Skip This
स्वास्थ्यका कर्मचारी व्यवस्थापनको बाटो खुल्यो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार २२:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

स्वास्थ्यका कर्मचारी व्यवस्थापनको बाटो खुल्यो 

स्वास्थ्यमन्त्री प्रदिप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार २२:३६:oo

संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको व्यवस्थापनमा देखिएको समस्या समाधान हुने भएको छ । कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै स्वास्थ्यकर्मीको सहज व्यवस्थापन हुने भएको हो । 

मन्त्रालयले कर्मचारी समायोजन ऐन ०७५ को दफा २८ अनुसार स्वास्थ्यकर्मी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ८ बुँदे प्रस्ताव तयार पारेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषदले पारित गर्दै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । समायोजनका क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी भएका स्वास्थ्यकर्मीहरूलाई चालु आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको छ । 

मन्त्रिपरिषदले स्वीकृति दिएसँगै स्वास्थ्य मन्त्रालयले सोहीअनुसार पत्र जारी गर्ने मन्त्रालयले जनाएको छ । यो निर्णयले स्वास्थ्य सेवा क्षेत्र सुधारका साथै स्वास्थ्यकर्मीहरूको व्यवस्थापनमा थप स्पष्टता ल्याउने मन्त्रालयले जनाएको हो । 

यस्ता छन् आठ बुँदे प्रस्ताव
१) कर्मचारी समायोजन ऐन, ०७५ बमोजिम समायोजन हुँदा फाजिलमा रहेका, दरबन्दी नै नभएको स्थानीय तहमा समायोजन भएका र दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीको सम्बन्धमा कर्मचारी समायोजन ऐन, ०७५ बमोजिम सम्बन्धित प्रदेश वा स्थानीय तहको सहमति र त्यस्ता कर्मचारीको माग बमोजिम प्रदेश वा स्थानीय तहमा एक पटकका लागि चालु आर्थिक वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत रिक्त दरबन्दीमा समायोजन गर्ने ।

२) कर्मचारी समायोजनको क्रममा प्रदेश र स्थानीय तहमा समायोजन भएका तर उक्त समयमा पत्र जारी हुन बाँकीको हकमा समायोजन पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गर्ने । 

३) कर्मचारी समायोजन ऐन, ०७५ बमोजिम संघ पुलमा समायोजन भएका चिकित्सक र मेडिकल बोर्डको सिफारिसमा संघ पुलमा समायोजन भएका स्वास्थ्यकर्मीको प्राथमिकतासमेतलाई हेरी चालु आर्थिक वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ÷प्रदेश÷स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्ने ।

४) संघ, प्रदेश र स्थानीय तहमा समायोजन भई कार्यरत स्वास्थ्यकर्मीलाई प्रदेश वा स्थानीय तहको दोहोरो सहमतिका आधारमा मागबमोजिम दरबन्दी तथा तलब सुनिश्चित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायबमोजिम कामकाजमा खटाउने ।
क. संघबाट प्रदेश तथा स्थानीय तहमा
ख. एक प्रदेशबाट अर्को प्रदेशमा
ग. एक स्थानीय तहबाट अर्को स्थानीय तहमा

५) साबिकमा मेडिकल अधिकृत पदमा स्थानीय तहमा समायोजन भई हाल विशेषज्ञता (एमडी÷एमएस) हासिल गरेका चिकित्सकलाई निज कार्यरत रहेको स्थानीय तह तथा सम्बन्धित प्रदेशको सहमतिका आधारमा आवश्यकताअनुसार निजको योग्यता र विशेषज्ञताको उपयोग हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई प्रदेश वा अन्तर्गत काम काजमा खटाउने ।

६) स्थानीय तह र प्रदेशमा स्वीकृत दरबन्दीभन्दा बढी कामकाजमा खटिएका स्वास्थ्यकर्मीलाई स्वीकृत दरबन्दीभन्दा बढी नहुने गरी अन्तरस्थानीय तह समन्वय गरी प्रदेशभित्रको स्थानीय तहमा सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आ.व. भित्र दरबन्दी मिलान गर्ने ।

७) कर्मचारी सरुवा तथा व्यवस्थापनसम्बन्धी कानुन नबनेको प्रदेशको हकमा प्रदेशमा समायोजन भएका स्वास्थ्यकर्मीको सम्बन्धित प्रदेशभित्रका कार्यालय र स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीको प्रदेशभित्रको स्थानीय तहको दोहोरो सहमतिका आधारमा दरबन्दी तथा तलबको सुनिश्चत गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देहायबमोजिम कामकाजमा खटाउने ।
क. प्रदेश तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई प्रदेशस्तरीय कार्यालयहरूमा ।
ख. स्थानीय तहमा समायोजन भएका स्वास्थ्यकर्मीलाई प्रदेशभित्रको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा ।

८) उल्लेखित प्रक्रियाबाट व्यवस्थापन गरिएका कर्मचारीको अद्यावधिक विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राख्ने ।