१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २१ शुक्रबार १o:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

डिफेन्समा उत्कृष्ट कबड्डीकी मानमती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १o:१४:oo

गत वर्ष चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपाली महिला कबड्डीले ऐतिहासिक कांस्य पदक जितेको थियो । एसियाडको अन्तिम दिन कराँतेकी एरिका गुरुङले रजत जित्नुअघिसम्म कबड्डीले नेपाललाई पदकविहीनबाट जोगाएको थियो । यद्यपि, हाङझाउमा नेपाली खेलकुदमा कबड्डीले हात पारेको अहिलेसम्मकै ठूलो सफलता हो । यस सफलतामा मानमती विष्ट एक प्रमुख खेलाडीकी रूपमा रहिन् । हाङझाउमा उनले रेड र डिफेन्समा आफूलाई उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । 

नेपाली कबड्डीको इतिहास लामो छ । कुनै समय यो नेपालको राष्ट्रिय खेल थियो । यस खेललाई नेपाली माटो सुहाउँदो खेल पनि भनिन्थ्यो । एसियाडमा यसै खेलले इतिहासकै ठूलो पदक प्राप्त गर्‍यो । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपुल्स च्वाइसमा कबड्डीकी यिनै मानमती मनोनयनमा परेकी छिन् । 

यस विधामा सम्भवतः पहिलोपटक कबड्डीकी खेलाडी परेका हुन् । मनोनयनमा पर्ने पाँचमध्ये एक खेलाडी चुनिँदा निकै हर्षित भएको उनले बताइन् । ‘जति वेला मैले आफू यस अवार्डको मनोनयनमा परेको सुनेँ, सुरुमा आश्चर्यमा पनि परेकी थिएँ,’ उनले भनिन्, ‘यसले नेपाली कबड्डीबारे अलिकति हुने भयो, यो खेललाई मन पराउने बढ्नेछन्, मैले चाहेको पनि यही हो ।’

कबड्डीअघि एथलेटिक्स खेलाडी
कबड्डीलाई करिअरकै रूपमा अगाडि बढाउनुअघि मानमती एथलेटिक्स खेलाडी थिइन् । उनले भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुदमा सहभागितामा जनाइन् । उनले राष्ट्रिय खेलकुदमै आठ समय मिटर दौडमा स्वर्ण पनि जितेकी छिन् । त्यसपछि उनी कबड्डीमा व्यस्त भइन् । उनले १३औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक हात पारिन् । कञ्चनपुर भीमदत्त नगरपालिकामा हुर्केकी मानमतीले १३औँ सागमा श्रीलंकाविरुद्ध अन्त्यतिर निर्णायक अंक जोडेकी थिइन् । 

उनको यसै अंकमा नेपालले कबड्डीमा रजत जित्यो । मानमतीले कबड्डी पहिलो प्रेमका रूपमा लिने गर्छिन् । यसै खेलले आफूलाई खेल क्षेत्रमा चिनाएको उनको भनाइ छ । ‘कबड्डी मेरो पहिलो प्रेम हो । अहिले म जहाँ छु त्यो सबै कबड्डीकै कारणले हो,’ उनले भनिन्, ‘यो खेल नै मेरो लागि सबथोक हो । त्यसैले म त्यति वेला साह्रै खुसी हुनेछु र नेपालमा यो खेल अझ विकास हुर्नुपर्छ ।’ उनी पुलिसमा आबद्ध छिन् ।