१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार २२:o६:oo
Read Time : < 1 मिनेट
समाचार

अस्पतालआसपास सुर्तीजन्य पदार्थ नबेच्नभन्दा नगर प्रहरीमाथि नै आइलागे : महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार २२:o६:oo

गंगालाल अस्पतालअगाडिबाट काठमाडौं महानगर नगर प्रहरी बलले सर्वसाधारण धरपकड गरेको घटनाबारे प्रस्टीकरण दिएको छ। अस्पतालको गेटमै सुर्तीजन्य पदार्थ बिक्री भएपछि अस्पताल प्रशासनले उनीहरूलाई हटाउन उजुरी दिएको थियो। सोही उजुरीका आधारका महानगर नगर प्रहरी आइतबार बिहानै उक्त क्षेत्रमा पुगेको थियो। थर्मसमा चियासँगै चुरोट, गुट्खा, पराग बेचिरहेकाहरूलाई नगर प्रहरीले सम्झाइबुझाई गर्न खोज्दा एक युवाले आक्रमण गरेको नगर प्रहरीको भनाइ छ। यसपछि नगर प्रहरीले उक्त युवालाई धरपकड गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा आलोचना र समर्थन गर्नेहरू दुई धारमा विभाजित भएका थिए।

भिडियोमा नगर प्रहरी बलको ६–७ जनाले एक व्यक्तिलाई प्रहरीको गाडीमा चढाउन खोज्छन्। अर्को एकजना नगर प्रहरीले चियासहितको दुई थर्मसलाई गाडीमा राख्छन्। यस घटनालाई कतिपयले महानगर र नगर प्रहरीलाई यो अधिकार नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। तर, नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भने अस्पतालअगाडि अखाद्य जस्तु बिक्री नगर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको र सम्झाउन जाँदा नगर प्रहरीमाथि नै हातपात गरेकाले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउन ल्याएको बताए।

‘अस्पताल प्रशासनबाटै अस्पतालअगाडि चियासँगै चुरोट, गुट्खा बिक्री भएकाले हटाइदिन उजुरी आएको थियो। हामीले उहाँहरूलाई पटक–पटक सम्झाउँदा पनि मान्नुभएको थिएन। आज पनि सम्झाउन खोज्दा अखाद्य वस्तु बेच्ने महिलाको छोराले नगर प्रहरीमाथि हातपात गरे। नगर प्रहरीका लुगा नै च्यातिदिए। त्यसैले उनलाई कारबाहीका लागि ल्याएका थियौँ,’ पाण्डेले भने, ‘हामीले उहाँलाई कन्ट्रोल रुम बागदरबार ल्याएर काउन्सिलिङ गर्‍यौँ। त्यसपछि माफी मागेर गए।’ उनले आजको घटनालाई ठुलो विषय बनाएको र महानगरलाई काम गर्न नदिएको गुनासोसमेत गरे।