१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
२o८१ भदौ ९ आइतबार १३:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटन प्रवर्द्धन गर्न हामखोला झरनामा ‘वाटरफल महोत्सव’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार १३:५६:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल महोत्सव’ आयोजना गरिएको छ। शुक्रबार र शनिबार आयोजना गरिएको वाटरफल महोत्सवमा विशेष गरी आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो।

आयोजक हामखोला व्यवस्थापन समितिले हामखोला झरनाको प्रचारप्रसार गर्न आयोजना गरेको महोत्सवमा सांगीतिक प्रस्तुतिसमेत रहेको थियो।

सदरमुकाम बेँसीसहरबाट उत्तरतर्फ पर्ने मर्स्याङ्दी गाउँपालिकाको हामखोला झरनामा चौथोपटक वाटरफल फेस्टिभल आयोजना गरिएको हो। गर्मी मौसममा आयोजित महोत्सवमा छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी र डिजेको साथमा थुवायुवती निकै रमाएका थिए। महोत्सवमा गाउँपालिकाभित्रका आमा समूह, युवायुवती र विद्यार्थीहरूले छुट्टछुट्टै सांस्कृतिक प्रस्तुति दिएका थिए।

अन्नपूर्ण पदमार्गको छेवैमा पर्ने हामखोला झरनामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरीे महोत्सव आयोजना गरिएको हामखोला व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए। प्राकृतिक सुन्दरताले निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरू निर्माण गरिएका छन्।

मर्स्याङ्दी गाउँपालिकाभित्र आयोजना गरिएका यस्ता मेला महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए। यसअघि ०७६ साउन २५ गते पहिलोपटक हामखोला झरनामा महोत्सव भएको थियो।

यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरू निर्माण गरिएका छन्। गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा झरनासम्म जाने बाटो, रेलिङ, मैदानलगायत निर्माण गरिएको छ। यस्तै, झरनाबाट बगेको पानीमा पौडिन चाहनेका लागि पोखरीसमेत बनाइएको छ।