१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Sunday, 15 September, 2024
विन्डहुक
२o८१ भदौ २० बिहीबार o९:१८:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नामिबियाले भोकमरीसँग जुध्न मार्दै छ सात सय वन्यजन्तु

Read Time : > 1 मिनेट
विन्डहुक
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार o९:१८:oo

नामिबियाको सरकारले हात्ती, जेब्रा र हिप्पोसहितका सात सयभन्दा बढी जंगली जनावर मारेर तिनको मासु भोकमरीको जोखिममा रहेका मानिसलाई वितरण गर्ने घोषणा गरेको छ । देशले सय वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको अवस्थामा आफूहरू गम्भीर कदम चाल्न बाध्य भएको सरकारले स्पष्टीकरण दिएको छ । वातावरण, वन तथा पर्यटन मन्त्रालयले गत सोमबार एक विज्ञप्ति जारी गर्दै मारिने जनवारको सूची र संख्यासमेत सार्वजनिक गरेको थियो, तिनमा ८३ वटा हात्ती, ३० वटा हिप्पो, ६० वटा भैंसी, ५० वटा हरिण, सयवटा निलो विल्डिबिस्ट र ३०० वटा जेब्रा उल्लेख छन् । 

मारिने जीवहरू मिहिन रूपमा अध्ययन गरेर राष्ट्रिय निकुञ्ज तथा साम्प्रदायिक क्षेत्रबाट छनोट गरिने र तिनको सिकारका लागि व्यावसायिक सिकारी प्रयोग गरिने मन्त्रालयले जनाएको छ । यस कार्यक्रमको उद्देश्य देशमा खडेरीको प्रभाव न्यूनीकरण गर्न मद्दत गर्नु रहेको मन्त्रालयले बताएको छ । खडेरीको प्रभाव बढ्दै गएपछि नामिबिया सरकारले तीन महिनाअघि आपत्काल घोषणा गरेको थियो । खडेरीबाट अहिले यस देशको झन्डै आधा जनसंख्या अर्थात् करिब १४ लाख मानिसले उच्चस्तरको खाद्य असुरक्षाको सामना गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत ‘उपलब्ध चरन र पानीभन्दा बढी रहेका’ वन्यजन्तुहरू मारिने र त्यसले जलस्रोतमाथिको दबाब पनि कम गर्ने मन्त्रालयको दाबी छ । साथै, यसले खडेरीको समयमा बढ्ने हात्ती र मानवबिचको द्वन्द्वको सम्भावनालाई घटाउने सरकारले बताएको छ । ‘यसै उद्देश्यका साथ उच्च खाद्य असुरक्षा देखिन सक्ने भनेर पहिचान गरिएका क्षेत्रबाट ८३ वटा हात्ती मारिनेछ र तिनको मासु खडेरी राहत कार्यक्रमका लागि छुट्याइनेछ,’ मन्त्रालयको प्रेस विज्ञप्तिमा भनेको छ । 

अफ्रिकाको दक्षिणी भेग हात्तीका लागि प्रख्यात छ, जहाँ दुई लाखभन्दा बढी हात्ती पाइन्छ । खडेरीले हात्तीहरूमा पनि नकारात्मक असर पर्न थालिसकेको छ । गत वर्ष पानीको स्रोत सुकेकै कारण यस भेगमा सयौँ हात्ती मरेको विश्वास गरिन्छ । करिब १५० भन्दा बढी जनावर मारिइसकेका छन् । त्यसबाट करिब ६० हजार किलो मासु प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ । ‘एल निनो’का कारण वर्षा घट्दा नामिबियालगायत दक्षिणी अफ्रिकाका धेरै देश अहिले विनाशकारी खडेरीसँग जुधिरहेका छन् ।