१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २४ सोमबार १o:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गाउँपालिका उपाध्यक्ष र दुई प्रमुख प्रशासकीय अधिकृतसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:o८:oo

दुई अलग–अलग योजनामा १७ लाख ६५ हजार रुपैयाँभन्दा बढी भुक्तानी दिने गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष र दुई प्रमुख प्रशासकीय अधिकृतसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका– ५ स्थित पर्यटन क्षेत्र गेट निर्माणसम्बन्धी र वडा नम्बर १ देखि ५ सम्म सोलार बत्ती जडान गर्ने योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । 

पर्यटन क्षेत्रमा गेट निर्माणसम्बन्धी योजनामा ११ जना र सोलार बत्ती जडान योजनामा नौजनालाई अख्तियारले प्रतिवादी कायम गरेको छ । गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे र अन्य दुई सदस्य दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव भने दुवै मुद्दामा प्रतिवादी छन् । 

गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा वडा नम्बर ५ मा गेट निर्माण, अधुरो भवन निर्माण, रङरोगन, संवद्र्धन तथा व्यवस्थापन कार्यका लागि योजना अघि सारेको थियो । पालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव र इन्जिनियर खुर्सेद इक्रामले योजनाको सम्झौतापत्रमा सहीछाप तथा स्वीकृत गरेका थिए । तर, सम्झौताबमोजिम कम काम गरी बढी काम गरेको प्राविधिक मूल्यांकनसहितको नापी किताब र कार्य सम्पन्न प्रतिवेदन पेस गरी भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरेर ११ लाख १९ हजार ९४९ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरेको देखिएको अख्तियारको दाबी छ । कानुनविपरीत सात लाख ३५ हजार २८० रुपैयाँ भुक्तानी दिने पालिकाका लेखा प्रमुख सोनुकुमार सोनीलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ ।  

त्यस्तै, गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वेसहित योजना अनुगमन समितिको सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महतमान यादव र रमानन्द चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । वास्तविक भए–गरेको कार्यभन्दा बढी भएको भनी नभए–नगरेका कुरा देखाई भुक्तानीको प्रतिवेदन पेस गरेर झुटा बिल भर्पाईका आधारमा टिप्पणी र आदेश सदर गरेर भुक्तानी दिन लगाएको आरोप उनीहरूउपर छ । 

उपभोक्ता समितिको अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । सोलार बत्ती जडान गर्ने योजनामा अख्तियारले नौजनालाई प्रतिवादी बनाएको छ । सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सबइन्जिनियर जागेश्वर मण्डलले आव ०७४/७५ मा वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान कार्यका लागि भएको योजनाको सम्झौताबमोजिम कार्य नभएको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्यांकनसहितको नापी किताब तयार गरी/गराई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी वास्तविक भएको कामको भन्दा बढी ६ लाख ४५ हजार ६६५ रुपैयाँ दिन लगाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

तत्कालीन गाउँपालिकाका उपाध्यक्ष एवं योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे तथा सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादवलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ । योजनाको अनुगमन प्रतिवेदन पेस गर्दा बदनियतपूर्वक वास्तविक भए–गरेभन्दा बढी कार्य भएको भनी प्रतिवेदन पेस गरी भुक्तानीका लागि सिफारिससमेत गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष रवेन्द्रकुमार यादव, सचिव धीरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ । योजनाको सम्झौता गरी निर्माण कार्य सम्पन्न भएको भनी सर्त एवं सम्झौताविपरीत भए–गरेको कार्यभन्दा बढी कार्य गरेको नापी किताब, कार्यसम्पन्न प्रतिवेदन, बिल भर्पाई, डोर हाजिरीलगायत कागजात तयार गरेर बढी भुक्तानी लिने कार्यमा संलग्न देखिएको आधारमा अख्तियारले उनीहरूलाई प्रतिवादी कायम गरेको हो ।