१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार २२:२४:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार

रातारात पार्टी एकता हुँदैन, सहकार्य भने हुन्छ : नेपाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार २२:२४:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीसँग रातारात एकता नहुने स्पष्ट पारेका छन् । यद्यपि, समाजवादी मोर्चा र अन्य मोर्चाका दलहरूबिच सहकार्य हुँदै जाने उनको भनाइ छ । १०औँ महाधिवेशनपछि आइतबार राजधानीमा सुरु भएको केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले राजनीतिलाई सही दिशामा लिएर जान पहल भइरहेको बताएका हुन् ।

‘नेपालको राजनीतिलाई गलत दिशाबाट सही दिशामा लैजान हाम्रो प्रयत्न हो । भ्रष्टाचारमुक्त, विकास निर्माणका योजनालाई सही दिशा दिन, सही ढंगले योजना तर्जुमा गर्न, जनताको जीवनमा परिवर्तन र रूपान्तरण गर्न, सबैखाले विभेद, विकृति अन्त्य गर्न, युवाहरूलाई रोजगारी दिलाउन, शिक्षा, स्वास्थ्यदेखि अर्थतन्त्रका सबै क्षेत्रलाई चलायमान बनाउन र विदेश जान लाइन लागेका पंक्तिलाई रोक्न हाम्रो पहल हुनेछ,’ उनले भने, ‘यी सबै जिम्मेवारी पूरा गर्न एकता प्रक्रियामा जाने हो । तर, अहिले जाने हाम्रो कुनै पनि सम्भावना छैैन । जाने स्थिति नै छैन ।’

पदका आधारमा एकता हुन्छ भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । ‘हामी पदका निम्ति मरिहत्ते गर्ने मान्छे हौँ ? पदका आधारमा एकता गर्छौँ भन्ने भ्रम कसैले नपाले हुन्छ । कसैले प्रस्ताव राखेको पनि छैन । कसैले भनेका पनि छैनन् । हामी त्यत्तिकै गीत गाएर हिडिँरहेका छौँ,’ नेपालले भने, ‘नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने छैन ।’ 
सहकार्यका लागि केही दलहरू तयार भइसकेको र केही दलसँग कुराकानी भइरहेको नेपालले जानकारी दिए । ‘अवश्य विभिन्न पार्टीहरू एकताबद्ध हौँ भनिरहेका छन् । हामीले भनिराखेका छौँ– एकताबद्ध हुनुभन्दा पहिले पार्टीहरूबिच विचार मिल्नुपर्छ । सम्बन्ध राम्रो हुनुपर्छ । आपसी गुनासा के छ त्यो खोज्नुपर्छ । असन्तुष्टि पत्ता लगाउनुपर्छ । विचारमा पनि मेल हुन्छ । व्यवहारमा पनि राम्रो ढंगले अघि बढ्ने अवस्था बन्छ । कार्यकर्ताको व्यवस्थापन पनि हुने अवस्था बन्छ भने हामी एक्लै पसल थापेर बस्ने पक्षमा छैनौँ,’ उनले भने ।

टिआरसी विधेयकमा सहमति खोज्ने क्रममा एकीकृत समाजवादीलाई माइनस गरिएको उनले गुनासो गरे । सार्वजनिक बहसविना संविधान संशोधन हुन नसक्ने उनले ठोकुवा गरे । दुई दलीय व्यवस्था नेपालमा सम्भव नभएको उनले बताए । समग्र पक्षलाई नसोची संविधान संशोधन गर्न खोज्दा समस्या आउने उनले चेतावनी दिए । ‘नौ वर्षको समीक्षा गरौँ । पुराना संविधानका प्रावधानलाई पनि समीक्षा गरौँ । संसारका अरू देशका संविधानलाई पनि हेरौँ । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौँ । यस आधारमा कहाँ–कहाँ सुधारको आवश्यकता छ ? समग्र पक्षलाई नसोची संविधान संशोधन गर्दा समस्यामा परिन्छ,’ उनले भने ।

समाजवादी कार्यक्रममा बहस गरौँ
समाजवादी क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको समाजवाद’ तर्जुमा गर्ने पहिलो पार्टी एकीकृत समाजवादी भएको उनले दाबी गरे । यस कार्यक्रममा सहभागी हुन अन्य कम्युनिस्ट पार्टीलाई पनि आह्वान गर्ने उनले बताए । ‘नेपाली समाजको रूपान्तरण गर्नु छ भने नेपाली विशेषताको समाजवादमा के–के चिज हुनुपर्छ ? हामीले एउटा धारणा सार्वजनिक गरेका छौैँ । बहस गर्न पनि तयार छौँ । यसलाई अझै समुन्नत बनाउन तयार छौँ । तर, हामी गर्वका साथ भन्छौँ– एकीकृत समाजवादी नै नेपालको पहिलो कम्युनिस्ट पार्टी बनेको छ, जसले नेपाली विशेषताको समाजवादको धारणालाई अगाडि सारेको छ,’ उनले भने ।

नेपालले महाधिवेशनबाट तय गरिएका राजनीतिक कार्यदिशा, सिद्धान्त, नीति र कार्यक्रमलाई आमजनताबिच पु¥याउन सातैवटा प्रदेशमा सन्देश सभा गर्ने नेपालले बताए । पार्टीलाई सातवटै प्रदेश, ७७ वटै जिल्ला, ७५३ वटा पालिका र ६ हजार ७४३ वडामा पार्टी कमिटी गठन र विस्तारको ठोस योजना बनाउनुपर्ने उनले बताए । जनआधारित कार्यकर्ता पार्टी बनाउन ठोस योजना अघि सार्ने उनले बताए । वडादेखि संघीय संसद्सम्म जनप्रतिनिधिका रूपमा जनआवाज बुलन्द गर्नुपर्नेमा उनले जोड दिए ।

आगामी मंसिरमा हुने उपनिर्वाचनमा पार्टीको परीक्षण हुने उनले बताए । आगामी ०८४ को निर्वाचनलाई समेत ध्यान दिएर जित्ने ठाउँमा फरक रणनीति अपनाउनुपर्नेमा नेपालले जोड दिए । योजना बनाउँदै, जिम्मेवारी तोक्दै नयाँ शिराबाट अगाडि बढ्ने उनले बताए । ‘सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको नेतृत्वको मूल्यांकन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ,’ उनले भने ।

साम्राज्यवादी डराउन थाले : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादीहरू डराउन थालेको दाबी गरेका छन् । समाजवादी शक्तिहरू शक्तिशाली हुँदै गइरहेको उनले बताए । विद्रोह गरेर स्थापना गरेको तीन वर्ष सजिलो नरहेको उनले बताए । ‘उतारचढावका साथमा यो पार्टीलाई गठन गर्ने, विकास गर्ने तथा विस्तार गर्ने र पार्टीका वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रूपमा अघि बढाउन काममा हामी निरन्तर लाग्दै आयौँ,’ उनले भने । खनालले पार्टीबारे अनेक प्रकारका वैचारिक आक्रमण, प्रतिक्रियावादीका अनेक षड्यन्त्र भए पनि ती सबैलाई चिर्दै अगाडि बढेको उनले बताए । महासचिव घनश्याम भुसालले पार्टीको पाँच वर्षको क्रान्तिकारी यात्रा सुरु भएको बताए । कमजोरीलाई अन्त्य गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।