१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
मजदुरहरूले पारिश्रमिक नपाएपछि बिबिआर जेभीको कार्यालयमा प्रदर्शन गर्दै
२o८१ भदौ २१ शुक्रबार १o:१९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बिबिआर जेभीले दिएन गौतम बुद्ध रंगशालामा खटिएका मजदुरको पारिश्रमिक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १o:१९:oo

११ दिनदेखि पारिश्रमिक नपाएको भन्दै मजदुरहरू आन्दोलित सम्झौताअनुसार मजदुरहरूले काम नगरेको निर्माण कम्पनीको भनाइ 

सरकारको राष्ट्रिय गौरवको योजनामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पुनर्निर्माणमा खटिएका मजदुरले ११ दिनदेखिको पारिश्रमिक नपाएको भन्दै आन्दोलन गरेका छन् । पारिश्रमिक नपाएका केही कामदार काममा जान छाडेका छन् । ललितपुरको हिमालयन कालिञ्चोक बिबिआर जेभी कम्पनीले पारिश्रमिक नदिएको भन्दै बिहीबार आक्रोशित मजदुरले रंगशालाबाहिर नाराबाजी गरेका छन् । 

ती मजदुरले तीन लाख २० हजार रुपैयाँ पारिश्रमिक कम्पनीले नदिएको दाबी गरेका छन् । नियमित पारिश्रमिक नपाएको भन्दै ६० मजदुरले काम छाडेको मजदुर छत्रबहादुर लोहनीले बताएका छन् । उनले पारिश्रमिक पाए पनि काममा नफर्किने बताएका छन् । ‘अब काम गर्न बोलाए पनि आउँदैनौँ । रुँदै जान हामी बाध्य भयौँ,’ समस्या बताउँदै उनले भने, ‘पछिल्लो दिनमा सुत्ने कोठामा समेत बिजुली काटिदिने गरेको छ ।’ 

आन्दोलित मजदुरमध्ये ४६ जना सिन्धुली, काठमाडौं, बारा र सिन्धुपाल्चोकलगायत जिल्लाका छन् । मजदुरहरूको ठेकेदार शंखर थापलो आफूले ४८ रुपैयाँ प्रतिस्क्वायरमा सम्झौता गरेर कर्मचारी ल्याएको जानकारी दिए । उनका अनुसार ठेकेदार कम्पनीले पछिल्लो समय प्रतिस्क्वायरमा २८ रुपैयाँ पनि दिएको छैन । ‘नियमित रूपमा घटेको पारिश्रमिक पनि पाएनौँ,’ उनले भने । 

बिबिआर जेभीका प्रतिनिधि दीपक श्रेष्ठले मजदुरहरूले रंगशालामा सम्झौताअनुसार राम्रोसँग काम नगरेकाले बाध्य भएर उनीहरूलाई हटाएको बताए । ‘हामीहरूसँग भएको सम्झौताअनुसार रंगशालामा खटिएका कामदारले राम्रोसँग काम गरेका छैनन्, यसकारण कम्पनीले उनीहरूलाई हटाएको हो,’ श्रेष्ठले भने, ‘आफूहरूमाथि लगाएको आरोप झुटो हो ।’ 

श्रेष्ठले राम्रो काम गर्ने मान्छे राख्ने र नराम्रो काम गर्नेलाई नराखिने बताए । ‘जसले राम्रो काम गर्छ, उसले काम पाउँछ, नराम्रो गर्नेलाई काममा लगाउने कुरा भएन,’ श्रेष्ठको भनाइ छ, ‘हामीले पैसा हिसाब गरेर निकालेका छौँ ।’ भरतपुर महानगरपालिका उप-निर्देशक जगन्नाथ अर्यालले रंगशालामा कम्पनी र मजदुरबिचको घटनाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन् । रंगशालाको पहिलो चरणको काम १० प्रतिशत सकिएको छ । जेभी प्रालिले दैनिक ४१५ जना मजदुर लगाएर रंगशालाको निर्माण कार्य गरिरहेको छ । 

१० हजार क्षमताको पारापिट
धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गरेको वेला पारापिटको क्षमता १५ हजार दर्शकको थियो । अहिले यसलाई परिमार्जन गरी पहिलो चरणमा बन्ने रंगशालाको पारापिट क्षमता १० हजारको  हुने छ । भरतपुर महानगरले बनाएको डिपिआरअनुसारको सम्झौतामा ग्राउन्डको सबै काम अघि बढ्ने छ । रंगशालामा मैदानसहित पाँचवटा पिच, मैदानमा ड्रेनएजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण काम भइरहेका छन् । ‘जसअनुसार मुख्य गेट र वाल लगाउने डिपिआरमा काम भइरहेको छ ।