१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार १५:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट अभावमा शीतभण्डार निर्माण अधुराे, किसानको उत्पादन खेर जाँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका सप्तरी
२o८१ भदौ ९ आइतबार १५:१७:oo

सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ। उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पदान गरेको तरकारी र फलफूल खेर जाने गरेको छ।

सप्तरीको राजविराज नगरपालिका– १५ देउरी भरुवामा ०७५ पुसमा शीतभण्डार निर्माण कार्य सुरु भएको थियो। तीन हजार मेट्रिक टन क्षमता भएको उक्त सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँदा जिल्लाका किसान मारमा परेका छन्। झन्डै रु २८ करोड लागतको शीतभण्डार निर्माण कार्य ०७८ सालदेखि रोकिएको छ।

बजेट अभावका कारण शीतभण्डार निर्माण कार्य बिचमै रोकिएको जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले बताए। शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा संघीय सरकारबाट रु. ६ करोड ३६ लाख उपलब्ध भएको उनले बताए। ‘संघीय सरकारले रु. १० करोड ७५ लाख उपलबध गराउन बाँकी नै छ, रकम अभावले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्न छाडेको छ,’ उनले भने ।

स्वीकृत कार्यक्रमअनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग थप बजेट उपलब्ध गराउन पटक–पटक माग गर्दै आएको प्रबन्धक गुप्ता बताउँछन्। सोअन्तर्गत नवलपरासी र सप्तरीमा एकसाथ सहकारी शीतभण्डार निर्माण थालिएको थियो। नवलपरासीमा भने यसअघि नै शीतभण्डार निर्माण भएर प्रयोगमा समेत आइसकेको उनको भनाइ छ। संघीय सरकारको ६० प्रतिशत अनुदान, संघ संस्थाहरूको २० प्रतिशत तथा स्थानीय र प्रदेश सरकारको २० प्रतिशत अनुदानमा डेढ कट्ठा जग्गामा उक्त शीतभण्डार निर्माण गर्न थालिएको हो।

शीतभण्डार अभावले केरा, आँप, आलु, प्याज, लसुनलगायत उत्पादन खेर जाने गरेको छ। किसानले जिल्लाबाहेक अन्य ठाउँमा लगेर आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छैनन्। ‘शीतभण्डार नहुँदा उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिक्री नहुँदा उत्पादन त्यसै खेर जाने गरेको किसानको गुनासो छ,’ प्रबन्धक गुप्ताले भने। बेमौसममा भने किसानले तरकारी र फलफूल महँगाेमा किनेर खान बाध्य भएका उनको भनाइ छ। 

स्थानीय किसानले उत्पादन गरेको फलफूल र तरकारी सहकारीमार्फत शीतभण्डारमा भण्डारण गर्ने योजनाका साथ सो शीतभण्डार निर्माण कार्य अघि बढाइएको प्रबन्धक गुप्ता बताउँछन्। ‘अहिले उत्पान खेर गइरहेको छ, सुरक्षित साथ राख्न सकिएको छैन,’ उनले भने, ‘शीतभण्डारको सुविधा भएको खण्डमा बिक्री गर्न नसकिएको तरकारी र फलफूल लामो समयसम्म राख्न सकिन्छ, किसानले अत्यधिक लाभ लिनसक्ने अवस्था बन्थ्यो।’

प्रबन्धक गुप्ताका अनुसार मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा उक्त सहकारी शीतभण्डार निर्माणका लागि रु. आठ करोड बजेट विनियोजन गरेको छ। तर, हालसम्म सो रकम भने प्राप्त हुन नसकेको उनको भनाइ छ। चाँडो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिँदै उनले जिल्लामा उत्पादित कृषि उपज भण्डार गर्न शीतभण्डार नभइनहुने बताए।
 
शीतभण्डार निर्माणको जिम्मा पाएको शर्मा आशिष ओम साइराम, सानोठिमीले बजेट अभावकै कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको जनाएको छ। ‘यसअघि काम गरेको रु. तीन करोड ५७ लाख प्राप्त गर्न बाँकी छ,’ निर्माण कम्पनीका प्रतिनिधि सञ्जयकुमार मिश्रले भने। आर्थिक वर्ष ०७७/७८ मा काम गरेको बिल पेस गरे पनि त्यसको सुनुवाइ नभएको उनले बताए। रासस