१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ भदौ १८ मंगलबार १७:o४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बेलौरी छोटी भन्सारलाई नाकाकै रूपमा विकास गर्न पहल गरिदिन गृहमन्त्रीलाई ज्ञापन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १७:o४:oo

कञ्चनपुरको बेलौरी नगरपालिकाले गृहमन्त्री रमेश लेखकलाई सातबुँदे ज्ञापनपत्र बुझाएको छ। मंगलबार गृहनगर आइपुगेका गृहमन्त्री लेखकलाई बेलौरी नगरपालिकाले कार्यकक्षमा स्वागत गर्दै ज्ञापनपत्र बुझाएको हो।

मेयर पोतीलाल चौधरीले जिल्लाकै पहिलो सदरमुकाम बेलौरीको दिगो विकास र समृद्धिसँग जोडिएका विषयमा संघीय सरकारले गम्भीर चासो दिनुपर्नेतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको बताए।

मेयर चौधरीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी भएर बेदकोट हुँदै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक ८ वर्ष बितिसक्दा पनि अहिलेसम्म निर्माण हुन नसकेको अवस्थामा यथाशीघ्र निर्माणका लागि संघीय सरकारले निर्माण कम्पनीलाई निर्देशन दिनुपर्ने र बेलौरी छोटी भन्सारलाई नाकाकै रूपमा विकास गर्न माग अघि सारिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीको कार्यालय स्तरवृद्धि गरेर डिएसपीको दरबन्दी सिर्जना गर्नुपर्ने, पचुई क्षेत्रमा हुलाकी सडक निर्माणमा भारतीय अवरोध हटाउनुपर्ने, बेलौरीका सीमावर्ती क्षेत्रमा नेपाली किसानसँग जग्गाधनी प्रमाण-पत्र भए पनि खनजोत उपभोगमा भारतीय अवरोध हुने भएकाले सो हटाउनुपर्ने, सीमा सुरक्षादेखि अपराध नियन्त्रणका लागि पहल गरिनुपर्ने, बेलौरी–कलुवापुर सडकखण्डमा निर्माणाधीन सडक शुक्लाफाँटा निकुञ्जको अवरोध हटाउनुपर्ने, छोटी भन्सारदेखि बेलौरी बजार हुँदै मैनाहसम्मको सडक स्तरोन्नतिका लागि पहल गरिदिन माग गरिएको छ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री लेखकले बेलौरी नगरपालिकाले अघि सारेका मागका विषयमा सम्बन्धित मन्त्रालयमार्फत अघि बढ्ने प्रतिबद्धता जाहेर गरे।