१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १५:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारत भ्रमण सदभावना भ्रमण थियो, नेपालको हित र चासोका सबै विषयमा कुरा भयो : परराष्ट्रमन्त्री राणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १५:३१:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै गरेको भारतको औपचारिक भ्रमण सदभावना भ्रमण रहेको बताएकी छिन्। मंगलबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आफ्नाे धारणा राख्दै उनले भारत भ्रमण सदभावना भ्रमण रहेको, तर आफूले नेपालको हित र चासोका सबै विषय वार्ताका क्रममा राखेको बताएकी हुन्। 

मन्त्री डा. राणाले भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २ देखि ६ सम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन्। भ्रमणका क्रममा यही भदौ ३ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा शिष्टाचार भेट गरेको र सो भेटमा नेपाल र भारतबिच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्नेबारे छलफल भएको उनले बताइन्।

त्यस क्रममा आफूले प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेको र भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको जानकारी पनि मन्त्री डा. राणाले गराइन्। 

त्यसैगरी विदेशमन्त्री जयशंकर र आफ्नाबिचमा भएको द्विपक्षीय भेटघाट महत्त्वपूर्ण रहेको मन्त्री डा. राणाको भनाइ थियो। त्यस भेटका क्रममा नेपाल र भारतबिच व्यापार तथा पारवहनका क्षेत्रमा सहयोग बढाउने, ऊर्जाको क्षेत्रमा खासगरी नेपालबाट भारतमा निकासी हुने विद्युतको मात्रा बढाउँदै लैजाने, सीमापार कनेक्टिभिटी विस्तार गर्ने, नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने तथा नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने विषयमा कुराकानी भएको उनले बताइन्।

भेटमा बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने, खेलकुदका क्षेत्रमा खासगरी नेपालमा क्रिकेटको विकासका लागि खेलाडीहरूको क्षमता अभिवृद्धि तथा धनगढीको फाप्लामा क्रिकेट स्टेडियमको निर्माणका लागि कार्य गर्ने, सीमा पूर्वाधारको निर्माण तथा विस्तारमा सहकार्य गर्नेलगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको मन्त्री डा. राणाको भनाइ छ।

साथै सो भेटका क्रममा विद्यमान द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट विभिन्न विषयमा विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिनेबारेमा सहमति भएको पनि उनले जानकारी दिइन्। 

मन्त्री डा. राणाले यस भ्रमणले नेपाल र भारतबिच आपसी सदभाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबिच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक र बहुआयामिक सम्बन्धलाई थप मजबुत तुल्याउन योगदान गरेको दाबी गरिन्। एक प्रश्नको जवाफमा मन्त्री डा. राणाले इपिजीको प्रतिवेदनका विषयमा भ्रमणका क्रममा दुवैतर्फबाट कुरा नउठेको पनि प्रस्ट पारिन्।