले भने, ‘नेपालमा प्रतियोगिता गर्न स्वीकृति भइसकेको थियो । च्यासलको मैदान मापदण्डअनुसार छैन । पोखरा लैजाँदा आर्थिक समस्या हुने भयो । त्यसैले दशरथ रंगशालामै गर्‍यौँ ।’

फुटबल मात्रै गर्न प्रधानमन्त्रीको निर्देशन
१३ भदौमा प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको दुरुपयोग नगर्न खेलकुदमन्त्री तेजुलाल चौधरी र राखेप सदस्यसचिव घिसिङलाई निर्देशन दिएका थिए । काभा नेसन्स लिग उपविजेता महिला टोलीलाई सम्मान गर्दै उनले रंगशालाको दुरुपयोग हुँदा राष्ट्रकै बेइज्जत भएको बताएका थिए । उनले आफूले कहिल्यै रंगशालाको यस्तो दूरवस्था नदेखेको दाबी गरेका थिए । एएफसी च्यालेन्ज लिग छनोटमा चर्च ब्वाइज र पारो प्रतिस्पर्धा गर्दा खेलअघि भारी वर्षा भयो र मैदान हिलाम्मे बन्यो । चारैतिर पानी जमेपछि खेलाडी नै नचिनिने अवस्थामा पुगेका थिए । पारोमा अनुबन्धित जापानका विश्वचर्चित खेलडी केइसुके होन्डाले मैदानको स्तरको विषयमा आक्रोश पोखेका थिए ।

१२ दिनपछि नै साफ च्याम्पियनसिप
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को तालिकाअनुसार रग्बी आयोजना सम्पन्न भएको १२ दिनपछि नै महिला साफ च्याम्पियनसिप नेपालमा हुँदै छ । १ कात्तिकबाट सुरु हुने प्रतियोगितामा नेपालले २ कात्तिकमा भुटानको सामना गर्दै छ । 

सबै खेल दशरथ रंगशालामा गर्न एन्फाले राखेपसँगै स्वीकृति लिइसकेको छ । दशौँ हजार समर्थक उपस्थिति हुने मैदान रग्बीकै कारण तयार हुनेमा शंका रहेको उपाध्यक्ष खतिवडाले बताए । ‘रग्बी भएको १२ दिनमै राखेपले रंगशाला कसरी तयार गर्छ ?’ उनले भने, ‘अन्तिम समयमा प्रतियोगिता सार्नुपर्ने अवस्था आउन सक्छ ।’ राखेपका सदस्यसचिव टंकलाल घिसिङले १२ दिनमा मैदान तयार हुने बताए । ‘प्राविधिकसँग छलफल भएको छ । रग्बी सकिएपछि साफ च्याम्पियनसिप गर्न मैदान तयार हुन्छ ।’

राखेपबाट स्वीकृति लिएर प्रतियोगिता गर्दै छौँ  : गोविन्द घिमिरे, महासचिव, रग्बी संघ
रंगशालामा रग्बी आयोजना गर्न राखेपबाट नै स्वीकृति लिएका हौँ । यसअघि पनि रग्बीका प्रतियोगिता दशरथ रंगशालामै गरेका थियौँ । ५–६ महिनादेखि प्रतियोगिताको तयारी गर्‍यौँ र यही मैदान देखाएर नेपाललाई आयोजना गर्न दिएको हो । सात–सातजनाले मात्रै खेल्ने भएकाले मैदान बिग्रन्छ जस्तो लाग्दैन । मैदानका लागि प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गरेका थियौँ । एन्फाको साथीहरूले बढाइचडाइ गरेर कुरा गरेका रहेछन् । मैदान निर्माणमा ध्यान नदिँदा एन्फा र रग्बीलाई प्रतिस्पर्धी बनाइयो । रग्बी प्रतियोगिता सकिएको  दुई सातापछि मात्रै साफ च्याम्पियनसिप हुने हो । त्यसवेलासम्म दशरथ रंगशाला तयार भइसक्छ । यो मैदानबाहेक अन्यत्र गर्न काठमाडौंमा च्यासल मैदानमा मापदण्ड पुग्दैन । पोखरा लैजान धेरै खर्च लाग्छ । 

एन्फाभन्दा पहिल्यै रग्बीले स्वीकृति मागेको हो : टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै छ । योजतिको ठूलो प्रतियोगिता अहिलेसम्म नेपालमा भएको थिएन । १७ देशका चार सयभन्दा धेरै खेलाडी आउँदै छन् । यो कुनै पनि प्रतियोगितामा नेपाल भित्रिएका सबैभन्दा धेरै खेलाडी हुन् । परिषद्मा एन्फाभन्दा पहिला रग्बी संघ स्वीकृति माग्न आएको थियो । प्रतियोगिता नै पक्का भएपछि आयोजना गर्न फिर्ता लिन मिल्दैन । देशको प्रतिष्ठासँग कुरा रहन्छ । फेरि रग्बी र फुटबल फरक खेल हुन् । त्यसैले मैदानमा समस्या हुँदैन । १२ दिनपछि साफ च्याम्पियनसिप हुने हुँदा मैदान पुनः तयार भइसक्छ । 

फुटबल प्रतियोगिता गर्न नदिने मनसाय हो : दीपक खतिवडा, उपाध्यक्ष, एन्फा
रग्बी खेल नै गराउनु हुँदैन भन्ने हाम्रो मान्यता होइन । च्यासल मैदान वा पोखरा लैजान सकिन्छ । साफअघि रग्बी गराउँदा मैदानमा झनै समस्या आउँछ । प्रधानमन्त्रीले सीधै दशरथ रंगशालामा रग्बी गर्नु हुँदैन भन्नुभएको छ । राखेपले प्रधानमन्त्रीको निर्देशन मान्नुपर्ने हो । दशरथ रंगशालामा रग्बी गर्नु भनेको नेपाली फुटबल र एन्फालाई तल पार्ने वातावरण भएको छ । दाबाका साथ भन्छु प्रधानमन्त्रीले कुनै पनि हालतमा स्वीकृति दिनुभएको छैन । एएफसीले मान्यता दिएको मैदान यही हो । अब, यो पनि पुनः खोस्ने काम राखेपले गरेको छ ।