Skip This
‘सभापति देउवाले समकालीन अर्को साथीलाई प्रधानमन्त्री बनाएर त्याग गर्ने वेला आयो’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार १७:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सभापति देउवाले समकालीन अर्को साथीलाई प्रधानमन्त्री बनाएर त्याग गर्ने वेला आयो’

सहकारी प्रकरणमा मुछिएका उपसभापतिमाथि छानबिनको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १७:११:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका सभापति शेरबहादुर देउवाले मुलुक र पार्टीका लागि अहिलेसम्म गरेका योगदानभन्दा फरक ढंगबाट त्याग गर्नुपर्ने बताएका छन्।

सभापति देउवाले आफ्नै पुस्ताका कुनै एक सक्षम नेतालाई प्रधानमन्त्री बन्ने अवसर दिएर त्याग गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ। कांग्रेसको केन्द्रीय स्थानीय समन्वय विभागको आयोजनामा आइतबार हेटौँडामा भएको अन्तरसंवाद कार्यक्रममा शर्माले यस्तो धारणा राखेका हुन्।

‘हाम्रो सभापतिको नेतृत्वमा धेरै काम भएका छन्। उहाँले देश र पार्टीका लागि धेरै योगदान गर्नुभएको छ। अब उहाँले त्याग गर्ने वेला आएको छ। त्यो भनेको आगामी दिनमा आफू प्रधानमन्त्री नबनेर पार्टीका आफ्नै समकालीन कसैलाई प्रधानमन्त्री बनाउने हो,’ उनले भने, ‘सभापतिज्यूलाई अनुरोध छ, केपी शर्मा ओलीपछि आफ्नो समकालीन कुनै साथीलाई प्रधानमन्त्री बनाउनुहोस्।’

महामन्त्री शर्माले २०८४ पछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा आफूहरूले जिम्मेवारी लिने बताए। उनले पार्टीका अर्का महामन्त्री गगन थापातर्फ संकेत गर्दै २०८४ पछि प्रधानमन्त्री बन्ने मानिस मुलुकले चिनिसकेको दाबी गरे। त्यसका लागि आफू पनि त्याग गर्न तयार रहेको उनको भनाइ थियो।

नेपालमा सरकार चलाउनभन्दा पनि ढलाउनका लागि बन्ने गरेको भन्दै उनले अब संविधानमै पाँच वर्षसम्मै सरकार चलाउन पाउने व्यवस्था उल्लेख गर्न आवश्यक भएको औँल्याए। उनले कांग्रेसभित्रैबाट नेपालमा एकपटक राष्ट्रपति र दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्थाका निम्ति छलफल चलाइरहेको जानकारी दिए।

फरक प्रसंगमा महामन्त्री शर्माले सहकारीको रकम अपलचनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङमाथि गहिरो छानबिन हुनुपर्ने माग गरे। उनले सार्वजनिक पदमा बसेका व्यक्ति जो कोही भए पनि आरोप लागेपछि छानबिनबाट भाग्ने छुट नभएको प्रस्ट्याए।

‘सहकारीको रकम अपचलन गरेको आरोप लागेका पार्टीका उपसभापतिमाथि गहिरोसँग छानबिन होस् भन्ने हाम्रो चाहना छ। स्वयं उपसभापति गुरुङ आफैँले पनि संसदमै आफूमाथि छानबिनका लागि आग्रह गर्नुभएको छ,’ उनले भने, 'गलत गरेको छैन भने नखाएको विष लाग्दैन। गलत गरेको छ भने कसैले पनि उम्किन पाउनुहुँदैन।’

महामन्त्री शर्माले स्थानीय तहबाट निर्वाचित कांग्रेसका जनप्रतिनिधिबाट नागरिकले ठुलो अपेक्षा नगरेको उल्लेख गर्दै स–साना सुधारमा ध्यान दिन सके मात्रै पनि नागरिक खुसी हुने अवस्था रहेको बताए।