१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ २१ शुक्रबार १o:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँचथर विस्फोटमा घाइते बालकको उपचारमा सरकार उदासीन

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १o:oo:oo

पाँचथरको फालेलुङ गाउँपालिका– ५ डाँडागाउँमा १३ भदौमा भएको विस्फोटमा घाइते भएका दुई बालकको उपचारमा सरकारले बेवास्ता गरेको छ । स्थानीय आइतराज केरुङको घरमा लुकाएर राखेको विस्फोटक सामग्री खेलाउने क्रममा १३ वर्षीय पवन राई र ११ वर्षीय दिप्सन राई घाइते भएका थिए । 

विस्फोटमा दुई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीया दिप्सन साँवाको ज्यान गएको थियो । मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा संघ र प्रदेश सरकारले बेवास्ता गरेको पीडित परिवारको दुःखेसो छ । पीडित परिवारलाई क्षतिपूर्ति दिन र घाइते बालकहरूको थप उपचारमा पाँचथरका सांसद इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सभामा आवाज उठाइसकेका छन् । यसबाहेक स्थानीय नेता–कार्यकर्ताले पनि संघ र प्रदेश सरकारलाई क्षतिपूर्ति र थप उपचारका लागि हारगुहार गरिरहेका छन् । तर, घटना भएको दुई साता बित्न लाग्दा पनि संघ र प्रदेश सरकारले चासो देखाएका छैनन् । 

संघ र प्रदेश सरकारले चासो नदिएपछि पाँचथरवासीले गम्भीर घाइते बालकहरूको उपचारका लागि सहयोग अपिल गरेका छन् । घाइते दुई बालकको काठमाडौंमा थप उपचार भइरहकाले देश–विदेशका मनकारीलाई सहयोग गरिदिन समाजिक सञ्जालमार्फत अपिल गरेका छन् । माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले सरकारबाट उपचारमा सहयोग नभएकाले सहयोग संकलन अभियान थालेको बताए । उनले फेसबुकमा लेखेका छन्, ‘हारगुहार गर्दा पनि सरकार चुँसम्म बोल्दैन, यसले घाइते बालकहरूको उपचारमा मनकारीहरूले सकेको सहयोग गरौँ ।’ सहयोग अभियानकी कोषाध्यक्ष बुद्धमाया केरुङले सरकारबाट उपचारमा सहयोग नभएपछि स्थानीयले नै सहयोग समिति निर्माण गरेको बताइन् । केरुङले भनिन्, ‘उपचारमा समस्या पर्छ भनेर सहयोग अभियान थालेका हौँ ।’

कोशी प्रदेश र संघको सरकारले बालबालिकाको मृत्यु र घाइते भएको घटना माओवादी कार्यकर्ताको घरमा भएकाले क्षतिपूर्ति र उपचारमा बेवास्ता गरेको अभिभावक र स्थानीयको गुनासो छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि घाइते बालकहरू पवन राई र दिप्सन राईको धरानको बिपी प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि बुधबार थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । 

अभिभावकले थप उपचारका लागि धरान र विराटनगर ल्याएको भए पनि खर्च नभएकै कारण घाइते छोराछोरीलाई फर्काएर फिदिम नै लगेका थिए । गम्भीर अवस्थाका दिप्सनलाई पाँचथर जिल्ला अस्पतालमा र पवनलाई डेरामा राखिएको थियो । मंगलबार अनुगमनका लागि पुगेको अधिकारकर्मीको टोलीले थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लैजान पहल गरेका थिए । 

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले घटनाबारे सरकार जानकार रहेको, तर सिडिओ कार्यालयबाट विवरणसहित सिफारिस नआएकाले उपचार र क्षतिपूर्तिका लागि सहयोग नभएको बताए । पाँचथरका सिडिओ विष्णुप्रसाद कोइरालाले घटनाका घाइते बालबालिकाको उपचार र मृत्यु भएकाहरूको हकमा नियमअनुसारको क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार दुवैलाई सिफारिस गरिसकेको बताए । सिडिओ कोइरालाले भने, ‘हामीले नियमअनुसार हुने गरी भनेर सिफारिस गरिसकेका छौँ र घाइतेहरूको उपचार अहिलेसम्म सिविनमार्फत व्यवस्थित रूपले भइरहेको छ ।’ 

१३ भदौ अपराह्न ३ बजे ज्ञानबहादुर राईका छोरा १३ वर्षीय पवन राई, दिलीप राईका छोरा सात वर्षीय दिप्सन राई, दिलीप साँवाका छोरा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवा विस्फोटक सामग्री खेलाउने क्रममा ‘होममेड सकेट बम’ विस्फोट भएको थियो । विस्फोटमा परी सँगै खेलेका चारैजना घाइते भएका थिए ।घाइते बालबालिकालाई तत्काल प्रहरी चौकी प्राङबुङबाट खटिएको टोलीले उद्धार गरी उपचारार्थ स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा लगेको थियो ।