१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
२o८१ भदौ २४ सोमबार १o:१५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

घर निर्माण सम्पन्नता प्रमाणपत्र लिँदा घुस : पोखरा महानगरका इन्जिनियर र सबइन्जिनियरलाई कैद सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:१५:oo

घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिएको आरोप लागेका पोखरा महानगरपालिकाका इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकाया तथा गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ । अदालतका न्यायाधीश खुसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले २० भदौमा इन्जिनियर बराल र सबइन्जिनियर रोकायालाई जनही एक लाख ७५ हजार नगद जरिवानासँगै आठ महिना कैद सजाय सुनाएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । मतियारको कसुर गरेको आरोपमा कुँवरलाई चार महिना कैदसँगै ८७ हजार पाँच सय जरिवाना सुनाएको छ ।

रेग्मीका अनुसार इन्जिनियर बराल र सबइन्जिनियर रोकायालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दाफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो तीन लाख ५० हजारको दामासाहीले हुने एक लाख ७५ हजार जरिवाना र आठ महिना कैद सजाय सुनाइएको हो । अदालतले इन्जिनियर बरालले बैंकमा दाखिला गरेको रिसवत रकम दुई लाख जफत गरी उजुरीकर्तालाई भराइदिन आदेशसमेत गरेको छ ।

२८ चैत ०८० मा पोखरा– १० स्थित घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने कामका लागि सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिँदालिँदै आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले सबइन्जिनियर रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका कुँवरलाई रंगेहात पक्राउ गरेको थियो । घटनामा संलग्न भएको आरोपमा वैशाख पहिलो साता महानगरका इन्जिनियर बराललाई समेत आयोगले पक्राउ गरेको थियो । 

अनुसन्धानका क्रममा पक्राउ परेका तीनजनाले घर निर्माण सम्पन्न प्रमाणपत्र दिन तीन लाख ५० हजार घुस÷रिसवत माग गरेका थिए । मागेको रकममध्ये दुई लाख रुपैयाँ कुँवरमार्फत रोकाया हुँदै बरालले लिएका थिए । बरालले दुई लाख आफ्नै नाममा रहेको बैंक खातामा जम्मासमेत गरेको र बाँकी एक लाख ५० हजार लिने क्रममा उनीहरूलाई आयोगको टोलीले २८ चैतमा पक्राउ गरेको थियो ।