१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार १८:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले पुल बगाएपछि ताप्लेजुङमा पुनः तुइन सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १८:५२:oo

तुइनमुक्त ताप्लेजुङ जिल्लामा पुनः तुइन सञ्चालनमा ल्याइएको छ। फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको सेखाथुमस्थित घुन्सा खोलामा बाढीले झोलुङे पुल बगाएपछि पुनः तुइन सञ्चालनमा ल्याइएको हो।

पर्यटनको सिजन सुरु हुनै लाग्दा कञ्चनजंघा पदमार्गमा पर्ने घुन्सा खोलाको झोलुङे पुल बगाएपछि सोही ठाउँमा अहिले तुइन सञ्चालनमा ल्याइएको छ। फक्ताङ्लुङ गाउँपालिकासँग समन्वय गरेर स्थानीयले पुलको लट्ठा प्रयोग गरेर तुइन सञ्चालनमा ल्याएका हुन्। गत साउन २० गते वर्षासँगै माथिबाट झरेको पहिरोले झोलुङे पुललाई पूर्ण रूपमा क्षति गरेको थियो।

पुनः झोलुङे पुल बनाउन आवश्यक कागजी प्रक्रिया सकिएको गाउँपालिका उपाध्यक्ष रविन साम्राले बताए। उनले अहिले खोलामा बढी आइरहेकाले काम गर्न नसकेकाले काम सुरु नभएको जानकारी दिए। पुल नबनुन्जेल पानीको बहाव घटेपछि भुइँपुल बनाएर पदमार्गीलाई सहज गराउने उनको भनाइ छ।

पर्यटनको मौसम सुरु हुन लाग्दा पहिरोले पुलमा क्षति गरेर पदमार्ग अवरुद्ध भएपछि कञ्चनजंघा आधार शिविर क्षेत्रका बासिन्दा चिन्तित छन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका साथै भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटक यही पदमार्ग हुँदै आवतजावत गर्छन्।

यता तुइन सञ्चालन गर्न सुरु गरिएपछि प्राविधिक टोलीका साथ गाउँपालिका अध्यक्ष राजन लिम्बूले स्थलगत निरीक्षण गरेका छन्। अध्यक्ष लिम्बूले आफैँ तुइन चढेर परीक्षणसमेत गरेका थिए। डोरी तान्नुपर्ने र यात्रु चढाउन तथा ओराल्नका लागि खोलाको दुवैतर्फ जनशक्ति हुनुपर्ने भएकाले तुइन सञ्चालन गरेका स्थानीयले तुइन चढ्नेलाई प्रतिव्यक्ति एक सयदेखि तौलअनुसार तीन सयसम्म शुल्क निर्धारण गरेको बताइएको छ।