Skip This
प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ ३० आइतबार १७:२७:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १७:२७:oo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाएका छन्। आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले स्थापना गरेको प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गर्ने बताएका हुन्।

मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय मात्र नभएर कोशी प्रदेश सरकारको गौरव पनि भएको भन्दै अस्पताल हस्तान्तरण गर्न चासो दिने बताए। प्रदेशको ठुलो कोशी अस्पताल संघले आफैँमातहत राखेकाले अस्पताल हस्तान्तरण गर्न ढिलाइ भएको उनले प्रस्ट्याए।

विश्वविद्यालयका कुलपतिसमेत रहेका कार्कीले भने, ‘अर्को सभामा आउँदा विश्वविद्यालयले अस्पताल प्राप्त गरेर शैक्षिक कार्यक्रम सुरु गरिसकेको हुनेछ। सरकारले सकभर भएकै मध्येबाट, नभए नयाँ स्थापना गरेर भए पनि अस्पताल हस्तान्तरण गर्नेछ।’

मुख्यमन्त्री कार्कीले चार वर्षअघि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको प्रगति छोटो समयमा पनि सन्तुष्टि गर्नलायक रहेको भन्दै अझै प्रगति वृद्धि गराउन आफूहरू लागिपर्ने बताए। उनले चार वर्षसम्म विश्वविद्यालय आफ्नै आन्तरिक संरचना, ऐन कानुन र पाठयक्रमहरू निर्माणमा धेरै समय खर्च गर्नुपर्दा एकैचोटी तीनवटै स्कुलका सबै शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन नसके पनि अब भने विश्वविद्यालयले गति लिने बताए।

उनले प्रदेश सरकार पनि नयाँ भएकाले विश्वविद्यालयको प्रगतीमा दिनुपर्ने जति चासो दिन नसकेको भन्दै अब बजेटमा पनि सकेसम्म कमी हुन नदिने प्रतिबद्धता जनाए। मुख्यमन्त्री कार्कीले सचिवहरूलाई निर्देशन दिँदै भने, ‘प्राविधिक विश्वविद्यालयको गौरव प्रदेश सरकारसँग पनि जाेडिएकाले अब सकेसम्म बजेटमा कमी हुन दिनु हुँदैन। सचिवज्यूहरूले विशेष ख्याल गरिदिनुहोला।’

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आफ्नै अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाएकाले चाँडै अस्पताल हस्तान्तरण गराउन विश्वविद्यालयका कुलपति तथा मुख्यमन्त्री कार्कीलाई आग्रह गरे।

कोशी प्रदेश सरकारले आफ्नै ऐन बनाएर २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यायले आफ्नो अस्पताल नहुँदा अझै स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाएको छैन। मनमोहनले तीनवटा स्कुल स्थापना गरेर इन्जिनियरिङ, फार्मेसीमा स्नातक र अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तरको कक्षा सञ्चालन गरिसकेको छ। तर, आफ्नै शिक्षण अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका अन्य विभिन्न प्राविधिक विषयहरू सञ्चालन गर्न पाएको छैन।